Powered by Blogger.
राहतले किरिया गर्दै दोलखाका भूकम्पपीडित


दोलखा, १६ पुस ।
 भूकम्पपीडितका नाममा १५ हजार रुपैयाँ त आयो, थैलीमा राखें, ओड्ने–ओछ्याउने किनेनौं ।  १५ हजारले छोराछोरीलाई पढाइखर्च गर्ने पतिपत्नीले निर्णय गर्‍यौं । अरूले दिएकै भरमा चिसो काटौंला भनेका थियौं तर चिसोले पतिलाई लग्यो । अहिले त्यही पैसाले पतिको काजकिरिया गर्दैछु ।

केही दिनअघि चिसोबाट कठ्यांग्रिएर मृत्यु भएका दोलखा नाम्दु ३ का केशव घिमिरेकी पत्नी निता घिमिरेले यसो भनिरहँदा आँखा ओभाना थिएनन् । विनाशकारी भूकम्पले घर भत्काएर बेहाल भएको निताको परिवार अहिले थप पीडामा छ । पतिको मृत्यु भयो, घरको आर्थिक अवस्था कमजोर छ, सासूससुरा वृद्धवृद्धा छन्, छोराछोरी सानै ।

अब कसरी गरिखाने भन्ने चिन्तामा आफू छटपटिएको निताले बताइन्।भूकम्पले घर भत्काएर घाइते भएका केशव त्रिपाल र चित्राको अस्थायी टहरोमा थलिएर बस्दै आएका थिए । टहरोमा चिसोका कारण गाला सुन्निने, जिउ दुख्नेलगायतका समस्याले ग्रस्त भएका उनले चिसोकै कारण ज्यान गुमाउनुपर्‍यो । अहिले उनका १० वर्षे छोरा सरोज र पत्नी निता काजकिरिया गर्न कोरा बारेर बसेका छन् ।

केशवका बुबा ८४ वर्षीय महेश्वर घिमिरेले छोराको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएका बेला एक्कासि बढेको चिसो काल बनेको बताए । सरकारले तत्काल घर बनाउन बाटो खुलाइदिएको भए मेरो बिरामी छोरालाई न्यानो बनाएर राख्थें । सरकारले हाम्रो गुहार नसुनेकै कारण मेरो छोराले छोडेर गयो,महेश्वरले भने, ‘मेकीसँग न्यानो कपडा मागेर लाउन र ओड्न दियौं तर बचाउन सकिएन ।’

सामुदायिक वनका हेरालु रहेका महेश्वरले मासिक दुई हजार रुपैयाँ पारि श्रमिक पाउँछन् । त्यसैबाट उनले सातजनाको परिवारको गुजारा गर्नुपर्ने बाध्यता छ । केशवकी ८० वर्षीया आमा नरमायाले भनिन्, त्यही छोराको भरमा हातमुख जोड्दै आएका थियौं । अब त्यो बाटो पनि टुट्यो, हाम्रो बिचल्ली हुने भयो ।

छिमेकी सोमप्रसाद घिमिरेले केशवको परिवार गाउँकै गरिब भएको र भूकम्पले घर भत्काएपछि टहरामा बस्दै आएको बताए । उनले भने, ‘उनीहरूसँग न्यानो कपडा नभएकाले छिमेकी मिलेर केही ओड्ने र लगाउने कपडा दिएका थियौं तर त्यतिले मात्र थेग्न सकेन ।’आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले केशवकी पत्नी निता राजधानीमा बसेर अरूका घरमा भाँडा माझेर घरव्यवहार चलाउँदै आएकी थिइन् । उनकी जेठी छोरी १४ वर्षीया सन्तोषी पनि राजधानीमै अरूका घरमा काम गर्दै पढ्दैछिन् ।

माइली छोरी ११ वर्षीया सली मामाघरमा बसेकी छन् भने १० वर्षीय छोरा सरोज र आठ वर्षीया छोरी सबिना गाउँकै विद्यालयमा पढ्दै आएका छन् । केशवसँगै दोलखामा चिसोका कारण मृत्यु हुनेको संख्या १४ पुगेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.