Powered by Blogger.
दोलखाका विद्यालयमा धर्म परिवर्तन गराउँदै हिडेका दुई प्रिन्सिपलसहित आठ जनाको रिहाईको माग गर्दै ख्रीष्टियन महासङ्घ गृह मन्त्रालयमा

काठमाडौं, २ असार । राष्ट्रिय ख्रीष्टियन महासङ्घ दोलखाका विद्यालयमा धर्म परिवर्तन गराउँदै हिँडेका दुई प्रिन्सिपलसहित आठ जनालाई तत्काल रिहाईको माग गर्दै गृह मन्त्रालय पुगेको छ ।  

दोलखा प्रहरीले धर्म प्रचार गरेको आरोपमा जेठ २८ गते बनिता डङ्गोल, बालकृष्ण राई, फिलिप तामाङ, किरण दाहाल र भीमबहादुर तामाङलगायत चरिकोटस्थित माउन्टभ्याली बोर्डिङका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाहीलाई पक्राउ गरेको थियो । उनीहरुको रिहाईको माग गर्दै बुधबार महासंघले गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटी ज्ञापन पत्र बुझाएको छ । 

ज्ञापनपत्र बुझ्दै मन्त्री बस्नेतले संविधानले कुनै पनि जातजाति, भाषाभाषी, धर्म संस्कृतिलाई विभेद नगरेको अवगत गराए । उनले नेपालको संविधानअनुसार सबै नेपालीलाई आफ्नो धर्म र संस्कृति मान्ने अधिकार भएको बताए ।

सबैलाई स्वतन्त्रतापूर्वक आ–आफ्नो धर्म र संस्कृति मान्न पाउने र वकालत गर्ने अधिकार भए पनि त्यसका लागि समय, स्थान र सन्दर्भका बारेमा ध्यान पु¥याउन आग्रह गर्दै मन्त्री बस्नेतले भने ‘विद्यालयमा धार्मिक कार्यक्रम गर्नु उपयुक्त होइन ।’ उनले धार्मिक विषयका घटनालाई कसैले पनि अनावश्यक रुपमा विवादमा नल्याइदिन पनि आग्रह गरे ।

कार्यक्रममा महासङ्घका महासचिव सिबी गहतराजले ख्रीष्टियन समुदायले सबै धार्मिक समुदायलाई सम्मान गर्दै धार्मिक सद्भाव र एकता चाहेको बताउँदै भने, ‘हामी कसैको पनि धर्म जबर्जस्ती परिवर्तन गर्न चाहँदैनौँ । नागरिकले आफ्नो धर्म मान्न पाउने, छान्न पाउने र अभ्यास गर्न पाउने अधिकारलाई कसैले पनि बन्देज गर्न हुँदैन ।’

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.