Powered by Blogger.
लामाबगर सहित सात नाका खोल्न सहमति


काठमाडौँ, २० कात्तिक ।

नेपाल र चीनबीच सातवटा भन्सार नाका खोल्ने सहमति भएको छ ।  काठमाडौंमा मंगलबार सुरु भएको नेपाल र चीनका अधिकारीबीचको वार्तामा संखुवासभाको किमाथाङ, मुस्ताङको कोरला, ताप्लेजुङको ओलाङ्चुङ्गोला, दोलखाको लामाबगर, गोरखाको लार्के, हुम्लाको यारिङ र मुगुको भन्सारनाका खोल्ने सहमति भएको हो ।

बिहीबार नेपालका तर्फबाट भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मी र चीनका तर्फबाट ल्हासा भन्सारका उपमहानिर्देशक लुन चेन वाङले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा तत्काल मुख्य व्यापारिक कारोबार हुने तातोपानी र केरुङ नाका पूर्ण सञ्चालनमा ल्याउने सहमति भएको छ ।

भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले अहिले सात नाकामा नेपाली भन्सार कार्यालय रहे पनि व्यावसायिक रूपमा नाका सञ्चालन नभएकाले अब ती स्थानमा व्यावसायिक रूपमा नाका सञ्चालन हुने बताए । सम्भावना अध्ययन गरेर चिनियाँ पक्षले व्यावसायिक रूपमा नाका सञ्चालनमा ल्याउँछ महानिर्देशक ढुंगानाले भने, ‘त्यससँगै नेपालले पनि ती स्थानमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिनेछ ।’

नेपाल र चीनबीच सिन्धुपाल्चोकको लार्चा र रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माण गर्न पनि सम्झौता भएको छ । चीनले नेपालमा भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिने सहमति पनि भएको छ ।

यस्तै चीनले नेपाल निर्यात हुने खाद्य तथा पेय वस्तुको लेबलमा उत्पादन मिति, उपभोग गर्न सकिने मिति, मि श्रण सामग्रीलगायत आवश्यकताको सूचना कम्तीमा नेपाली वा अंग्रेजी भाषामा दिने भएको छ । नेपाल र चीनबीच भन्सारनाकामा कार्यालय समय फरक रहेकाले यसलाई एकै समयमा गराउन पनि दुवै पक्ष सहमत भएका छन् ।

चीनले नेपाललगायत अन्य देशलाई दिँदै आएको शून्य भन्सार दरको सुविधा ८ अंकको भन्सार उपशीर्षक नम्बरमा रहेकोमा यो सुविधा नेपालले उपयोग गर्न नसकिरहेकाले ६ अंकको भन्सार उपशीर्षक कायम गर्न संयुक्त प्राविधिक टोलीबाट गृहकार्य गराउन नेपाली वार्ताटोलीले प्रस्ताव गरेको छ ।

सुरुमा नेपालले समस्याका क्षेत्र पहिचान गरी पत्राचार गर्न र त्यसका आधारमा संयुक्त प्राविधिक टोलीबाट गृहकार्य गराउन चिनियाँ वार्ताटोली सहमत भएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.