Powered by Blogger.
जिरी नगरपालिकाबाट भूकम्पपीडित १ हजार १ सय ४१ को नाम छुट्यो, श्यामाबाट १ सय २९

चन्द्र खड्का 
जिरी, २० बैशाख । दोलखाको जिरी नगरपालिकाबाट राहत अनुदान पाउनेहरुमा १ हजार १ सय ४१ जनाको नाम राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले सार्वजानिक गरेको नामवलीबाट छुटेको छ ।

विनासकारी भूकम्प गएको वर्ष दिनपछि सार्वजानिक गरेको नामवलीमा १ हजार १ सय ४१ जनाको नाम छुटेको हो । जिरी नगरपालिकाबाट तत्काल अस्थायी टहरा निर्माणको लागि प्रति परिवार १५ हजार र न्यानो कपडा खरिदको लागि दश हजारको दरले राहत रकम  वितरण गर्दा ४ हजार ७ सय ५० जनालाई रकम वितरण गरेको थियो । तर अहिले जम्मा ३ हजार ६ सय ९ जनाको नाम मात्र नामवलीमा समावेश गरिएको छ । 

भूकम्पपीडित परिचय पत्रको लागि नगरपालिकाले मागेको र आवश्यक प्रक्रिया पु¥याएर परिचय पत्र लिएकाहरुको नाम अहिले पुर्ननिर्माणको लागि अनुदान रकम पाउनेहरुको नामवलीमा नभएपछि सर्वसाधारणहरु सरकारले विभेद गरेको भन्दै गुनासो पोख्न थालेका छन् । 

नगरपालिकाले परिचय पत्र वितरणको समयमा श्रीमान श्रीमतीको नागरिकताको प्रतिलिपि, जग्गा धनी पूर्जा (लाल पूर्जा) को प्रतिलिपी, विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी मागेको थियो । तर धेरैको जग्गा धनी पूर्जा नभएपछि विवाद उत्पन्न हुँदा नागररिकता र विवाह दर्ताका प्रमाण पत्रको आधारमा परिचय पत्र वितरण गरेको थियो । अहिले नगरपालिकामा सबै प्रक्रिया पु¥याएर  परिचय पत्र लिनेहरुको नाम नामवलीमा समावेश छैन । 

नगरपालिकाले आवश्यक प्रक्रिया पु¥याएर भूकम्पपीडितको परिचय पत्र वितरण गरेको भए पनि अहिले नामवालीमा नाम समावेश नभएको भन्दै नामवलीमा नाम छुटेका भूकम्पपीडितहरु आक्रोसित बनेका छन् । साविक जिरी गाविसबाट १ हजार ९ सय ३२, साविक माली गाविसबाट ८ सय ८ र साविक ठूलोपातलबाट ८ सय ६९ जना गरी जिरी नगरपालिकाबाट ३ हजार ६ सय ९ जनाको मात्र नाम नामवलीमा छ । तर नगरपालिकामा घर धुरी दर्ता गराउनेको संख्यालाई आधार मान्दा भने ३ सय ९१ जनाको नाम छुटेको देखिन्छ । 

नगरपालिकाका कार्यकारी अधिकृत मोहनकुमार श्रेष्ठले दिएको जानकारी अनुसार हाल सम्म नगरपालिकामा ४ हजार घरधुरी मात्र दर्ता भएका छन् । नाम छुट्नेहरुमा घर धुरी दर्ता भएकाहरु पनि रहेको पाइएको छ ।  त्यस्तै श्यामा गाविसबाट पनि धेरैको नाम नामवलीबाट छुटेको छ । यस अघि गाविसले ७ सय ६२ जनालाई परिचय पत्र वितरण गरेको थियो जसमा ७ सय जनालाई मात्र १५ हजार रुपैयाँको दरले राहत रकम वितरण गरेकोमा अहिले नामवलीमा ५ सय ७१ जनाको मात्र नाम अटाएको छ । पहिले राहत रकम बुझ्ने पीडितको तथ्याङकलाई  आधार मान्ने हो भने नामवलीमा १ सय २९ जनाको नाम छुटेको देखिन्छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.