Powered by Blogger.
भूकम्पबाट बचियो, जाडोले मरिने भइयो सरकार !


दोलखा, १८ पुस ।

दिउँसो पनि घाम नलाग्ने सेपिलो गाउँमा जस्ताको सानो टहरो । प्वालैप्वाल देखिने दाउरा र काठका भित्ता । शीत चुहिँदै गरेको टहरोभित्र प्वालबाट चिसो सिरेटो छिरिरहेको छ । टहरोभित्र चिसोका कारण रोइरहेका छन् ६ महिने बालक । छेउमै आगो बालिरहेकी र रातको खानालाई तरकारी काटिरहेकी छन्, २६ वर्षीया संगीता सिवाकोटी ।

सुनखानी–४ को झमार्सी गाउँमा बस्ने प्रायः सिवाकोटी छन् । उत्तरतिर फर्केको घामै नलाग्ने यो गाउँमा ५२ घरधुरी छन्। गाउँका हरेक घर संगीताझैं पीडामा छन् । चिसोले कठ्यांग्रिइरहेका छन् । गाउँमा गौरीशंकर हिमालबाट सोझै चिसो सिरेटो आइरहन्छ । त्यसमाथि जस्ताको अस्थायी टहरो। शीत, तुषारो र सिरेटोले कठ्यांग्रिएका सिवाकोटी बस्तीका बासिन्दामाथि झनै पीडा थपिदियो बिहीबार परेको पानीले ।

गाउँमा न घाम आउँछ, न त सरकारले दिने भनेको न्यानो कपडा किन्ने पैसा नै,’ रोइरहेको छोरा कुशललाई आगोले तातो बनाइएको हातले सेकाउँदै संगीताले भनिन्, ‘यहाँ त जतिबेला पनि ठन्डी बोकेको गौरीशंकर हिमालको चिसो सिरेटो मात्र आउँछ । झन् आज त पानी झनै काल बनेर पो आयो ।’

उनका अनुसार ६ महिने छोरा चिसोका कारण एक साताअघि मात्र बिरामी परेका थिए । गाउँबाट एक घन्टा टाढा हिँडेर सिँगटीको मेडिकलमा उपचार गरेपछि छोरा निको भयो । ‘मेडिकलमा चिसोबाट जोगाउनु भनेको छ । यो टहरोमा जति गर्दा पनि चिसो रोकिँदैन’ उनले भनिन्, ‘घाम पनि नआउने अनि सरकार पनि नआउँदा हामीलाई त सरकार र घाम उस्तै लाग्न थालेको छ ।’ चिसो धान्ने पुराना घर लडेपछि अस्थायी टहरामा बस्दा दीर्घरोगी श्रीमानलाई पनि चिसोले सताउन थालेको उनले सुनाइन् ।

दिउँसै शीत पर्ने र जमिनबाट चिसो उम्रने समस्याका कारण गाउँका हरेक घरका सदस्य बिरामी परेको ३८ वर्षीय लेकबहादुर सिवाकोटीले बताए । उनकी ५ वर्षीया छोरी रश्मी पनि बिरामी परेकी छन् । लेकबहादुरले छोरीलाई सिँगटीकै मेडिकलमा उपचार गराएर फर्किएको जानकारी दिए ।

ुजाडोका समयमा पुरानो माटोको घरमा घाम नलागे पनि ओछ्यानमा शीत चुहिँदैनथ्यो, गौरीशंकरको चिसो स्याँठ छेक्थ्यो, उनले भने, ‘तर जस्ताले छाएको र काठले घेरिएको यो टहरोमा चिसोले कठ्यांग्रिएर कतिबेला मरिन्छ भन्ने डर मात्र भयो ।’ उनका अनुसार गाउँमा बिहान साढे नौ बजेतिर मधुरो घाम देखिन्छ । त्यही मधुरो घाम पनि १२ नबज्दै फेरि हराउँछ । साढे दुई घन्टा देखिने मधुरो घामले शीत र तुषारो पनि सुकाउन सक्दैन ।

गाउँमा आउने घामलाई सित्का र स्याली डाँडाले छेक्ने गरेको गोमा सिवाकोटीले बताइन् । उनका अनुसार चौबीसै घन्टा शीत पर्ने गाउँमा स्थानीयले आगो ताप्नसमेत पाएका छैनन् । ‘दाउरा बालेर ताप्न नि पाएनौं,’ पछ्यौरीको सप्को तान्दै उनले भनिन्, ‘वन समितिले दाउरा काट्न दिएको छैन। भएका दाउराले खाना पकाउन पनि नपुग्ने भयो ।’

