Powered by Blogger.
सरकार, १० हजार खोइ ?


दोलखा, २२ पुस ।
 
चित्रोले छाएको साँघुरो गोठ, बीचमा अँगेना, अँगेनामा धुवाउँदै गरेको उत्तिसका दुई मुढा । वरिपरि छन्, लापिलाङ–९ पाटागाउँका ८४ वर्षीय बमबहादुर बस्नेत र उनकी ८३ वर्षीया श्रीमती भीमकुमारी ।
पातलो रातो हुकमाथि मैलो स्टकोट र सुरुवालबाहेक शरीर ढाक्ने केही छैन बमबहादुरको । उनकी श्रीमती भीमकुमारीको हालत पनि उस्तै छ । बेलुका ओढ्न न सिरक छ न ओछ्याउन डस्ना नै ।

त्यसैले जाडो छेक्न दुवैका लागि अँगेनाकै भर छ । आँखासमेत देख्न छाडेका बस्नेतले भने, ‘घाम आउँदैन । लुगा छैन । चिसोले मुटु नै छेड्लाझैँ गर्छ । पहिला यस्तो जाडो भएजस्तो लाग्दैनथ्यो । यसपटक त सहनै नसकिने भयो । यही मुढा बालेर सास धान्दै छौँ ।’दुईवटा घर थिए बमबहादुरका । दुवै गत वैशाखमा गएको भूकम्पले भत्कायो । बारीको पाटामा चित्राले छाएको सानो गोठ छ । नौ महिनादेखि उनको वास त्यहीँ छ । फेरि उस्तै घर बनाउने चाहना छ उनको । तर, आर्थिक अवस्था कमजोर छ । ‘पहिलाकै जस्तो घर बनाउने चाहना छ । पैसा छैन । घर बनाउने सपना यो जुनीमा यत्तिकै होला अब,’ उनले भने ।

राहतस्वरूप सरकारले वितरण गरेको १५ हजार रुपैयाँ चामल खरिद गर्दैमा सकियो । न्यानो कपडा खरिदका लागि राहतस्वरूप सरकारले दिने भनेको १० हजार अहिलेसम्म उनको हात पर्न सकेको छैन । ‘जाडोले कठ्यांग्रियौँ । न्यानो कपडा किन्न पैसा छैन । १० हजार बाँड्ने हल्ला सुनियो । तर, अहिलेसम्म हात लागेन । दिए त जाडो छेक्न तातो कपडा किनिन्थ्यो,’ उनले भने ।

पाटागाउँकै ५५ वर्षीय इन्द्रबहादुर खत्रीले घर बनाउन जमिन खारिसकेका छन् । राहतस्वरूप बाँडिएको १५ हजार रुपैयाँ खर्च गरी उनले घर बनाउन जग्गा खारेका हुन् । अब उनी सरकारले दिने भनेको सहुलियत ऋणको पर्खाइमा छन् । ‘१५ हजारले जग्गा खारेँ । अब घर बनाउने सपना छ । पैसा छैन । सरकारले सहुलियतमा ऋण दिन्छ भन्ने सुनेको छु । पाइए त घर बनाउने थिएँ,’ उनले भने ।

न्यानो राहतस्वरूप सरकारले पछिल्लो चरणमा बाँडेको १० हजार उनले पनि पाएका छैनन् । ‘१० हजार पाएको छैन । पाए त न्यानो कपडा किन्थेँ । केटाकेटीको बिजोग छ । जाडोले थरथर कामेका छौँ । आगो तापेरै रात बित्ने गरेको छ,’ उनले भने ।

सोत्तरको ओछ्यानमा सानो बच्चा सुताउने प्रयासमा छिन्, लापिलाङ–७ वर्तापुकी ८० वर्षीया सेती थामी । ठिहीका कारण बच्चा सुत्न मानिरहेको छैन । उनका श्रीमान् ८० वर्षीय शेरे थामीले थोत्रो कम्बल झिके र सानो बच्चालाई बेरे । न्यानो भएपछि बच्चा निदायो । गाईगोठमा भेटिएका उनले भने, ‘भूकम्पले घर लग्यो । बस्ने ठाउँ छैन । गोठमा बसेको नौ महिना भयो । चिसो छ । कपडा छैन । यसपालि फेरि अति नै जाडो भयो । राति त के गर्ने र कसो गर्ने हुन्छ ।’

राहतस्वरूप सरकारले दिएको १५ हजारबाट उनले नुन–भुटुन किने । टहरो बनाउन जस्ता कसैले दिएनन् । पछिल्लो चरणमा दिने भनिएको १० हजार पनि उनले पाएका छैनन् । पाए न्यानो कपडा किन्ने उनको योजना छ । ‘१५ हजार नुन–भुटुन किन्दै सकियो । जस्ता कसैले दिएनन् । टहरो बनाउन पनि सकिएन । १० हजार दिने हल्ला सुनेको छु, तर पाएको छैन । पाए न्यानो कपडा किन्ने थिएँ,’ उनले भने ।

लापिलाङ–७ पिलिखेपाका ६१ वर्षीय दलबहादुर थामी वर्तापुमै भेटिए । सरकारले न्यानो राहतस्वरूप बाँडेको १० हजार रुपैयाँ उनले लगिसकेका रहेछन् । छिटै बजार गएर त्यो १० हजारबाट न्यानो कपडा किन्ने योजना उनले सुनाए । ‘घाम लाग्दैन । जाडोले मरिएलाझैँ भयो । भर्खर १० हजार पाएँ । अब ज्याकेट किन्छु । सन्तान धेरै छन् । १० हजारले सबैलाई पुग्दैन होला,’ उनले भने ।

भूकम्पले घर भत्कायो । नयाँ घर बनाउने पैसा छैन । नौ महिना बितिसकेको छ, उनले पनि गोठमै रात बिताएको । १५ हजार रुपैयाँ उनले पनि पाए । तर, बिरामी श्रीमतीको उपचार गर्दै सकियो । सँगै रहेकी श्रीमतीतर्फ संकेत गर्दै उनले भने, ‘१५ हजार पाएँ । यसको उपचार गर्दै सकियो । घर बनाउन सकिएन । गाईगोठमै वास छ । जाडोले रात बिताउनै मुस्किल पर्छ ।’ नयाँ  पत्रिका दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.