Powered by Blogger.
माथिल्लो तामाकोशीको सेयर कात्तिक १५ देखि सर्बसाधारणका लागि खुला

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले कात्तिक १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कात्तिक १९ गतेसम्म आवेदन दिन सकिने छ । यस अवधिमा माग गरिएजति आवेदन नपरेमा मंसिर १४ गतेसम्म आवेदन दिन सकिनेछ । 

बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने छन् । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । मेरो सेयर प्रयोगकर्ताले अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।


यसअघि माथिल्लो तामाकोशीले साउन १६ गतेदेखि भदौ २१ गतेसम्म दोलखाका स्थानीयबासीका लागि चुक्ता पुँजीको १०% (१ करोड ५ लाख ९० हजार कित्ता) आइपीओ निष्काशन गरिसकेको छ ।  

४ सय ५६ मेगावाटको राष्ट्रिय गौरवको यस आयोजना दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको छ । आयोजनाले २०७४ फागुनमा ३ करोड ६० लाख ६ हजार कित्ता सेयर बिमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चय कोषमा रकम जम्मा गर्ने कर्मचारीका लागि यसअघि नै निष्काशन गरिसकेको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.