Powered by Blogger.
पाइलट पढ्न तीनै तहका सरकारले सहयोग नगरेपछि दोलखाका दिपेन्द्रले सुरु गरे एक रुपैयाँ संकलन अभियान



काठमाडौं ।  गरिबीका कारण पाइलट अध्ययनगर्न नपाएका दिपेन्द्र घिसिङ तामाङले अध्ययनका लागि एक रुपैयाँ संकलन अभियान सञ्चालन गरेका छन् । उनले आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी अभियान सुरु भएको जानकारी गराएका हुन् । 


दोलखा जिल्ला बैतेश्वर गाउँपालिका दिपेन्द्र अभिावक बिहीन विद्यार्थी हुन् । सानै उमेरदेखि पाइलट बन्ने सपनाले मेहनतका साथ पढेपनि प्लस टू पछिको अध्ययन पैसा अभावकै कारणले रोकिने अवस्था आएको उनले बताए । 


समस्या लिएर स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रमा पहल गरेपनि कहिँ कतैबाट सुनुवाइ हुन नसकेको उनले बताए । 


एमबिबिएस पढ्ने विद्यार्थीलाई स्थानीय तहदेखि संघीय सरकारसम्मको सहयोग पाउने व्यवस्था भएपनि पाइलट पढ्न चाहने विद्यार्थीलाई कसैले सहयोग गर्न नचाहेको उनको भनाइ छ ।


सरकारले सहयोग नगरेको खण्डमा एक रुपैयाँ अभियान सञ्चालन गरेर भएपनि पाइलट पढि छाड्ने उनले बताए । 


‘मेरो बाल्यकालदेखिको सपना भनेको पाइलट बन्ने थियो । मैले विभिन्न दलए माले, कांग्रेस र नयाँदल भनिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुसँग पनि भेट्दै गएँ । मलाई नेताहरुले आश्वासनमात्रै दिनुभयो,’ उनले भने ।

 

आफ्नो गुनासो लिएर अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय, पर्यटन मन्त्रालयसम्म धाउँदा पनि केही विकल्प नपाएकाले पाईलट अध्ययनका लागि एक रुपैयाँ संकलन अभियान सुरु गर्न परेको बताए । उनले प्रदेश सरकारमा आफूले गुनासो सुनाउँदा विदेश जाने सल्लाह दिएको समेत बताए । 


‘एक रुपैयाँ अभियान चलाउनु मेरो रहर होईन । मेरो एकमात्रै रहर भनेको पाइलट बन्नु हो । पाइलट किनभन्दाखेरी मलाई धेरैले तिमीजस्तो गरिब मान्छेले यस्तो सपना बोक्नु गलत हो भनेर भन्दैगर्दा मेरो मनमा गरिब विद्यार्थीले पाइलट बन्न नसक्ने हो ? भन्ने लाग्यो’ उनले भने, ‘म एक रुपैयाँ अभियानबाट पनि पाइलट बन्छु भन्ने लागेको छ । यो अभियानबाट भोलिकादिनमा पढ्न चाहेर पनि पैसा नभएकालाई सहयोग हुनेछ ।’ 


एक रुपैयाँ अभियानमा सहभागीहुन चाहनेहरुका लागि छिट्टै नै यसको माध्यम सार्वजनिक गरिने उनले बताए । पाईलट पढ्नकालागि करिब ८० लाख रुपैयाँ लाग्ने उनको भनाइ छ । पाइलट पढिसकेर सेवामा आएपछि आफूले सहयोग पाए बराबरको रकम सामाजिक सेवामा खर्चिने पनि उनले प्रतिवद्धता जनाए । 


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.