Powered by Blogger.
इलाका प्रहरी कार्यालय जिरीले सक्रियता बढाउँदै, मदिरापछि सडकतर्फ ध्यान

चन्द्र खड्का 
जिरी २४ जेठ । दोलखाको पर्यटकीय नगरी जिरी बजार तथा सडकलाई व्यवस्थित  बनाउनका लागि सडक किनारामा राखिएका सम्पूर्ण निर्माण सामाग्रीहरु हटाइने भएको छ । 

विनाशकारी भूकम्पले जिरी बजारका सबै भौतिक संरचनाहरुमा क्षति पुगेपछि पछिल्लो समय पुनर्निर्माणका लागि ल्याइएको निर्माण सामाग्रीहरु सडक किनारामा अस्तव्यस्त अवस्थामा लामो समयसम्म राखिएको र सडक अव्यवस्थित देखिएकोले यसलाई हटाउन लागिएको इलाका प्रहरी कार्यालय जिरीले बताएको छ ।

भूकम्पबाट थलिएको जिरी अहिले पुनर्निर्माणको चरणमा छ । पुनर्निर्माणको लागि ल्याइएका निर्माण सामाग्रीहरु व्यवस्थित रुपमा राख्ने ठाउँ नभएपछि सडक किनारामा राखिएको हो । सडक किनारामा राखिएका सामाग्रीहरुले अस्तव्यस्त बनाएको सडकलाई व्यवस्थित बनाउनका लागि सडक आसपासको किनारामा निर्माण सामाग्रीहरु राख्न नदिने इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक राजेश कार्कीले जानकारी दिए । 

‘सडक  किनारमा निर्माण सामाग्रीहरु राखिँदा सडक अव्यवस्थित हुनुका साथै दुर्घटनाको सम्भावना पनि बढ्ने भएकोले यसलाई व्यवस्थित गर्न हटाउन लागिएको हो’ प्र.नि. कार्कीले भने । कार्कीका अनुसार अहिले जिरी नगरपालिका भूकम्पपीडितको अनुदान सम्झौताको क्रममा रहेको र अनुदान सम्झौताको काम सकिनसाथ नगरपालिकासँग समन्वय गरी सडक किनारामा राखिएको निर्माण सामाग्रीहरु हटाउन लगाइने भएको छ ।

प्र.नि. कार्की इलाका प्रहरी कार्यालय जिरीमा प्रमुखको जिम्मेवारी सम्हाल्न आउनसाथ जिरीमा पहिलो समस्या मदिराको रहेकोले घरेलु मदिरा व्यवसायलाई न्यूनिकरण गर्ने बताएका थिए । त्यसलगतै नगरपालिकाको विभिन्न ठाउँमा अवैध रुपमा सञ्चालन हुँदै आएको घरेलु मदिराका भट्टीबाट मदिरा नियन्त्रणमा लिई नष्ट गर्ने अभियान नै चलाएका छन् । 

अहिलेसम्म दर्जनौं भट्टीबाट मदिरा नष्ट गरिसकिएको छ । आइतबार मात्र जिरी बजारबाट १ सय ७० लिटर तयारी घरेलु मदिरा र १ सय ७५ किलो मदिराको कच्चा पदार्थ नियन्त्रण्मा लिएर नष्ट गरेको छ । घरेलु मदिरासँगै प्र.नि. कार्कीको ध्यान अहिले सडकतर्पm पनि सोझिएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.