घाम नलाग्ने र दाउरासमेत बालेर ताप्ने अवस्था नभएपछि गाउँमा बिरामीको संख्या दैनिक बढिरहेको ४० वर्षीय फाँटराज सिवाकोटी बताउँछन् । उनका अनुसार चिसोले गाउँमा बालबालिका र बुढाबुढी गरी दैनिक ३० जना अस्पतालबाट आउजाउ गर्न थालिसकेका छन् । ‘कोही उपचारका लागि जाने त कोही फर्कने क्रम बढिरहेको छ,’ उनले भने, ‘यस्तो गम्भीर अवस्था आउँदा पनि सरकारले गाउँमा न न्यानोका लागि पैसा दिन सकेको छ न त अन्य सहयोग ।’ उनले गाउँमा खानेकुराको समेत अभाव सुरु भइसकेको बताए । भूकम्पले सिँचाइ गर्ने कुलो भत्काइदिएपछि गाउँलेले यो वर्ष खेतीपाती लगाएका छैनन् ।

बिहीबार दिउँसै आकाश धुम्म हुँदा माख्लो गाविस सुन्द्रावतीका भूकम्प पीडितको होसहवास उडिसकेको थियो । नभन्दै साँझ पानी दर्कियो । थुम्का गाउँका ५७ वर्षीया रामबहादुर सार्की कक्रिइहाले । प्यारालाइसिसकी रोगी उनकी ५४ वर्षीया श्रीमती प्रेमकुमारी र टाउकोकी बिरामी छोरी रञ्जु टहरोभित्र मन्डी ओडेर एकैठाउँ गुट्मुटिए । घरमूली रामबहादुरलाई कम्ती आपत परेको होइन । बेलुकी खानाको जोहो गर्नै लाग्दा झरी थामिएपछि एक अँगालो दाउरा आँगनमा सल्काएर शरीर सेकाउँदै उनले भने, ‘आजको रात सुत्न सकिन्न जस्तो छ ।’

आगोमा शरीर सेकाउन उनले बिरामी श्रीमती र छोरीलाई पनि डाके। २७ वर्षीया छोरी रन्जु लुगलुग काँप्दै बाहिर आइन् । उनकी आमा प्रेमकुमारी ओछ्यानबाट उठ्नै सकिनन् । ‘अलिअलि हिँड्ली भनेको त ठन्डीले जहानलाई झन् पो कक्राउने भयो,’ टुसुक्क भुइँमा बसेर आगो तापिरहेका रामबहादुरले पुर्पुरोमा हात राख्दै सुस्केरा छोडे ।

पाँच वर्षदेखि मुटुका बिरामी उनी ठन्डीले भेटेपछि बिहान झुल्केघाम नउँदाएसम्म उठ्न सक्दैनन् । श्रीमती प्रेमकुमारीलाई भूकम्पपछि प्यारालाइसिस देखियो । ओखतीमुलो गरे पनि लेकमा बढ्दो चिसोले उनको समस्या बीसको उन्नाइस भएको होइन । कक्षा नौ पढ्दा लडेर पछि लामो समयदेखि टाउकोको समस्यासँग संघर्ष गरिरहेकी रञ्जुको घुँडा सुन्निन थालेको रामबहादुर सुनाउँछन् ।

‘ठिही खेप्न नसकेर गाउँका दुई बुढा नआउने बाटो गइसके,’ चिसोले निम्त्याएको गाउँको अवस्था सुनाउँदै उनी त्रसित देखिए । गाउँमा चिसोले धेरै बालबालिका र वृद्धवृद्धा ओछ्यान परेको उनी बताउँछन् । उनका अनुसार बिहान आठ बजे सूर्य देखा परे पनि सिरेटो बोकेर आउने घामले शरीर तात्दैन । गाउँले बिहान र बेलुकी अबेलासम्म आगो ताप्छन् ।

