Powered by Blogger.
दोलखाको घुन्सामा पानीको अभाव, तीर्खा लागेपछी कक्षा छाडेर घरमा पुग्छन विद्यार्थी

चन्द्र खड्का 
जिरी १४ बैशाख । दोलखाको जिरी नगरपालिका वडा नं. ३ घुन्साको सेतीदेवी प्राथमिक विद्यालयमा पिउने पानीको अभाव हुँदा बैशाखको गर्मीमा विद्यार्थीहरुलाई पानीको प्यास मेटाउन कक्षा छाडेर घरमा जानु पर्ने अवस्था सृजना भएको छ ।

सुख्खा मौसम सुरु भएसँगै विद्यालयको धारामा पानी आउन छाडेपछि विद्यार्थीहरु पानी पिउनका लागि घरमै जाने गरेका हुन् । गाउँको एक मात्र विद्यालयमा कक्षा तीनसम्मको अध्ययन हुने गरेको छ । ३५ जना विद्यार्थीहरु मध्ये आधा भन्दा बढि दलित विद्यार्थीहरु रहेका छन् ।

पानीको ठूलो समस्या भोग्दै आएको यस विद्यालयमा धारा भए पनि विनासकारी भूकम्पपछि पानीको मुहान सुकेकोले अहिले विद्यार्थीहरु पिउनका लागि घरबाटै पानी लिएर आउने र पानी नल्याउने विद्यार्थीहरु घरमै जाने गरेको विद्यालयका प्रधानाध्यापक उर्मिला थापाले बताईन ।

थापाका अनुसार विद्यालय आसपासमा कुनै पानीको स्रोत नभएको र झण्डै दुई घण्टाको पैदल यात्रापछि पुगिने कुथामेको मुहानबाट पानीको व्यवस्थापन गरेको भए पनि हिउँद लागेसँगै पानीको मुहान सुकेपछि अहिले गाउँभरि पानीको हाहाकार छ । गाउँमा पानीको अभाव भएपछि स्थानीयहरुलाई पानी लिनका लागि तल्लो गाउँमा जानुपर्ने बाध्यता छ । भूकम्पअघि कुथामे मुहानबाट ल्याएको पानी विद्यालयको लागि प्रसस्त मात्रामा पुग्ने गरेको थियो ।

अहिले विद्यालयबाट पानी लिनको लागि १ घण्टा ओरालो झर्नु पर्ने बाध्यता छ । गाउँको नजिक रहेको विद्यालयमा विद्यार्थीहरु पानीको प्यास मेटाउन आ–आप्mनै घरमा जाने गरेका छन् । तल्लो गाउँमा रहेको पानीको मुहानसमेत सुक्दै गएको छ र यो मुहान पनि सुके घुन्साबासीका लागि पिउने पानीको विकल्पको रुपमा खिम्ती खोलाको पानी प्रयोग गर्नुपर्ने देखिन्छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.