Powered by Blogger.
अर्थमन्त्री डा.खतिवडाले मागे तामाकोशी पाँचौलाई १५ अर्ब सहयोग

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले एसियाली पूर्वाधार विकास लगानी बैंकका अध्यक्ष जिन लिकनसँग तामाकोशी (१०१ मेगावाट) पाँचौ आयोजनामा सघाउन आग्रह गरेका छन् ।

मन्त्री डा. खतिवडाले तामाकोशी (१०१ मेगावाट) मा करिब १५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने भएकोले सघाउन अनुरोध गरेका हुन् । जवाफमा अध्यक्ष जिन लिकनले यसमा विषयमा अध्ययन गर्ने र सम्भव भएमा तुरुन्तै लगानी गर्ने आश्वासन दिएका छन् ।

मन्त्री खतिवडाले नेपालमा स्थिर सरकार रहेको र १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको जानकारी गराएको अर्थ मन्त्रालयले जनाएको छ । छलफलमा अर्थमन्त्रीले नेपालमा रेलवे, द्रुतमार्गहरु, पर्यटकीय पूर्वाधार योजनाहरु, जलविद्युत जस्ता ठूला आयोजनाहरुमा लगानी गर्न बैंकमा छुट्टै प्रस्ताव पेश गर्ने जानकारी गराए । छलफलका क्रममा बैंकका अध्यक्ष लिकनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा पनि लगानीका लागि जोड दिइएको स्मरण गराए ।

भारतमा जुन २५ र २६ (सोमबार र मंगलबार) मा सम्पन्न एसियाली पूर्वाधार लगानी बैंकको तेस्रो बैठकमा ८६ सदस्य देशका बैंकका गभर्नर, अर्थमन्त्री एंव सचिवहरुको सहभागिता रहेको थियो । अर्थमन्त्री खतिवडा पनि सोही बैठकमा भाग लिन भारत गएका हुन् । बैठकमा मध्ये र पश्चिम नेपालको विद्युत वितरण प्रणाली सुधार गर्ने उद्देश्यले आयोजना प्रस्ताव तयार गर्न एक मिलियन डलर बराबरको अनुदान प्राविधिक सहायता सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा सम्झौतामा अर्थ मन्त्रालय र बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

सोही अवसरमा मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले बैंकका उपाध्यक्ष डिजे पाण्डियनसँग पनि भेट गरेका छन् । पाण्डियनले बैठकमा पनि नेपालको पूर्वाधार क्षेत्रहरु सडक, विमानस्थल, जलविद्युत क्षेत्रमै लगानकिा लागि विशेष अनुरोध गरेका थिए ।

उपाध्यक्ष पाण्डियनले तामाकोशी ५ आयोजनामा लगानी गर्न बैंक सकारात्मक रहेको जानकारी गराए । सो अवसरमा सहसचिव नेपालले नेपालमा पूर्वाधार क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको भन्दै बैंकको थप सहयोगको अपेक्षा रहेको जानकारी गराए ।

२ दिनसम्म चलेको बैठकमा वक्ताहरुले एसियाको दु्रत आर्थिक विकासको लागि पूर्वाधारमा गर्नुपर्ने ठूलो लगानी जुटाउन सजिलो नभएको र यसका लागि सरकारी, निजी क्षेत्रको लगानीका लागि साथै एसियाली पूर्वाधार विकास लगानी बैंक जस्ता बहुपक्षीय लगानी बैंकहरुको पनि उत्तिकै साथ रहनुपर्ने विषयमा छलफल भएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.