Powered by Blogger.
११११ मा ग्यास माग्नेको ओइरो



काठमाडौँ, २० कात्तिक ।

 सरकारले जनताका गुनासा सुन्न सञ्चालनमा ल्याइएको हेलो सरकार कक्षमा ग्यास माग्दै सरकारलाई फोन गर्ने सर्वसाधारणको ओइरो लागेको छ । फोन गर्दा पैसा नलाग्ने टेलिफोन नम्बर ११११ मा सर्वसाधारणले दैनिकी कष्टकर बन्दै गएको गुनासो गर्दै आएका छन् । सरकारले भने जनताका गुनासालाई सम्बोधन गर्न सकेको छैन ।

दिनहुँ ग्यास, पेट्रोल चाहियो वा कहाँ पाइन्छ भनेर सोधिखोजी गर्दै टेलिफोन गर्ने सर्वसाधारणको संख्या बढेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । ‘अहिले हेलो सरकारमा गुनासो राख्ने अधिकांश सर्वसाधारणले ग्यास, पेट्रोल नपाएको भन्दै गुनासो गर्ने गरेका छन्,’ उनले भने, ‘सर्वसाधारणले आफूले लामो समयदेखि ग्यास नपाएकाले कहाँ पाइन्छ, सरकारले कहिले ग्यासको समस्या समाधान गर्छजस्ता जिज्ञासा राख्ने गरेका छन् ।’

जनताले ग्यास पाइहालिन्छ कि भन्ने आशमा हेलो सरकारमा गुनासो राख्ने गरे पनि अहिलेसम्म कुनै उपभोक्तालाई ग्यास उपलब्ध गराउन नसकेको उनले बताए । ग्यासको चरम अभाव भएका कारण कुन डिलरबाट ग्यास वितरण भइरहेको छ भन्नेसम्मको जानकारी पनि हेलो सरकार कक्षका कर्मचारीले टेलिफोन गर्ने सर्वसाधारणलाई जानकारी दिन सकेका छैनन् । तैपनि ग्यास, पेट्रोल पाइने आशामा हेलो सरकारमा जनताले आफ्ना गुनासा टिपाउन छाडेका छैनन् ।

१७ कात्तिक दिउँसो हेलो सरकार कक्षमा टेलिफोन गर्दै कीर्तिपुरमा बसेर ११ कक्षामा पढ्दै गरेका दृष्टिविहीन विद्यार्थी राज बिहारीले दाउरामा खाना पकाउन नसकेकाले धेरै दिनदेखि दालमोठ चिउरा खाएर बस्नुपरेको गुनासो गरे । उनले ग्यास कार्ड लिएको तर, राजधानी ब्रान्डको सिलिन्डर कहीँ साट्न नपाएकाले कीर्तिपुर क्षेत्रमा कहाँ ग्यास पाइन्छ भनेर सोधेका थिए । तर, उनलाई ग्यास पाइने स्थानबारे हेलो सरकार कक्षले जानकारी गराउन नसकेको जनाएको छ ।

हेलो सरकार कक्षले ग्यास, पेट्रोल नपाएको सर्वसाधारणको गुनासो वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई जानकारी गराउने उपसचिव उपाध्यायले बताए । कतिपय सर्वसाधारणले ग्यासको कालोबजारी भएको जानकारी दिएपछि अनुगमनका लागि खटाउने गरेको पनि उनले बताए ।

ग्यास नपाएर कष्टकर जीवन जिइरहेको भन्दै सर्वसाधारणले तारन्तार गुनासो गरेपछि नीतिगत तहमा भने प्रभाव परेको उनले बताए । ‘ग्यास पाइएन भनेर फोन गर्नेलाई हामीले कुन डिलरमा ग्यास पाइन्छ भन्नेसम्मको जानकारी दिन नसकेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.