Powered by Blogger.
भूकम्पपीडित भन्छन्, ‘रात आगो तापेरै बित्छ, दिनभर घाम ताप्ने’

दोलखा, २० पुस ।

चित्रोले छाएको, चित्रैले बारेको साँघुरो टहरा । टहराभित्र एउटा पलङ, पातलो सिरक, केही मैला थाङ्ना । काटाकुटी–१ बोत्लाङमा तीन महिनाकी सुत्केरी २७ वर्षीया रेश्मा विकसँग जाडो छेक्न योभन्दा बढी केही छैन । तर, ठिही सहिनसक्नुको छ । उनलाई आफ्नोभन्दा बढी चिन्ता तीन महिनाको बच्चाको छ । आफूसँग भएका मैला थाङ्नाले गुटमुट्याएकी छिन् । तर, चिसोले बच्चाको रङ नै बदलिएको छ ।

अपांगता भएका श्रीमान्को समेत लालनपालनको जिम्मा उनकै काँधमा छ । खेतीपाती छैन, कमाइ गर्ने कोही छैनन् । सुत्केरी उनी बनिबुतो गरेर बिहान–बेलुकाको छाक टार्न बाध्य छिन् । सरकारले दिएको १५ हजार राहत रासन किन्दै सकिएको उनको भनाइ छ ।

सरकारले दिने न्यानो राहतस्वरूपको दश हजार रुपैयाँ अझै हात लागेको छैन । बच्चालाई काख फेर्दै रेश्माले भनिन्, ‘टहरा बनाउन कसैले जस्ता दिएनन् । १५ हजार रुपैयाँ खाँदै सकियो । जाडोमा लगाउने र ओढ्ने–ओछ्याउने केही छैन । रातभरि जाडोले लुगलुग काम्छौँ ।’ सरकारले जाडो छल्न दश हजार रुपैयाँ दिन्छ भन्ने सुने पनि अहिलेसम्म हात नपरेको उनले गुनासो पोखिन् । भनिन्, ‘पाए त न्यानो लुगा किन्ने थियौँ, कम्तीमा यो चिसोले त मर्ने थिएनौँ ।’

बोत्लाङका ६३ वर्षीय पूर्णबहादुर कामी परिवारको हालत पनि उस्तै छ । तुसारोले चरचरी फुटेका हात–खुट्टामा रगतका धर्का टाढैबाट देखिन्छन् । ‘राति ओढ्ने सिरक र ओछ्याउने डस्ना पनि छैन । आगो तापेरै रात काट्नुपर्ने बाध्यता छ ।’ पातलो कमिजमाथि च्यातिएको मैलो ज्याकेटमा भेटिएका पूर्णबहादुरले दाउरा चिर्दै गर्दा भने, ‘जाडोले लुगलुग कामिन्छ । आगो नबाली रात कटाउन सकिँदैन । दाउरा सकिए के गर्ने होला ? केही मेलो छैन ।’

न्यानो राहतस्वरूप सरकारले दिने भनेको दश हजार रुपैयाँ उनले पनि पाएका छैनन् । उनले भने, ‘पहिले पाएको १५ हजार रुपैयाँ खर्च गरेर सकियो । अब दश हजार दिने भन्ने सुनेको छु । तर, पाउने कहिले हो थाहा छैन । पाए त न्यानो कपडा किनेर जाडो कटाइन्थ्यो ।’

सेतै दारी फुलेका ७४ वर्षीय जितबहादुर विक जस्ताको टहरानजिकै खोक्दै गरेका भेटिए । भूकम्पले सुकुम्बासी बनाएको दुखेसो गर्ने उनलाई यसपटकको जाडो कसरी बिताउने भन्ने चिन्ताले सताएको छ । अघिल्ला वर्षभन्दा यसपटक चिसो बढेको सुनाउँदै उनले भने, ‘बिहान–बेलुका त टाउको नै फुट्लाजस्तो हुन्छ । ओढ्ने–ओछ्याउने पनि केही छैन । रात कटाउन गाह्रो छ । यसपटक जाडोले नै मरिन्छ कि जस्तो लाग्न थालेको छ ।’

