Powered by Blogger.
दोलखामा १८ हजार चार सय घरधुरीसँग अनुदान सम्झौता

काठमाडौं, १० असार । पुन निर्माण प्राधिकरणले एक लाख ५१ हजार एक सय ६४ घरधनीसँग अनुदान सम्झौता गरेको छ । एक लाख ७१ हजार ६ सय ७७ घरधनीलाई पहिलो किस्ताको अनुदान रकम बैंकमार्फत वितरण गर्न क्षेत्रगत विभाजन गरी बैंकका शाखा तोकिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

बैंकको शाखा तोकेर एकहप्ताभित्र प्रतिवेदन प्राधिकरणको केन्द्रीय कार्यालयमा पठाउन जिल्ला समन्वय उपसमितिलाई निर्देशन दिइएको बताइएको छ । अनुदान रकम वितरणका लागि प्राधिकरण, नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल एवम् नेपाल फाइनान्सियल इन्स्टिच्युसन्स एसोसिएसनबीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । समझदारी पत्रअनुसार प्राधिकरण, ‘क’, ‘ख’ र ‘ग’ वर्गमा परेका ५९ वटा बैंक तथा वित्तीय संस्थासँग सम्झौता भइसकेको छ ।

पाँच हजार ८ सय ४१ घरधनीको पहिलो किस्ताबापत २४ करोड ५९ लाख ५० हजार अनुदान रकम बैंक खातामा जम्मा भइसकेको छ । दोलखा, रामेछाप, सिन्धुपाल्चोक, गोर्खालगायतका जिल्लामा करिब पाँच हजार घर पुनःनिर्माणको थालनी भएको जानकारी जिल्ला समन्वय कार्यालयबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ । भूकम्प प्रतिरोधी घर बनाइसकेका घरधनीलाई प्राविधिक जाँच गरी अनुदान उपलब्ध गराउने निर्णय भएको प्रवक्ता थपलियाले बताए ।

निजी आवास पुनःनिर्माणका लागि गत वैशाख १७ गते सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत १२ अर्ब ४४ करोड ६८ हजार निकासा भइसकेको छ । आवश्यकताअनुसार क्रमशः थप रकम निकासा गरिने प्राधिकरणले जनाएको छ । संघीय मामिला तथा स्थानीय विका मन्त्रालयका अनुसार सरकारले दोलखामा १८ हजार चार सय ७२ घरधुरीसँग अनुदान सम्झौता गरेको छ । एक हजार दुई सय ३६ घुरधुरीलाई प्रथम किस्ता भुत्तानी गरेको मन्त्रालयले जनाएको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.