गौरीशंकर हिमालको चिसो सिरोटोले सिधै हान्ने झरीको कहर झन्डै ५ सय घरधुरीमा बाँडिएका सुन्द्रावतीका पिछडिएका थामी समुदायको अस्थायी टहरोसम्म फैलन कुनैबेर लागेन। तीन लालाबाला काखमा च्यापेर तल्लो गाउँका भीमबहादुर–कमला थामी दम्पती एकैठाउँ गुजुल्टिएर टहरोभित्र अँगेनीमा आगो ताप्न थाल्छन् । सिरेटोले आगो राम्ररी बल्ल दिएको छैन, कठ्यांग्रिएका अनिता १००, अस्मिता ७० र अंगिता ४० अँगेनीमै घुसौंलाझैं गर्दैछन् । ‘जाडोले सुत्न नसकेर केटाकेटी रातभरि रुवाबासी गर्थे । आजको रात झन् बिथोलिने भयो,’ ३२ वर्षीय भीमबहादुरले भने, ुदैव पनि निष्ठुरी हुन थाले ।’

भूकम्पले घर ढालेपछि यो थामी परिवार चरिकोट–सिँगटी खण्डको सडकछेउमै जस्ताको टहरो बनाई बसिरहेको छ । राहतमा मन्डी र सिरक पाएका भीमबहादुरले चिसो छल्न मजदुरी गरेर आफ्नै खर्चमा थप सिरकडस्ना किनेका थिए । छ्याप्पै शीतले भिज्ने मन्डी, सिरक तात्नै पाउँदैन । ‘तिनटा ओड्ने खाप्दा पनि जाडो भाग्दैन, हातको तातोले अनुहार सेकाउँदै उनले दुःखेसो पोखे, ‘टहरोमा नबाँचिने पक्का भयो ।’

सपरिवार आगोमा तात्न खोजिरहँदा अर्को कोठामा कोक्रोभित्र गुटुमुटु पारेर सुताइएका उनीहरुका नौमहिने काखे छोरा नीलकुमार निद्राबाट ब्यूझे, च्याँच्याँ गर्दै । ‘अब यो (छोरो) पनि ननिदाउने भयो,ु मोबाइलको उज्यालोमा कमला छोरा भएतिर दगुरिन् । न्यानो लुगा किन्न सरकारले पठाएको १० हजार रुपैयाँ अहिलेसम्म यो परिवारको हातमा परेको छैन । त्यो रकम पाए केटाकेटीलाई न्यानो बनाउने थामी परिवारको रहर छ ।

भीमबहादुर–कमलाका अनुसार सुन्द्रावती–६, ७, ८ र ९ चार वडामा पिछडिएका थामी समुदाय छन् । उनीहरु सबैलाई चिसोले नराम्ररी गाँजेको छ । उब्जनीले तीन महिनाभन्दा बढी महिना खान नपुग्ने यो समुदायलाई चिसो भयो भनेर घाम, आगो ताप्ने फुर्सद छैन । बिहानबेलुकीको जोहो गर्न मजदुरीमा नगई हुँदैन । राहतको चामल सकिएपछि उनीहरुले मजदुरी गरेरै दसैंतिहार मनाए । भीमबहादुरका अनुसार न्यानो लुगा किन्ने १० हजार त के अस्थायी आवास बनाउन यसअघि सरकारले पठाएको १५ हजार रुपैयाँ अनुदान नै सुन्द्रावती–१,२ र ३ का धेरैले पाएका छैनन् ।

भूकम्पबाट दोस्रो बढी क्षति बेहोरेको हिमाली जिल्ला दोलखामा अचाक्ली चिसो छ । सदरमुकाम चरिकोटबाट उत्तरका २१ लेकाली तथा उच्च हिमाली गाविसमा ठन्डीको कुरा गरीसाध्य छैन । अधिकांश बस्तीमा खुलेर घाम लाग्न छाडेको धेरै भइसकेको छ । बिहान परेको शीत सुक्दैन, बरु थपिँदै जमेर बरफ बन्न थालेको छ। तामाङ लगायत जनजाति समुदाय बाहुल्य यस क्षेत्र सरकार र संघसंस्थाको नजरमा पर्न सकेको छैन । भूकम्प पीडित टहरोमा दिनप्रतिदिन कठ्यांग्रिदै जाँदा बिरामी पर्न थालेका छन् । गाउँको गाउँ बिरामी छन् । केटाकेटी र बुढाबुढी सबैभन्दा बढी प्रताडित छन् ।

