Powered by Blogger.
दोलखावासीले तामाकोसीको सेयर घटीमा ३०, बढीमा ३०० कित्ता पाउने

काठमाडौं, ९ माघ । निर्माणको चरणमा रहेको चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडले दोलखाबासीलाई ३० देखि ३०० कित्तासम्म सेयर दिने भएको छ । कम्पनीले आयोजनाबाट अति प्रभावित, प्रभावित र कम प्रभावित गरी तीनवटा वर्गीकरण गरिएको छ । अति प्रभावितलाई बढी र कम प्रभावितलाई थोरै सेयर दिने कम्पनीको योजना छ ।

राष्ट्रिय गौरवको आयोजना निर्माण गरिरहेको कम्पनीले स्थानीय बासिन्दाका लागि सेयर निष्कासनको अन्तिम तयारी गरेको आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले सोमबार नागरिकलाई बताए । ‘गत कात्तिकको अन्त्यमा धितोपत्र बोर्डमा आवेदन दिइसकिएको छ,’ उनले भने, ‘बोर्डले स्वीकृत दिनासाथ स्थानीयलाई सेयर बाड्छौं ।’ कम्पनीको सेयर करिब साढे दुई लाख स्थानीयले पाउने श्रेष्ठले बताए । ‘अति प्रभावितले बढी कित्ता पाउने छन्,’ उनले भने, ‘अति प्रभावितमा आयोजनास्थल लामाबगर र गौरीशंकर गाविसमा करिब चार हजार जनसंख्या छन् ।’

कम्पनीले स्थानीयका लागि १० प्रतिशत सेयर जारी गर्दैछ । आयोजनाबाट प्रभावितलाई १ करोड ५ लाख ९० हजार कित्ता सेयर छुट्ट्याइएको छ ।दोलखाका बासिन्दा माथिल्लो तामाकोसीको सेयरमा लगानी गर्न आतुर छन् । सेयरमा लगानी गर्न केहीले ऋण नै खोजेका छन् । स्थानीय सहकारी तथा अन्य वित्तीय संस्थाले सेयरमा लगानी गर्न ऋण दिने घोषणा गरेका छन् ।

आयोजनाको सेयर नागरिक लगानी कोषले निष्कासन गर्नेछ । आयोजनाको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा डेढ वर्षअघि नै कोषलाई नियुक्त गरिएको थियो । कोष आयोजनाको ऋण र सेयर लगानीकर्ता पनि हो । कोषले आयोजनामा दुई अर्ब ऋण लगानी गरेको छ भने दुई प्रतिशत सेयर यसको छ ।

आयोजनाको सेयर संरचनाअनुसार नेपाल विद्युत् प्राधिकरण ४१ प्रतिशत, नेपाल टेलिकम ६ प्रतिशत, नागरिक लगानी कोष दुई प्रतिशत, राष्ट्रिय बिमा संस्थान दुई प्रतिशत, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता १७.२८ प्रतिशत, सर्वसाधारण १५ प्रतिशत,  आयोजनामा ऋण लगानीकर्ता संस्थाका कर्मचारी २.८८ प्रतिशत, कम्पनी र विद्युत् प्राधिकरण कर्मचारी ३.८४ प्रतिशत र दोलखा जिल्लाबासीको १० प्रतिशत सेयर हुनेछ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सेयर आह्वान प्रक्रिया छिट्टै अघि बढ्ने बताए । आयोजनाको ९३ प्रतिशत काम पूरा भएको छ । अहिलेसम्म ऋण र संस्थापक सेयरको रकमबाट मात्र खर्च भइरहेको छ । उक्त आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी छ । संकलन हुने सेयर रकम स्वपुँजीको रुपमा खर्च हुन्छ ।

यसअघि आयोजनाको निरीक्षण गर्न पुगेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको लगानीबाट द्वन्द्वकालमा बेपत्ता भएको तथा शहिद परिवारका सदस्यलाई उक्त आयोजनाको सेयर दिने बताएपछि निकै विवाद आएको थियो ।आयोजनाले २०७२ सालमा नै स्थानीय जनताका लागि सेयर निष्कासन गर्ने तयारी गरेको थियो । भूकम्प गएपछि त्यो रोकिएको थियो ।

कम्पनीले आयोजना प्रभावित दोलखाली जनताका लागि १० प्रतिशत सेयर वितरण गरेपछि सर्वसाधारणका लागि १५ प्रतिशत सेयर निष्कासन गर्नेछ ।यसअघि नै कम्पनीले २०७२ जेठ २९ गते कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको लागि एक करोड ८२ लाख ९९ हजार पाँच सय २० कित्ता, कम्पनीलाई ऋण दिने संस्थाका कर्मचारीका लागि ३० लाख ४९ हजार नौ सय २० कित्ता र कम्पनी तथा विद्युत् प्राधिकरण कर्मचारीका लागि ४० लाख ६६ हजार पाँच सय ६० कित्ता सेयर निष्कासन गरिसकेको छ ।

२०६८ बाट निर्माण सुरु भएको  आयोजना २०७५ को पुससम्म सम्पन्न गर्ने लक्ष्य छ ।  २०७२ सालको भूकम्पले असर गरेपछि करिब एक वर्ष काम रोकिएको थियो । ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा भूकम्पले क्षति पुर्याएपछि लागत बढ्न पुगेको  छ । उक्त आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको निर्माण सम्पन्न हुन अब सात प्रतिशत मात्र बाँकी छ । नागरिक दैनिकमा समाचार छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.