Powered by Blogger.
कुनै पनि हालतमा डाङ्डुगेमै चलचित्र नगरी बन्छः मन्त्री पोखरेल


काठमाडौँ, २१ पुस । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखाको लाँकुरीडाँडा गाविसको डाङ्डुगेमा कुनै पनि हालतमा चलचित्र नगरी बन्ने आश्वासन दिएका छन् । 

चलचित्र नगरी निर्माण सहयोग र दोलखाली पत्रकार समाजले संयुक्त रुपमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा मन्त्री पोखरेलले चलचित्र नगरीका निर्माणका लागि आवश्यक पूर्वाधारसमेत तय भइसकेकाले दोलखामै चलचित्र नगरी बन्ने जानकारी गराए । यो काम पुरा गर्न सरकारले दुई लेनको लगभग सात किमी सडक निर्माण गर्ने, बिजुली, खानेपानीको व्यवस्था गर्ने र गुरुयोजना निर्माण गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

गुरुयोजनाका लागि करिब दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । मन्त्री पोखरेलले दोलखामा ३१ वटा पर्यटकीय स्थल रहेको र चलचित्र नगरी बनेपछि अर्को गन्तव्य थपिने दावी गर्दै भने,‘चलचित्र नगरी बनेपछि दोलखामा बार्षिक तीन लाख पर्यटक लैजाने योजनामा छु । त्यसका लागि कुनै कसर बाँकी राख्दिन ।’

१२ वैशाखमा गएको भूकम्प र निरन्तर आइरहेको शक्तिशाली पराकम्पनका कारण दोलखामा निकै क्षतिपुगेको भन्दै दोलखामा भूकम्प स्मती पार्क निर्माण गर्ने योजना समेत मन्त्री पोखरेलले सार्वजनिक गरे । दोलखामा शाहसीक पर्यटकका साथै धार्मिक र सांस्कृतीक पर्यटकको सम्भावना प्रचुर मात्रामा रहेको भन्दै
शैलुङमा बुद्व र बुद्वको आमाको शालिक निर्माण गरेर हिन्दु, बुद्विष्ट पर्यटक भित्र्याउने आश्वासन समेत दिए । 

कार्यक्रममा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा सांसद पशुपति चौलागार्इंले सबै सामाजिक, भौतिक र जैविक पक्षको उपयोगिताको अध्ययन गरेर चलचित्र नगरी निर्माण गर्न सुरु गरिसकिएकाले दोलखामै चलचित्र नगरी बन्नेमा विश्वस्त हुन आग्रह गरे ।

सांसद पार्वत गुरुङले चलचित्र नगरी दोलखमा बन्ने पक्का भएकाले एकताबद्ध भएर त्यसको निर्माणमा लाग्नुपर्नेमा जोड दिए । कलाकार मदनदास श्रेष्ठले डाङ्डुगेमा चलचित्र नगरी निर्माणका चलचित्र विकास बोर्डले पनि रकम छुट्याउनुपर्ने माग गरे ।

चलचित्र नगरी निर्माणका लागि वातावरणीय दृष्टिकोणले पनि उपयुक्त देखिएको छ । चलचित्र नगरी निर्माण गर्ने जमिनको भूभाग ८० प्रतिशत खाली, बस्तीविहीन, ठुल्ठुला रुख नभएकाले रुख कटानीको क्षति पनि नहुने भएकाले सामाजिक, भौतिक र जैविक पक्षबाट अध्ययन गर्दा चलचित्र नगरीका लागि सो क्षेत्र उपयुक्त रहेको अध्ययनले देखाएको छ ।

कलाकारद्वय भुवन चन्द र लक्ष्मी गिरीले पनि बस्ती सार्न नपर्ने र पर्यटकीय क्षेत्र भएकाले सो क्षेत्र चलचित्र नगरीका लागि उपयुक्त रहेको बताए । चलचित्र निर्माणदेखि प्रदर्शनसम्मका सम्पूर्ण कार्य एकै ठाँउमा हुँदा चलचित्र निर्माणमा लगानी घटने सरोकारवालाहरुको भनाइ छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.