Powered by Blogger.
दोलखाका भूकम्पपीडितको गुनासो ‘खाता खोल्नै सास्ती भो’

दोलखा, २ चैत । भूकम्पपछि छाप्रोमा बसाइको कष्ट खेपिरहेकी ७५ वर्षीया चिनीमाया तामाङलाई अनुदान रकम लिनकै लागि बैंक खाता खोल्ने अर्को कष्ट उठाउनुपर्‍यो ।

शाखारहित बैंकिङ केन्द्रमा दोस्रो दिन मात्र खाता खोल्न पाइन् । त्यसपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट वितरण हुने अनुदान रकमका लागि अर्को पटयारलाग्दो लाइनमा बस्नु पर्‍यो । लादुक ४ की उनका पति फुलमान बिरामी भएकाले उनको साटो आएकी हुन् । ‘खाता खोल्न त यस्तो सकस, घर बनाउन पैसा लिन के सकिएला र,’ उनी भन्दै थिइन् ।

करिब डेढ दर्जन गाविसका बासिन्दाले व्यापारिक सुविधा लिने उक्त बजारमा भूकम्पपीडितहरू बैंकिङ सेवा केन्द्रमा लामबद्ध छन् । राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकका शाखारहित सेवा केन्द्रमा दैनिक ३० देखि ४० जनाको मात्र खाता खोल्न सकिन्छ । ‘दुई दिनपछि बल्ल खाता खोल्ने पालो आउलाजस्तो छ,’ इन्भेस्टमेन्ट बैंकको केन्द्रमा लाइनमा भेटिएका चिलंखाका रामबहादुर जीसीले भने ।

उनका अनुसार दुई दिन होटेलमा बस्दा करिब दुई हजार रुपैयाँ खर्च भयो । उक्त बैंककी कर्मचारी दुर्गा राउतले फारम भर्न समय लाग्ने भएकाले पीडितले बढी कुर्नु परेको बताइन् । प्राधिकरणले पीडितको औंठा छाप लिन बायो मेट्रिक पद्धति अवलम्बन गरेको छ । जसमा, पीडितले मेसिनले पढन सक्ने कार्डबाट ल्याप्चे जाँचेर मात्र भुक्तानी दिइने प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले बताए ।

सिंगटी आउन दुई बैंक मात्र इच्छुक देखिएकाले सहज सेवा प्रवाह गर्न नसकिएको उनको भनाइ छ । अरू बैंकसँग पनि कुरा गरेर छिट्टै सहज बनाइने उनले बताए । प्राधिकरणले पीडितसँग सम्झौता भएको एक साताभित्र रकम उपलब्ध गराउने नीति छ । तर, बैंकहरूले त्यसका लागि तयारी गरेको पाइँदैन ।
लामिडाँडा, बाबरे र बिगु गाविसका दुई हजार नौ सय ७० जना पीडितको खाता खोल्ने जिम्मा राष्ट्रिय वाणिज्य बैंकले पाएको छ ।

१० यता करिब ५ सयले मात्र खाता खोल्न पाएका छन् । बैंकका चरिकोट शाखा प्रमुख उमेश तिमिल्सिनाले छिटो खाता खोल्ने उपाय निकालिने बताए । आलम्पु, चिलंखा र लादुकका दुई हजार तीन सय ३८ जनाको खाता खोल्ने जिम्मेवारी इन्भेस्टमेन्ट बैंकले पाएको छ ।

प्राधिकरणको सूचना केन्द्र र सेवा केन्द्रले सिफारिस गरेपछि प्राप्त अनुदान सम्झौता पत्रका आधारमा जिविसले सम्बन्धित व्यक्तिको खातामा रकम जम्मा गर्ने नियम बनाइएको छ । राष्ट्रिय पुनर्निर्माण अभियान थालनी भएको दोस्रो दिनसम्म सिंगटी केन्द्रबाट ७८ जना भूकम्पपीडितले अनुदानपत्र बुझेका छन् ।

पहिलो चरणमा दोलखाको आइतबारदेखि लामिडाँडा ६ र लादुक ८ का भूकम्पपीडितलाई घर बनाउनका लागि २ लाख अनुदान दिने कार्य थालनी भएको थियो । आइतबार विवादका कारणले १ जनाले मात्र सम्झौता गरेकोमा दोस्रो दिन सोमबारसम्म ७८ जनाले रकम लिन राजी हुँदै सम्झौता गरेका छन् ।

सम्झौता गर्नेमा लामिडाँडाका ५० जना र लादुकका २८ जना छन् । उक्त कार्यमा खटिएका प्राधिकरणका अधिकृत लवराज जोशीले भूकम्पपीडितहरू नआएकाले थप अनुदानको सम्झौतापत्र वितरण गर्न असमर्थ रहेको बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्बन्धित जिल्ला विकास समितिमा निकासा गरेको रकमबाट अनुदानपत्र बुझ्ने पीडितले एक साताभित्र बैंक खातामार्फत भुक्तानी पाउने व्यवस्था छ ।

दोस्रो दिनसम्म पुनर्निर्माण प्राधिकरणले सिंगटीमा खोलेको सूचना केन्द्रमा २९ जनाको गुनासो दर्ता भएका छन् । केन्द्रीय तथ्यांक विभागले पुर्जी दिएको तर प्राधिकरणले पठाएको विवरणमा नाम नभएको भन्दै गुनासो दर्ता भएको लवराज जोशीले जानकारी दिए । लामिडाँडाको १२ जना र लादुकको १७ जनाले गुनासो दर्ता गरेका छन् । गुनासोबारे विभिन्न तहमा छानबिनपछि निर्णय गरिने व्यवस्था रहेको कान्तिपुर दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.