Powered by Blogger.
लामाबगर गाविसमा रहेको ५२ मेगावाटको लाप्चे खोलासँग पीपीए

दोलखा, २४ साउन । नेपाल विद्युत् प्राधिकरण र ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक इनर्जी भेन्चर प्रालिबीच विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र भेन्चर प्रालिका निर्देशक महेश खरेलबीच पीपीएमा हस्ताक्षर भएको हो । हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा खरिद गर्ने गरी पीपीए भएको निर्देशक खरेलले जानकारी दिए ।

आयोजनाले एक वर्षभित्र वित्तीय व्यवस्थापन गरी चार वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखेको छ । दोलखाको लामाबगर गाविसमा पर्ने अपर लाप्चे खोला जलविद्युत्को सर्भेक्षण लाइसेन्स लिएर निर्माण कार्य अघि बढाएको आयोजनाले स्वदेशी पुँजीको उपयोग गरेर जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्य राखेको छ । “देशले ऊर्जा संकट भोगिरहेका बेला आयोजनाले लोडसेडिङ न्यूनीकरणका लागि सहयोग गर्नेछ,” निर्देशक खरेलले भने ।

८ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट हिउँदमा ४४.०२६ गिगावाट आवर र वर्षामा २४१.०९४ गिगावाट आवर गरी वार्षिक २८५.१२१ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । यो विद्युत् उत्पादनपछि आयोजनाबाट वार्षिक १ अर्ब ५२ करोड आम्दानी हुनेछ ।

४ सय ४५ मिटर हेड रहेको आयोजनामा लप्चीको फेम्बु बगरको लप्ची खोला र लप्चीगढमा बाँध बाँधेर त्यहाँबाट ६ किलोमिटर सुरुङ निर्माण हुनेछ ।

आयोजनाका अनुसार आयोजनाबाट उत्पादित बिजुली सिंगटी सबस्टेसनमा जोडिनेछ । यसबारे विद्युत् प्राधिकरणको ग्रिड विभाग र भेन्चर प्रालिबीच कनेक्सन एग्रिमेन्ट भइसकेको छ ।

आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन भइरहेको छ । छिट्टै अध्ययन सम्पन्न सकिने र वित्तीय व्यवस्थापनका लागि बैकहरूसँग छलफल भइरहेको आयोजनाले जनाएको छ । भेन्चरका निर्देशक खरेलका अनुसार आयोजनामा लगानीका लागि केही स्वदेशी बैंकहरूसँग छलफल चलिरहेको छ ।

आयोजनाबाट उत्पादित विद्युत् २५ किलोमिटर १३२ केभीको डबल सर्किट क्षमताको प्रसारण लाइनमार्फत गोंगरमा निर्माण हुने माथिल्लो तामाकोसीको स्विच्याडमा जोड्ने योजना छ ।

प्रस्तावित माथिल्लो लाप्चे खोला माथिल्लो तामाकोसी जलविद्युत् आयोजना रहेको लामाबगरभन्दा २० किलोमिटर माथि पर्छ । लाप्चे खोला तामाकोसीकै सहायक नदी हो । आयोजनाको बाँधस्थल ४ हजार मिटरको उचाइमा छ ।

प्रवर्द्धकका अनुसार यो आयोजना सम्भवत हालसम्म अध्ययन र प्राधिकरणसँग पीपीए भएकामध्ये सबैभन्दा उच्च स्थानमा रहेको आयोजना हो ।

आयोजनाबाट कुनै पनि घरपरिवार विस्थापित हुनेछैनन् । तिब्बती सीमा नजिक रहेको लामाबगर–१ मा १६ घरका २८ परिवारका १ सय ९० जनसंख्या छ ।

सोही खोलाको तल्लो क्षेत्रमा नासा हाइड्रोपावर कम्पनीले १६३ मेगावाटको लाप्चे खोला नामबाट अर्को आयोजनाको अध्ययन गरिरहेको छ ।
त्यसैगरी जुमखोलामा सानिमा हाइड्रोपावरले ६२ मेगावाटको आयोजना अध्ययन गरिरहेको छ । यी तीनवटै आयोजनाको सम्पूर्ण संरचना लामाबगर गाविसको वडा नम्बर १ मा तयार हुनेछन् । कारोबार दैनिकमा समाचार छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.