Powered by Blogger.
तामाकोसी-काठमाडौं प्रसारण लाइन असारभित्र सक्न ठेकेदारलाई प्राधिकरणको निर्देशन



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तामाकोसी–काठमाडौं २२०-४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारहरुलाई समयसीमा दिएको छ । 


आयोजना अन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र  बाह्रबिसेमा २२०-१३२-११ केभी सबस्टेसन निर्माणाधीन छन् । लप्सीफेदीमा ४००-२२०-१३२-११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ । 


तामाकोसी तथा सुनकोसी नदी र ती नदीहरुका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । 


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानसहितको उच्चस्तरीय टोलीले आयोजना अन्तर्गत बाह्रबिसे सबस्टेसनको बुधबार अनुगमन भ्रमण गरी महत्वपूर्ण प्रसारण लाइन र सबस्टेसनको निर्माण असारभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ । 


निर्माणमा देखिएको अवरोध हटाउन आफ्नोतर्फबाट पनि सहजीकरण तथा समन्वय गर्ने प्रतिबद्धता जनाउँदै टोलीले नयाँ खिम्ती–बाह्रबिसे, बाह्रबिसे–काठमाडौं र बाह्रबिसे सबस्टेसनको निर्माण असारभित्र सम्पन्न गर्न निर्देशन दिएको हो । 


टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माण जिम्मा पाएका ठेकेदारहरु, आयोजना व्यवस्थापनसँग निर्माणमा हालसम्म भइरहेको प्रगति, सम्पन्न हुने तालिका, व्यहोरिरहेका समस्या तथा समाधानका उपायहरुलगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको थियो । रुख कटान आदेश, जग्गा प्राप्ति, प्रसारण लाइनको मार्गधिकारमा स्थानीय बासिन्दाको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ । 


बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमको काम सन्तोषजक नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे । 


चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत् बाह्रबिसे सबस्टेसनमा जोडिने छ । मध्यभोटेकोसीको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।


कार्यकारी निर्देशक घिसिङले असारभित्रमा सबस्टेसनको निर्माण नभएर मध्यभोटेकासीको विद्युत् जोड्न नसकिने अवस्था आएमा त्यसको क्षतिपूर्ति भराइने ठेकेदारलाई चेतावनी दिए । ‘मध्यभोटेकोसीले सबस्टेसनसम्मको प्रसारण लाइनका टावर निर्माण गरिसकेको छ, सबस्टेसन निर्माण सम्पन्न भएन भने विद्युत् कसरी प्रवाह गर्ने ? यस्तो महत्वपूर्ण सबस्टेसन निर्माणमा ढिलाइ गर्ने ?’, घिसिङले ठेकेदारलाई निर्देशन दिंदै भने । ‘यदी सबस्टेसन निर्माण सम्पन्न नभएर मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा १०२ मेगावाट विद्युत् बिक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी असुलउपर गरिने छ ।’ 


प्राधिकरणले मध्यभोटेसीको विद्युत प्राहका लागि अस्थायी वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि बाह्रबिसे सबस्टेसन निर्माण अनिवार्य छ । मध्यभोटेकोसीको विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिने छ । २२० केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई बाह्रबिसे सबस्टेसनमार्फत १३२ केभीमा झारिने छ । त्यसपछि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले निर्माण गरेको १३२ केभि प्रसारण लाइनमार्फत लामोसाँघु सबस्टेसनमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ । 


माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले अहिले बाह्रबिसे बजारबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर प्रसारण लाइन निर्माण गर्न सर्वेक्षण सम्पन्न गरेको छ । आयोजनाले यो लाइन निर्माण गर्न बढीमा ४ महिना लाग्ने बताएको छ । यो लाइन बनेपछि अहिले लामासाँघु सबस्टेसनमा जोडिएको आयोजना बाह्रबिसे सबस्टेसनका जोडिने छ । 


कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सबस्टेसन र नयाँ खिम्ती–बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भएपछि मध्यभोटेकासीको विद्युत् खिम्तीतर्फ प्रवाह गर्न सकिने बताए । बाह्रबिसे सबस्टेसनमा २२०-१३२ केभी, १६० एमभीए र १३२-११ केभी,५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहने छन् । 


घिसिङले बाह्रबिसे बजारबाट सबस्टेसनसम्म जाने करिब साढे चार किलोमिटर सडकको मर्मत तत्काल गरी वर्षा सुरु हुनुभन्दा अघिनै  निर्माणस्थलमा उपकरणहरु तथा निर्माण सामाग्री ढुवानीको व्यवस्था गर्न निर्देशन दिए ।  


प्रसारण लाइन अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्डमा पर्ने ११८ वटा टावरमध्ये ९० वटा टावरको जग हालिएको छ । ७१ वटा टावर  खडा गरिएको छ । १७.५ किलोमिटर तार तानिएको छ ।  यो लाइन बनाउन पनि बाह्रबिस सबस्टेसनको ठेकेदारले नै पाएको थियो । तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो । 


प्राधिकरणले चिनियाँ  कम्पनीसँग ठेक्का तोडी ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको थियो । यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ बैक जमानत पनि जफत गरिएको थियो । त्यसपछि प्राधिकरणले गरेको नयाँ टेण्डर गरी ठेकेदार छनोट गरेको थियो । 


बाह्रबिसे–लप्सेफेदी खण्डमा पर्ने १२२ टावरमध्ये १११ वटाको जग हालिएको छ भने ४ वटा टावरको जग हाल्ने काम जारी रहेको छ । १०३ वटा खडा गरिएको छ । स्थानीयको अवरोधका कारण लप्सीफेदीमा ४ वटा टावर निर्माण सुरु हुन सकेको छैन । १२.५ किलोमिटर तार तानिएको छ । वन क्षेत्रको जग्गा प्रयोग, रुख कटानी, स्थानीयको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ । 


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.