Powered by Blogger.
विप्लव समुहद्वारा बस्नेतको नेतृत्वमा दोलखामा जनसरकार घोषणा

दोलखा, २६ माघ । 

नेकपा माओवादी विप्लव समूहले दोलखामा भूमिगत शैलीमा समानान्तर सरकार (जनसरकार) घोषणा गरेको छ । मोहन वैद्यसँग विभाजित भएपछि एक वर्षदेखि अर्धभूमिगत रुपमा गतिविधि सञ्चालन गर्दै आएको विप्लव माओवादीले चरिकोटमा भूमिगत रुपमा द्वन्द्वकालिन झल्को दिने गरि आयोजित कार्यक्रममा जनसरकार घोषणा गरेको छ ।

नेत्रबहादुर बस्नेत प्रमुख र शंकरमान थामी उपप्रमुख रहेको जनसरकार घोषणा गरेको नेकपा माओवादी दोलखाका सेक्रेटरी अर्जुन योगीले जानकारी दिए । जनसरकार २५ सदस्यीय घोषणा गरेको छ । त्यस्तै ७५ सदस्यीय जनपरिषद समेत घोषणा गरेको छ । जनपरिषद्को सभामुखको रुपमा दिपक केसी रहेको उनले बताए ।
जनसरकारले अब समानान्तर सरकारको रुपमा काम गर्ने बताइएको छ । माओवादी १० वर्षे द्वन्द्वकालमा झै वर्तमान जनसरकारमा पनि सरकारी तथा गैर सरकारी निकायले पूर्व स्वीकृत लिएर मात्र काम गर्नु पर्ने सेक्रेटरी योगीले बताए । जिल्लाभित्र सञ्चालित सरकारी तथा गैर सरकारी निकायको प्रगति विवरण जनसरकारलाई पनि बुझाउनु पर्ने उनले बताए ।

जनसरकारले लामो समयदेखि अलपत्र सडक, पुल, सिंचाइ जस्ता विकासे आयोजना चाँडो निर्माण गर्न निर्देशन जारी गर्ने र अटेर गरे कारबाही गर्ने पनि उनले बताए । जनसरकारले भुकम्प पीडितका लागि सहयोगका नाममा भएको दुरुपयोगको छानविन गरी कारबाही गर्ने समेत उनले बताए । उनले हरेक गाउँमा जनसरकार गठन गर्दै काम गर्ने बताए ।
  

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.