Powered by Blogger.
माथिल्लो तामाकोशीको सेयर भर्ने समय एक साता थपियो

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर भर्ने समय एक साता थप गरिएको छ । 

बिहीबार (भदौ १४ गते) अन्तिम समय भनिए पनि पुन एक साता समय थपेर आगामी २२ गतेसम्म पुर्याइएको धितोपत्र बोर्डले जनाएको छ । अब स्थानीयले भदौ २२ गतेसम्म आवेदन दिन पाउने छन् ।

यसअघि काठमाडौंबाट स्थानीयका लागि सेयर आवेदन खुला गरिएको थियो । माथिल्लो तामाकोशीले दोलखा जिल्लाका स्थानीयलाई साउन १६ गतेदेखि १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ बिक्री खुला गरेको छ ।

तामाकोशीले १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ आयोजना प्रभावित स्थानीयलाई खुला गरेको हो । कम्पनीले स्थानीयलाई आइपीओ दिइसकेपछि सर्वसाधारणका लागि खुला गर्नेछ ।

दोलखाका स्थानीयलाई पनि ३ वर्गमा वर्गीकरण गरिएको छ । जिल्लाको लामाबगर र गौरिशंकार गाँउपालिकालाई ‘क’, ट्रान्समिसन लाइन भएको क्षेत्रलाई ‘ख’ र बाँकीलाई ‘ग’ वर्गमा विभाजन गरिएको हो । सोही अनुसार आवेदन दिन पाइने संख्या निर्धारण गरिएको छ । ‘क’ वर्गमा पर्नेले हरियो, ‘ख’ वर्गमा पर्नेले निलो र ‘ग’ वर्गमा पर्ने स्थानीयले कालो फर्म भरेर आवेदन दिनुपर्नेछ ।

आइपीओका लागि दोलखामा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको मुख्य कार्यालय गोंगर सहित चरिकोट, सिंगटी, जिरी, मैनापोखरी, किर्ने, गुरुम्फी, मेलुङ र बाघखोरका २६ वटा बैंक शाखाबाट आवेदन दिन सकिन्छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.