लाकुरीडाँडा–९ हलहलेका भूकम्पपीडित बिहान घाम झुल्किन नपाउँदै टहराबाट बाहिर निस्किएर घाम ताप्छन् । ६७ वर्षीया प्यारीमाया तामाङले भनिन्, ‘दिउँसो त घाम तापेर बित्छ । तर, बिहान–बेलुका हातै झर्लाजस्तो हुन्छ ।’ काटाकुटी–१ बोत्लाङका भूकम्पपीडितजस्तै उनले पनि भनिन्, ‘लगाउने कपडा छैन, ओढ्ने–ओछ्याउने छैन । यसपालि त जाडोले नै मरिन्छ कि जस्तो लाग्छ ।’

हलहलेकै ९९ वर्षीय कुलबहादुर रुम्बा जाडो सुरु भएदेखि ओछ्यानबाट उठ्न सकेका छैनन् । मैलो थोत्रो ब्लांकेटमा गुटुमुटी परी ओछयानमै भेटिएका उनी बोल्नसमेत सक्दैनन् । छोरी साइनोकी ५० वर्षीया मिठु तामाङले भनिन्, ‘उठ्न सक्दैनन् । जाडो सुरु भएदेखि थलैमा छन् । सरकारले दश हजार दिन्छ भनेको सुनेका छौँ । पाएका छैनौँ । त्यो पैसा पाए ताता कपडा किनेर ओढाउने थियौँ ।’

सरकारले राहतस्वरूप दिने भनिएको १५ हजार रुपैयाँ नपाएपछि जिल्ला विकास समिति दोलखामा पीडितले धर्ना दिएका छन् । बोँच गाविसबाट आएका दुईभन्दा धेरै पीडितले आइतबार दिनभर कार्यालयमा धर्ना दिएका हुन् ।

भूकम्पपीडित परिचयपत्र पाएकाले समेत राहत रकम नपाएपछि धर्ना बस्न आएको पीडित हेमबहादुर तामाङले बताए । उनले भने, ‘भूकम्प गएको नौ महिना बितिसक्यो । तर, अझै राहत पाएका छैनौँ । परिचयपत्र दिने वेला राहतस्वरूप पाइने १५ हजार रुपैयाँ गाउँमै आउँछ भन्थे । तर, अझै पाएनौँ ।’ उनका अनुसार बोँच गाविसमा मात्रै दुई सय ८० जनाले राहतस्वरूपको १५ हजार पाएका छैनन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार राहत रकम अपुग भएकाले दिन नसकिएको हो । जिल्लामा अझै १४ करोड ७७ लाख ५० हजार रुपैयाँ अपुग रहेको प्रशासनले जानकारी दियो । सहायक जिल्ला प्रमुख ओलाखबहादुर आलेका अनुसार आवश्यक रकम गृह मन्त्रालयसँग माग गरिएको छ । तर, निकासा भएको छैन । उनले भने, ‘रकम अपुग भएकाले सबैलाई बाँड्न सकिएन । गृहमा माग गरिए पनि निकासा भएको छैन ।’

जिल्लामा ८४ हजार आठ सय ४८ घर–परिवारलाई भूकम्पपीडित परिचयपत्र बाँडिएको छ । त्यसमध्ये नौ हजार आठ सय ५० पीडितलाई १५ हजारस्वरूपको राहत रकम पुग्दैन । न्यानो राहतस्वरूप बाँडिने भनिएको १० हजार रुपैयाँ पनि सबैलाई पुग्दैन।

सबैलाई बाँड्न ८५ करोड रुपैयाँ आवश्यक छ । तर, गृह मन्त्रालयले ६५ करोड रुपैयाँ मात्रै पठाएको छ । सहायक जिल्ला प्रमुख आलेले भने, ‘दश हजार रुपैयाँ पनि सबैलाई पुग्दैन । ६५ करोड आएको छ । बाँड्ने क्रम सुरु भइसकेको छ । तर, सबैलाई कसरी पुर्‍याउने भन्ने समस्या छ ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.