Powered by Blogger.
चिसोले कठ्याङ्ग्रिएर दोलखामा पाँचको मृत्यु


दोलखा, १२ पुस ।


दिन प्रतिदिन बढ्दै गएको चिसोको कारण दोलखामा एक साताभित्र पाँचजना वृद्धवृद्धाको ज्यान गएको छ । भूकम्पबाट घरविहीन भई अस्थायी रुपमा टहरामा बस्दै आएका वृद्धवृद्धा चिसोकै कारण मृत्युको मुखमा पुगिरहेका छन् ।

चिसोका कारण दोलखाको दक्षिणी गाविस डाँडाखर्क–८ का ९५ वर्षीय धनराज तामाङ, झुले–७ का ८६ वर्षीय लालबहादुर कार्की, झुले–४ का ८३ वर्षीया जानुका कार्की, गैरीमुदी गाविसका ६८ वर्षीय लालबहादुर तामाङ र जफे–१ का ७९ वर्षीया भद्रकुमारी पोखरेलको मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

भूकम्पबाट घर भत्किएपछि अस्थायी टहरामा बस्दै आएका वृद्धवृद्धालाई चिसोको कारण बढी मात्रामा श्वासप्रश्वासको समस्या हुने र त्यही कारणबाट मृत्यु हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय दोलखामा भने केही जानकारी नभएको प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

प्रहरीलाई खवर गर्दा मुचुल्का उठाउने, शवपरीक्षण गर्न सदरमुकाममा नै शव ल्याउनुपर्नेजस्ता कारण देखाउँदै प्रशासनलाई जानकारी नगराएको डाँडाखर्कका स्थानीयवासी राजु लामाको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख माधवप्रसाद लम्सालले चिसोका कारण वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा समस्या सिर्जना भएको बताउँदै वृद्धवृद्धाको उमेर बढेसँगै मृत्युको कारण नै चिसो हुने गरेको बताए ।

 भूकम्पपछि जिल्लामा धेरै सङ्घसंस्थाले न्यानो कपडा वितरण गरेको भनिए पनि गाउँघरमा प्रभावकारी हुन सकेको छैन । सरकारले न्यानो कपडा खरिद गर्न भन्दै १० हजार रुपैयाँ दिने भनिए पनि पूरा रकम नआउँदा सबै गाविसमा बाँड्न कठिन भएको प्रशासनले जनाएको छ । जिल्लामा ८५ हजार भूकम्पपीडित परिचयपत्र बाँडिएपछि जिल्ला विकास समिति दोलखाले गृह मन्त्रालयलाई ८५ करोड रुपैयाँ माग गरेको भए पनि हाल ५० करोड रुपैयाँ मात्र निकासा भएको बताइएको छ । 
नेप्जिलबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.