Powered by Blogger.
माइनस तीन डिग्री मौसममा टहरामा रात बिताउन बाध्य दोलखाली

दोलखा, ४ पुस ।

 १२ वैशाखमा गएको विनाशकारी भूकम्प र २९ गते गएको शक्तिशाली पराकम्पनका कारण घरबारविहीन भएर अस्थायी टहरामा बस्दै आएका दोलखाली चिसोको चपेटामा परेका छन् ।

भूकम्पले घरमा भएको लत्ताकपडा सबै पुरेपछि राहतमा आएको एकसरो लुगाबाट जीवन निर्वाह गरिरहेका दोलखाबासी चिसोको चपेटामा परेका हुन् । चिसो बढेपछि पीडित आगो तापेर रात काट्ने गरेका छन् ।


दोलखामा अत्यधिक चिसो बढेको छ । केही दिनअघिबाट दोलखाको तापक्रम शून्यबाट घटेर माइनसतर्फ लागेको छ । अहिले पनि माइनस तीन डिग्रीसम्म तापक्रम रहेको छ । यो वर्षको चिसो हालसम्मकै सबैभन्दा बढी भएको वृद्धवृद्धाहरूको भनाइ छ। दिउँसो केही समय घाम लाग्दा न्यानो भए पनि बाँकी समय चिसो हुने भएकाले यहाँका धेरै स्थानीय प्रभावित भएका छन् ।

चिसोका कारण धेरै मानिस बिरामी छन् । चिसोबाट बढी मात्रामा वृद्धवृद्धा, बालबालिका र अपांगता भएका व्यक्तिहरू प्रभावित छन् । भूकम्पले घर भत्किएपछि जस्ताको टहरामा बस्दै आएका स्थानीय चिसोका कारण समस्यामा परेका हुन् ।

दोलखा सदरमुकाम चरीकोटको भीमेश्वर नगरपालिका १० सिम्पानीमा अस्थायी टहरा निर्माण गरी बस्दै आएकी ज्ञानु शिवाकोटीको आजभोलि दैनिकी नै फेरिएको छ । दिनभर नजिकैको जंगलमा गएर दाउरा जम्मा गर्ने र राति त्यही दाउरा बालेर बालबच्चालाई चिसोबाट बचाउने पहिलो काम भएको ज्ञानुको बताउँछिन् ।

आफू बस्दै आएको कोठा भूकम्पले भत्काएपछि भाडामा जग्गा लिएर अस्थायी टहरा निर्माण गरेर बसेकी शिवाकोटी आफूहरूले कुनै पनि निकायबाट सहयोग प्राप्त नगरेको पनि बताइन् । पुरानो जस्ता जम्मा गरेर बनाएको टहराले राति पर्ने शीतसमेत थेग्न नसकेको उनी बताउँछिन् ।

राति शीत पर्न लागेपछि आगो बालेर रात बिताउने गरेको उनको भनाइ छ । पुरानो घर सुनखानी भएकी उनी गाउँमा भएको घर भत्किएकाले ६ जनाको परिवार सदरमुकाम चरीकोटमै बनीबुतो गरेर बस्ने गरेको बताउँछिन् ।

गाउँबाट ल्याएको भैंसीको दूध बेच्दा जीविकोपार्जनका लागि केही सहज भए पनि भैंसी थाकेपछि कसरी जीवन चलाउने हो भनेर चिन्तित भएको उनले बताइन् । भूकम्पपछि आफूलाई कुनै पनि संस्थाले सहयोग नगरेको उनको गुनासो छ ।

जस्ताको छानो र जस्ताले बारेको घरमा बसेकी मिर्गे १ की रमला तामाङ ढुंगाको घरभन्दा धेरै चिसो हुने भएकाले बालबच्चामा स्वास्थ्य समस्या देखिएको बताउँछिन । अत्यधिक चिसोका कारण बालबच्चालाई रात कटाउनै समस्या भएको उनको भनाइ छ ।

भूकम्पले घरमा भएको सबै कपडा पुरेपछि राहतमा आएको एकसरो लुगाको भरमा जीवन बिताइरहेको उनले बताइन् । मिर्गे १ कै हर्कमान पाख्रिनले पनि पहिलेको भन्दा यो बर्ष बढी चिसो बढेको बताए । वृद्धा आमालाई टहरामा जोगाउनै समस्या भएको उनको भनाइ थियो । सरकारले घरको डिजाइन र रकम नदिएकै कारण आफूहरू समस्यामा परेको उनले बताए ।

अझै बाँडिएन १५ हजार

चिसोबाट बच्न न्यानो कपडा खरिद गर्न भन्दै सरकारले दस हजार रुपैयाँ वितरण गर्ने तयारी गरिरहेको अवस्थामा दोलखाका सबै गाविसमा दोस्रो चरणको रकम १५ हजार नै वितरण भइसकेको छैन । गाविसबाट माग भएजति रकम उपलब्ध नभएकै कारण गाउँमा गएर १५ हजार वितरण गर्न नसकेको सुस्पाक्षमावतीका गाविस सचिव गोकर्ण खड्काले बताए ।


जिल्ला विकास समिति दोलखाले उपलब्ध गराएको तथ्यांकअनुसार जिल्लामा ५ हजार १ सय ५५ परिवारका लागि ७ करोड ७३ लाख ५० हजार रुपैयाँ अझै अपुग भएको छ ।  १२ वटा गाविस र २ वटा नगरपालिकाबाहेक ३६ वटा गाविसमा रकम वितरण हुन नसकेको जनाइएको छ।

हिटरको माग बढ्यो


दोलखामा पछिल्लोपटक अत्यधिक मात्रामा चिसो बढेपछि हिटरको व्यापार ह्वात्तै बढेको छ । दिनप्रतिदिन बढिरहेको चिसोबाट बच्नका लागि भन्दै हिटर किन्नेको संख्यामा वृद्धि भएको व्यवसायी सीताराम दाहालको भनाइ छ । कोठामा बस्नै नस्कने गरी चिसो बढेपछि हिटर खरिद गरेको स्थानीय भवेन्द्र कार्कीले बताए । उनले भारतीय नाकाबन्दी देखाउँदै १ हजार ५ सयमा पाइने हिटरलाई २ हजार ३ सय रुपैयाँ तिर्नुपरेको बताए ।
स्रोत :अन्नपूर्ण पोष्ट दैनिक ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.