Powered by Blogger.
चरिकोटको खानेपानी तथा ढल व्यवस्थापनका लागि एशीयाली विकास बैंकले ऋण दिने


काठमाडौं । दोलखा जिल्लाको सदरमुकाम चरिकोट बजारसहित भिमेश्वर नगरपालिकाको वडा नम्बर ३, ४ र ६ मा खानेपानी तथा ढल व्यवस्थापनका लागि एशीयाली विकास बैंकको ऋण सहायता प्रदान गर्ने भएको छ । 

बजार क्षेत्रमा प्रशोधन प्रणालीमार्फत् खानेपानी तथा ढल व्यवस्थापनका सहयोग गर्न लागेको हो । आयोजना निर्माणका लागि आयोजना कार्यान्वयन सहमति तथा वित्तिय सम्झौंता गरिएको छ । 


बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भिमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी र सहरी खानेपानी तथा सरसफाई आयोजना व्यवस्थापन कार्यालयका निर्देशक रामकुमार श्रेष्ठबीच सम्झौता भएको हो । आयोजनाको कूल लागत ९१ करोड ५१ लाख ३६ हजार रुपैयाँ रहेको छ भने त्यसको कूल लागतको १५ प्रतिशत स्थानीय तहले व्यहोर्नु पर्नेछ । 


कार्यक्रममा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिमाली जिल्लामा नेपालमै पहिलो पटक संचालनमा ल्याइएको उक्त आयोजना नमूना आयोजनाको रुपमा अघि बढने विश्वास व्यक्त गरे । उनले भिमेश्वर नगरपालिका बजार क्षेत्रको खानेपानी तथा ढल व्यवस्थापनका लागि संचालनमा आउने उक्त आयोजना राष्ट्रकै नमूना आयोजना भएकाले त्यसलाई समयमै सम्पन्न गर्न भिमेश्वर नगरपालिका र आयोजना कार्यान्वय कार्यालयलाई आग्रह गरे ।


बागमती प्रदेश सभा सदस्य पशुपति चौंलागाइले उक्त आयोजना सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । भिमेश्वर नगरपालिकाका मेयर केसी तथा आयोजना कार्यान्वयन कार्यालयका निर्देशक श्रेष्ठले  आयोजना सम्पन्न गर्न स्थानीय जनप्रतिनिधिहरुले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे । 


हिमाली जिल्लामध्ये दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा यो आयोजना पहिलो पटक संचालनमा ल्याइएको दावी गरिएको छ । सो आयोजना संरचना निर्माणका लागि आवश्यक स्थानलगायतका व्यवस्था सरोकारवालाहरुको सहमतिमा भिमेश्वर नगरपालिका आफैंले गर्नेछ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.