Powered by Blogger.
माथिल्लो तामाकोसीको काम सुरु

चरीकोट, १८ मंसिर ।

१२ वैशाखमा गएको भूकम्पपछि अवरुद्ध भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम पुनः सुरु भएको छ ।

तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता गणेश न्यौपानेले भूकम्प गएको आठ महिनापछि बुधबारबाट काम सुरु भएको जानकारी दिए । दोलखाको लामाबगरमा निर्माण भइरहेको चार सय ५६ मेगावट क्षमताको यो आयोजनाको करिब ७३ प्रतिशत सम्पन्न भइसकेको छ ।

भूकम्पपछि आयोजनाको काम सुचारु गर्ने भनिए पनि भारतले गरेको अघोषित नाकाबन्दीले इन्धन नहुँदा काम रोकिएको थियो । आयोजनाले केही दिन अघि ऊर्जामन्त्रालयलाई इन्धन माग गरेको थियो ।

ऊर्जा मन्त्रालयको सिफारिसमा आयोजनाले बुधबार मात्र ६ हजार लिटर डिजेल प्राप्त गरेपछि काम थालिएको हो । बुधबार गोगरबाट लामाबगरसम्मको सडक मर्मतको काम थालिएको छ । अब पावर हाउसलगायतका अन्य काम पनि सुचारु हुनेछन् ।

२०७३ साल भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना भूकम्प र इन्धन अभावका कारण केही वर्ष पछाडि धकेलिएको छ । आयोजना बन्द हुँदा दैनिक करोडौ रुपैयाँ नोक्सानी भएको छ । अब आयोजनाको लागत पनि बढ्ने निश्चित भएको छ ।

आयोजनाको काम अवरुद्ध हुँदा सयौ मजदुर मर्कामा परेका छन् । आयोजनामा मजदुरी गर्दै आएका रामशरण केसीले सात महिनादेखि काम नहुँदा आफूहरूको जीविकोपार्जनमा समेत समस्या भएको बताए ।

आयोजनामा काम गरी परिवार पाल्दै आएका केसी वैकल्पिक काम समेत नपाएको र गाउँमै ज्यालामजदुरी गरेर परिवार पालिरहेको बताउँछन् । भूकम्पपछि ट्रान्समिसन लाइनको काम केही मात्रामा भए पनि सन्तोषजनक नभएको आयोजनाले जनाएको छ ।
स्रोत अन्नपूर्ण पोष्ट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.