Powered by Blogger.
जिरीमा उत्पादीत चिया विदेश निर्यात, मासिक पाँच लाख विदेशी मुर्दा आर्जन

दोलखा, १५ वैशाख । जिरी टी डेभलपमेन्ट कम्पनी जिरीले उत्पादन गरेको चिया अहिले विदेशी बजारमा निर्यात हुने गरेको छ । जिरीमा उत्पादन गरिएको चिया विदेशी बजारमा निर्यात हुँदा मासिक ४ लाख ८० हजार बराबर रुपैयाँ विदेशी मुद्रा जिरी भित्रिने गरेको छ ।

दोलखाको पर्यटकीय नगरी जिरीमा २०५७ सालदेखि व्यावसायिक रुपमा सुरु गरेको चिया खेतीबाट आम्दानी दिन थालेको ५ वर्षपछि अहिले वार्षिक रुपमा अन्तर्राष्ट्रिय बजारमा १ हजार २ सय किलोग्राम चिया निर्यात हुँदा विदेशी मुद्रा जिरी भित्रने गरेको हो । जिरी टी डेभलपमेन्ट कम्पनीले उत्पादन गरेको चिया हाल अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै गएको कम्पनीका सेयर सदस्य मिठाबहादुर जिरेलले बताए ।

जिरेलका अनुसार हाल स्विजरल्यान्ड, जर्मन, अमेरिका, स्पेन लगायतका देशमा जिरीको चिया निर्यात हुने गरेको छ । मासिक रुपमा हाल चार सय किलो चिया विदेशी बजारतर्पm पठाउँदा वार्षिक १४ लाख ४० हजार रुपैयाँ विदेशी मुद्रा जिरीमा भित्रने गर्दछ । कम्पनीले चिया सिधै विदेशी बजारमा नपुर्याई एजेन्टवाट विदेशी बजारमा चियालाई निर्यात गदै आएको छ । जिरीमा भित्रिने गरेको मूल्य विदेशी बजारको मूल्य नभई कम्पनीको मूल्यअनुसार प्रतिकेजी १ हजार २ सय रुपैयाँको दरले हुन आउने रकम हो ।

एजेन्टले कम्पनीको मूल्यभन्दा केही बढीमा विदेशी बजारमा पठाउने हुनाले अझ बढी नै विदेशी मुद्रा जिरी भित्रिने गर्दछ । तर चियालाई विदेशी बजारसम्म लैजाने एजेन्टवाट कति भित्रन्छ भन्ने यकिन भने छैन । जिरेलका अनुसार वार्षिक १ हजार ६ सय किलो चिया जिरीमा उत्पादन हुने गर्दछ जसअन्तर्गत १ हजार २ किलो अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन्छ भने बाँकी जिरी र राजधानी लगायतका बजारमा प्रयोग गरिन्छ ।

जिरी नगरपालिका–७, कलङको ६ सय रोपनी क्षेत्रफल र जिरी नपा–४ रातमाटेमा १ सय ५० रोपनी क्षेत्रफलमा लगाइएको चिया खेती शुद्ध अर्गानिक भएको कारण विदेशी बजारमा लोकप्रिय बन्दै गएको हो । जिरीमा नै उत्पादन गरिएको जिरी टीमा कुनै पनि रासायनिक पदार्थ मिसावट नहुने कारण जिरीको चिया अत्यन्त मीठो र शरीरका लागि लाभदायक हुने कम्पनीका अर्का सेयर सदस्य नुर्वु शेर्पाको दाबी छ ।

शेर्पाका अनुसार जिरी टीको माग बढेपनि मागअनुसार चिया उत्पादन गर्न सकिएको छैन । ‘माग धान्न कठिन छ, माग भएजति उत्पादन गर्न सकिएको छैन । जिरीको चियाको बजार अत्यन्त राम्रो छ’, शेर्पाले बताए ।

जिरीमा अन्य कुनै पनि सङ्घसंस्था वा व्यक्तिले उत्पादन गरेको चिया कम्पनीको मापदण्डअनुसार भए कम्पनीले खरिद गर्र्न सक्ने शेर्पाले बताएका छन् । चिया खेतीलाई कृषकले व्यावसायिक रुपमा गर्न सके यसको बजार राम्रो रहेकाले कुनै घाटा नहुने शेर्पाको धारणा छ । तर चिया खेती गर्दा विशुद्ध अर्गानिक हुनु जरुरी रहेको उनको भनाइ छ ।

हाल कम्पनीले चारजना स्थानीयवासीलाई रोजगार दिएको छ भने चियाको याममा करारमा स्थानीयवासीलाई कामदारका रुपमा प्रयोग गर्ने गरेको छ । जिरीको चिया जिरी बजारमा रहेका ठूला होटलले बढी प्रयोग गर्ने गरेका छन् भने राजधानीमा पनि यसको माग बढ्दै गएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.