Powered by Blogger.
यसकारण भरपर्दो विकल्प बन्न सक्छ लामाबगर नाका


दोलखा, ३ पुस ।

तिब्बतको टिंग्री सहरबाट सिन्धुपाल्चोकको तातोपानीभन्दा दोलखाको लामाबगर नाका आउन ७१ किलोमिटर नजिक छ । भूगोलको दृष्टिले पनि हाल सञ्चालनमा रहेका केरुङ र तातोपानीभन्दा यो नाकाको सडक बढी सुरक्षित देखिन्छ । भारतले नाकाबन्दी लगाएपछि सरकारले गत असोज अन्तिम साता उत्तरतर्फका सातवटै नाका खोल्ने निर्णय गरिसकेको छ, जसमध्ये लामाबगर नाका पनि एउटा हो ।

दोलखाका लप्चीबासी अहिले पनि तिब्बतको छुप्साङ बजारमा निर्भर छन् । लप्चीबाट अहिले २ देशको सीमाना पुग्न १ घन्टामात्रै लाग्छ । सीमानाबाट तिब्बतको बजार छुप्साङ पुग्न अर्को १ घन्टा लाग्छ । छुप्साङसम्म उताबाट गाडीसमेत चल्छ । नेपालतर्फ लामाबगरसम्म गाडी पुगेपछि त्यहाँबाट भीर र खोलाको कठिन बाटोका कारण लप्चीबासीको बजार पनि सबै छुप्साङ नै हो । चौंरीबाट उत्पादित घिउ, छुर्पी, स्योस्योलगायत वस्तुको बजार तिब्बत नै हो । खाद्यान्न र लत्ताकपडा पनि सबै तिब्बतीयन बजारको भर पर्नुपर्छ ।

लप्ची गाउँ लामाबगर गाविस–१ हो, जुन ठाउँको तिब्बत सीमानासम्म पुग्न लामाबगरबाट सडक विभागले गरेको सर्भेअनुसार जम्मा ३० किलोमिटरमात्र छ । यही सडक निर्माण हुँदा लप्चीगाउँ र तिब्बतीयन बौद्धमार्गीहरूको गन्तव्य छ्योरागेफेलिङ गुम्बा आवतजावत गर्नसमेत सहज हुन्छ ।

लामाबगरबाट तिब्बत जोड्ने छोटो नाका ङ्याङलुङ हो । लामाबगर गाविसका पूर्वअध्यक्ष रामे तामाङका अनुसार लामाबगर (माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँधस्थल) बाट ङ्याङलुङ पुग्न करिब १२ किलोमिटरमात्र दूरी छ । यो नाकाको नजिकको तिब्बतीयन बजार फलाक हो । तिब्बततिरबाट पनि ङ्याङलुङ नजिकसम्म सडक निर्माण भई गाडी सञ्चालन भइरहेको उनले बताए । अहिले लामाबगरमा छोटी भन्सार कार्यालय छ । लामाबगरमा सीमा प्रशासन, भन्सार, प्रहरीको संरचना पनि छ । नेपाली सेना र सशस्त्र प्रहरी बल पनि तामाकोसी आयोजना सुरक्षाका लागि खटिएका छन् । अहिले तिब्बततिर पहरा जंगलभीर पाखो छ ।

लामाबगरबाट करिब ४ किलोमिटर तिब्बततिर गएपछि जुमखोला पुगिन्छ । जुमखोला लप्चीबाट आउने र ङ्याङलुङबाट आउने संगमस्थल हो । जुमखोलाबाट लप्ची र फलाक जाने बाटो छुटिन्छ । लामाबगरदेखि जुमखोलासम्म नै सबैभन्दा कठिन भीर छ । गत वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पले लामाबगरदेखि तिब्बत सीमानासम्म एकादुई ठाउँमा गएको पहिरोबाहेक ठूलो क्षति नभएको लप्चीका स्थानीय कर्माहुसेन शेर्पाले बताए । अहिले स्थानीयले त्यो बाटो मर्मत गरेर हिँड्न थालिसकेको उनको भनाइ छ ।

गोंगरदेखि लामाबगरसम्म माथिल्लो तामाकोसीले बनाएको सडकमा मात्र क्षति भए पनि लामाबगरभन्दा माथिको भूगोल सुरक्षित रहेकोले यो नाका सुरक्षित हुने उनी दाबी गर्छन् । लामाबगर पुग्न सिंगटीदेखि २९ किमि डबल लेनको ग्रयाभेलिङ सडक सञ्चालनमा छ । सिंगटी–तामाकोसी ९नयाँपुल० १५ किमि ट्र्याक खोल्न बाँकी छ । तामाकोसी बजारबाट सिन्धुलीसम्म ५५ किमि कालोपत्रे सडक छ । अब करिब ३० किलोमिटरमा लप्चीसम्म १२ किलोमिटर माङ्याङलुङसम्म सडक विस्तार गर्न सके नाका जोडिनेछ । त्यसपछि सामग्रीहरू सजिलै यताउता गर्न सकिने देखिन्छ । नाका खोल्न सरकारले चालू आर्थिक वषर्मा ३ करोड रकम विनियोजन गरेको छ ।

हाल लामाबगरदेखि सदरमुकाम चरिकोटसम्म ६८ किलोमिटर सडक निर्माण भइसकेको छ । चरिकोटबाट अरनिको राजमार्ग हुँदै काठमाडौं पुग्न १३३ किलोमिटर कालोपत्रे सडकमा यातायात चालू छ । लामाबगर नाकाबाट तिब्बत जोड्न सरकारले यो वर्ष ९०० मिटर सुरुङ मार्ग निर्माण गर्ने भएको छ ।

माथिल्लो तामाकोसी बाँध प्रभावित क्षेत्रमा सुरुङ बनाउन आयोजनाकै पहलमा अन्तर्राष्ट्रिय परामर्शदातामार्फत २ वर्षअघि नै डिजाइनसमेत भइसकेको छ । लामाबगर लप्चीसम्म ३५० मेगावाट क्षमताका ३ वटा ठूला जलविद्युत् आयोजनाहरूसमेत अध्ययन र डिजाइन भइसकेका छन् । यी आयोजनाहरू पनि सडककै पर्खाइमा छन् ।
कारोबार दैनिकबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.