Powered by Blogger.
माथिल्लो तामाकोसी बनेपछि वर्षायाममा बढी भएको बिजुली बेच्नेः घिसिङ

काठमाडौं, २२ चैत । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी बनेपछि वर्षायाममा बढी हुने बिजुली भारतलाई बेच्ने बताए । 

राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा घिसिङले यस्तो बताएका हुन् । तामाकोशी जलविद्युत आयोजना बनेपछि प्राधिकरणले वर्षको ६ महिना विजुली बेच्नका लागि समेत पुग्ने उनले बताए । २०७५ मंसिरसम्ममा माथिल्लो तामाकोशीको एउटा युनिट सञ्चालनमा ल्याइसक्ने तयारी रहेको उनले बताए । 

घिसिङका अनुसार चालु आर्थिक वर्षमा प्राधिकरणको आम्दानी अघिल्लो वर्षभन्दा १२ अर्ब बढी हुनेछ । गत वर्ष ३२ अर्ब आम्दानी गरेको प्राधिकरणले चालू वर्ष १२ अर्ब बढी अर्थात ४४ अर्ब रुपैयाँ आम्दानी गर्ने भएको छ । 

गत वर्ष पाँच हजार गिगावाट आवर विद्युत् उपलब्ध भएको थियो भने यो वर्ष ६ हजार गिगावाट आवर विद्युत् उत्पादन भएकाले प्राधिकरणको आम्दानी बढेको हो । 

प्राधिकरणले देशव्यापी अभियानका रूपमा अघि बढाइएको विद्युत् चुहावट तथा चोरी नियन्त्रण अभियानका कारण करिब चार प्रतिशतले चुहावट र चोरीमा कमी आएको छ । जसले गर्दा  प्राधिकरणलाई एक अर्ब २० करोड रुपैयाँ नाफा भएको छ । 

प्राधिकरणका अनुसार चालु आवको चैतसम्म राम्रो वर्षा भइरहेकाले नदीको प्रवाहमा आधारित विद्युत आयोजनामा बिजुलीको उत्पादन बढेको उल्लेख छ । यस वर्ष आधा दर्जन आयोजना सम्पन्न भई मुलुकको विद्युत प्रणालीमा एक सय पाँच मेगावाट बिजुली थपिएको छ ।

भूकम्पबाट क्षतिग्रस्त भोटेकोसी आयोजनाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । त्यसबाट छिट्टै विद्युत प्रणालीमा ४५ मेगावाट बिजुली थप हुनेछ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.