Powered by Blogger.
मालीमा रहेको सहकारीले रेमिटेन्स सेवा दिँदा दोलखा र रामेछापका बासिन्दा हर्षीत

भक्त के.सी

जिरी, १४ बैशाख । दोलखा जिल्लाको जिरी नगरपालिका वडा नं. २ माली मा रहेको जनसहयोगी बचत तथा ऋण सहकारी संस्थाले गाउँ–गाउँबाट रेमिटेन्स सेवा सुरु गरेसँगै ग्रामीण क्षेत्रका सर्वसाधारणहरु प्रत्यक्ष लाभान्वित बनेका छन् । संस्थाको मुख्य कार्यालय मालीबाट तीन वर्ष अघि र जिरी बचत केन्द्रबाट दुई वर्ष अघिदेखि नै यो सेवा दिँदै आएकोमा अहिले संस्थाले यलुङ बचत संकलन केन्द्र र श्यामा बचत संकलन केन्द्रबाट पनि सेवा विस्तार गरेको छ ।

संस्थाले गाउँ गाउँबाट सेवा विस्तार गरेपछि माली र जिरीसम्म पैसा निकाल्न र पठाउन धाउनु पर्ने समस्याबाट सर्वसाधारणले मुक्ति पाएका छन् । नेपाल टेलिकमको वाइम्याक्स इन्टरनेटको प्रयोग गरी गाउँ गाउँबाट नै सेवाको विस्तार गरेको संस्थाका प्रवन्धक गणेशबहादुर खड्का ले जानकारी दिए । खड्काको अनुसार यो सेवालाई थप प्रभावकारी बनाउनका लागि सबै रेमिटेन्सका माध्यमहरु सञ्चालनमा ल्याउने संस्थाको भावी योजना रहेको छ । 

यो सेवाबाट विशेष गरी श्यामा गाविसका सर्वसाधारणहरु बढी लाभान्वित बनेका छन् । श्यामा जस्तो भौगोलिक विकटता भएको ठाउँमा रेमिटेन्स सेवा उपलब्ध हुँदा श्यामाबासी हर्षित बनेका छन् । श्यामा १, २, र ३ का सर्वसाधारणहरु झण्डै ५ घण्टाको पैदल  यात्रा गरी जिरीसम्म आएर रकम निकाल्ने तथा पठाउने समस्या झेल्दै आएकोमा अहिले गाउँबाटै आफन्तले पठाएको रकम लिन पाउँदा दंग छन् ।

श्यामा गाविसका अधिकांश युवाहरु बैदेशिक रोजगारमा रहेकोले रकम पठाउने भन्दा पनि रकम लिनेको चाप बढ्ने गरेको श्यामा बचत संकलन केन्द्रका प्रमुख नीरबहादुर कार्कीले बताए । कार्कीका अनुसार श्यामा गाविसका मात्र नभई छिमेकी जिल्ला रामेछापको चुचुरे गाविसका सर्वसाधारणहरु पनि पैसा लिन र पठाउनका लागि आउने गरेका छन् । 

अहिले जनसहयोगी साकोसले हिमाल रेमिट, ओइस्टर्न युनियन, आइएमइ, प्रभु मनी ट्रान्सफर, सम्सर मनि ट्रान्सफर, जीएमइको माध्यमबाट आएको रकम भुक्तानी गर्ने र यीमध्ये सेवाग्राहीले चाहेको माध्यमबाट रकम पठाउने गरेका छ । आप्mनो सहकारीका सदस्य तथा ग्रामीण क्षेत्रमा रहेका सर्वसाधारणको समस्यालाई ध्यानमा राख्दै संस्थाले सेवा विस्तार गरेको बताइएको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.