सडक पुग्ने क्षमावती, सुन्द्रावती, सुनखानी, लामीडाँडा, लादुक र यस क्षेत्रको मुख्य व्यापारिक केन्द्र सिंगटी बजार आसवासका गाविसमा मात्र जस्ताको टहरो देख्न सकिन्छ । हेर्दा राम्रो देखिने जस्ताको टहरोभित्र छ्याप्प शीत पर्छ, भुइँबाट चिसो उम्रन्छ । सिन्धुपाल्चोकसँग र तिब्बतसँग सीमा जोडिएका बिगु, आलम्पु, लाप्ची लगायत उच्च लेकाली भेगमा अहिलेसम्म जस्ता पुग्न सकेको छैन। सिँगटीस्थित कालीनाग उच्च माविका प्रधानाध्यापक दाताराम नेपालका अनुसार उक्त भेगका भूकम्प पीडित स्याउला, फरी, दाउरा, त्रिपालको टहरोमा आश्रित छन् । चिसो छल्न उनीहरु रातभर आगोको धुनी जगाउँछन् ।

‘बाटोघाटो अप्ठेरो भएकाले त्यहाँ जस्ता पुर्याथउन असम्भव जस्तै छ,’ २० वर्षदेखि यहाँ कार्यरत शिक्षक नेपालले भने, मन्डी, ब्लांकेट लगायत अन्य राहतका सामन पनि पुग्न सकेका छैनन् । सडकबाटो नपुगेका लेकाली क्षेत्रका बासिन्दा उपेक्षित छन् । चिसोबाट जोगिन सरकारले पठाएको रकम उनीहरुले पाउन सकेका छैनन् । रकम वितरणमा पहिलो प्राथमिकता चिसोले बढी सताइएको उत्तरी बस्तीबाट थाल्ने भनिए पनि अझै सचिव गाउँ गएका छैनन् । हिमपात हुने र उच्च लेकका बस्तीका बासिन्दा ठन्डीले काँपिरहँदा केही गाविसका सचिव भने सदरमुकाम चरिकोटमा युनिसेफद्वारा सञ्चालित तालिममा मस्त छन् । जसका कारण न्यानो कपडा किन्ने आसमा रहेका उत्तरी भेगका भूकम्प पीडित शीत चुहिने टहरोमा गुजुल्टिएर बस्न बाध्य छन् ।

यस्तै, केही सचिव भने राजनीतिक दलबीच भागवन्डाको कुरा नमिल्दा गाउँमा पैसा लिएर जान नसकिएको बताइरहेका छन् । जिल्लाका उच्च स्थानका क्षेत्रबाट न्यानो राहत वितरण थाल्ने प्रस्ताव राजनीतिक दलबीचको भागवन्डाले जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकमै सीमित भएको बताइएको छ । गाविसको १ वा ९ नं. वडाबाट मात्र रकम बाँड्नुपर्ने दलीय अडान छ । सरकारले अपूरो रकम पठाएकाले सबै निकास गाविस पठाउन नसकिएको उद्धार समितिले जनाएको छ । विवादकै कारण हिमपात पर्ने क्षेत्र लामाबगरका २ सय ५६ परिवार अझै १० हजार रुपैयाँ पाउनबाट बञ्चित छन् भने अन्य गाविसका बासिन्दा रकम आउने आसमा टहरोमा कठ्यांग्रिइरहेका छन् ।

दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने गाउँमा जानुपर्ने सचिव सदरमुकाममा तालिममा बसेको स्विकार्दै बन्द गरेर काममा जान निर्देशन दिएको बताउँछन् । निर्देशनपछि सचिव गाउँ हिँडिसकेका छन् । छिटो रकम पीडितको हातमा पार्ने कामलाई तीव्रता दिन्छौं, उनले भने । उनका अनुसार गृह मन्त्रालयले पूरा रकम नपठाएकाले पनि वितरणमा अन्योल उत्पन्न भएको हो ।

भूकम्प पीडित परिचयपत्र बनाउने संख्याका आधारमा दोलखामा १० हजार पाउने झन्डै ८५ हजार घरपरिवार छन् । यसका लागि ८५ करोड रुपैयाँ चाहिन्छ । गृहले दुई पटक गरेर ६५ करोड रुपैयाँ मात्र निकासा पठाएको प्रजिअ लामिछाने बताए । २० करोड रुपैयाँ अपुग छ । निकासाका लागि गृहलाई ताकेता गरिरहेका छौं, उनले भने । नागरिक दैनिकबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.