Powered by Blogger.
चिसोले दोलखामा २४ भूकम्पपीडितको मृत्यु



दोलखा, १६ पुस । 
 अत्यधिक चिसोका कारण कठ्यांग्रिएर दोलखाका १५ गाविसमा १३ महिलासहित २४ जना भूकम्पपीडितको मृत्यु भएको छ । मंसिरको दोस्रो सातायता बढेको चिसोका कारण धेरैको ज्यान गएको हो ।

मृत्यु हुने अधिकांश वृद्धवृद्धा छन् भने केही युवाको मृत्यु भएको छ । उनीहरूमध्ये ३० वर्षमुनिका दुईजना छन् भने बाँकी सबै ५० वर्षभन्दा माथिको उमेर समूहका छन् । उनीहरू सबै भूकम्पले घर भत्किएपछि जस्ताको टहरामा बस्दै आएका थिए । दीर्घरोगी, दमलगायत श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी तथा चिसोका कारण ज्वरो, रुघाखोकी र निमोनियाका धेरै बिरामीको ज्यान गएको हो ।

सुन्द्रावती गाविसमा चार, फस्कु, मागापौवा र सुनखानीमा तीन–तीन, खोपाचागु, झुले, भुसाफेदा र बाबरेमा दुई–दुई तथा ताम्चेत दूधपोखरी, हावा र लाकुरीडाँडा गााविसमा एक–एकजनाको मृत्यु भएको छ । हाँवा र ताम्चेत दूधपोखरी गाविसमा बुधबार थप दुई भूकम्पपीडित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हावा–७ की ६९ वर्षीया मिश्रिमाया फुँयाल र ताम्चेत दूधपोखरी–२ की ६० वर्षीया देवाडोल्मा तामाङ छन् ।

मृतक फुँयाल दमको रोगी भएको र तामाङको एक्कासि टाउको दुखेपछि उल्टी भएर मृत्यु भएको स्थानीयले बताएका छन् । यस्तै, फस्कु–१ कि ५६ वर्षीया राधा बस्नेत, २ का ८१ वर्षीय कान्छा कटुवाल र सोही गाविस–८ कि ५६ वर्षीया धर्मकुमारी ढुंगेलको चिसोका कारण मृत्यु भएको छ । यस्तै, मंगलबार मागापौवा–५ का ८३ वर्षीय प्रेमबहादुर थापा, ८९ वर्षीया बुद्धिमाया तमाङ र ३० वर्षीय रमेश नेपालको मृत्यु भएको छ ।

यस्तै, जिल्लाको उत्तरी खोपाचागु गाविसमा दुईजनाको मृत्यु भएको छ । खोपाचागु–९ का २६ वर्षीय टपिन्द्र पाण्डे, खोपाचागु–८ का भविन्द्र बस्नेत, सुनखानी–८ की ५५ वर्षीया लक्ष्मी कार्की, २ का ६१ वर्षीय भीमबहादुर गनिका र ६ कि ९२ वर्षीया विष्णुमाया सिवाकोटीको पनि मृत्यु भएको छ ।

चिसोका कारण लाकुरीडाँडा–४ का ८२ वर्षीय खड्गबहादुर श्रेष्ठको मृत्यु भएको छ । सुन्द्रावती गाविसमा दुई महिलासहित चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर २ का ८६ वर्षीय दुर्गाप्रसाद सुवेदी, ४ कि ७३ वर्षीया आइतिमाया थामी, ७ का ६० वर्षीय वीरबहादुर थामी र ८ का ८३ वर्षीय बुद्धमान थामी छन् ।

उता, ताम्चेत दूधपोखरीबाट कमला मगरले दिएको जानकारीअनुसार त्यहाँ चिसोका कारण ९७ वर्षीय बाजवीर तामाङको मृत्यु भएको छ । यस्तै, बाबरे–३ कि ८० वर्षीया मसली विश्वकर्मा र बाबरे–८ का ८१ वर्षीय चन्द्रमाया तमाङको पनि चिसोका कारण ज्यान गएको छ । भुसाफेदामा पनि अत्यधिक चिसोका कारण २ जनाको मृत्यु भएको छ । भुसाफेदा–९ का ७८ वर्षीय साहिलाबहादुर श्रेष्ठ र ३ का ६६ वर्षीय पेमा लामाको मृत्यु भएको हो ।
चिसो अत्यधिक रहेको र भूकम्पपीडित न्यानोमा बस्न नपाएका कारण धेरैले ज्यान गुमाएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

भूकम्पपछि दोलखामा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सहिद परिवार समाजका जिल्ला संयोजक सुरज श्रेष्ठले चिसोमा न्यानो कपडा नहुँदा तथा जस्ताको टहरामा बस्दा धेरै वृद्धवृद्धाले ज्यान गुमाएको बताए ।
उनका अनुसार धेरै बालबालिका ज्वरो, रुघाखोकी र निमोनियाबाट ग्रस्त छन् । श्रेष्ठले जोखिममा रहेकाहरूको तत्काल रक्षा गर्न नसकिए थप व्यक्तिको मृत्यु हुन सक्ने बताए । चिसोका कारण मृत्यु हुनेमा दलित र विपन्न समुदायका ज्येष्ठ नागरिक बढी छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले भने मृत्युको कारण चिसो मात्र नभई दीर्घरोगी पनि रहेको स्पष्ट पारेको छ । स्वास्थ्य कार्यालयका प्रमुख डा। माधव लम्सालले मृत्युको कारणबारे जिल्ला स्वास्थ्य कार्यालयले अध्ययन गरिरहेको बताए । उनले समस्याग्रस्त क्षेत्रमा औषधिसहितको टोली पठाउने तयारी भइरहेको जानकारी दिए ।

अत्यधिक चिसोका कारण अस्थायी टहरामा बस्दै आएका भूकम्पपीडितहरूमा रुघाखोकी, ज्वरो, उच्च रक्तचाप, दम र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ भने साना बालबालिका निमोनियाबाट ग्रसित छन् । पछिल्ला दिनहरूमा सरकारी र निजी स्वास्थ्य संस्थामा यस्ता बिरामीको चाप बढेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.