Powered by Blogger.
दोलखामा भूकम्प प्रतिरोधी प्लाइउड घर

दोलखा, १२ मंसिर ।

दोलखामा नेपालकै पहिलो जापानी प्रविधिको भूकम्प प्रतिरोधी प्लाइउड घर तयार भएको छ । भुकम्पले घर भत्काएर बिचल्लीमा परेकाहरुलाई जापानको एक विश्वविद्यालयले सदरमुकाम चरीकोटमा नमुना घर निर्माण गरिदिएको हो । अहिले यो घर हेर्नेको भींड बढेको छ ।

जापानको कियो विश्वविद्यालयले विकास गरेको नयाँ प्रविधि अनुसार नेपालमै पहिलो पटक दोलखामा प्लाइउड घर निर्माण भएको हो । नव निर्मित एकतले घरमा दोलखामा प्लाइ उद्योगबाट उत्पादित प्लाइउड र स्थानीयस्तरमा उपलव्ध काठहरु प्रयोग गरिएको छ ।

कियो विश्वविद्यालयका प्राध्यापक हिरोतो कोबियासीले प्लाइउड र काठ प्रयोग गरेर बनाइने भूकम्प प्रतिरोधी प्लाइउड घर भूकम्प पीडितहरुलाई उपयोगी हुने बताए ।  कम तौल र लचकदार संरचना हुने भएकाले प्लाइउड घर भूकम्प प्रतिरोधी र सुरक्षित हुने उनको भनाइ छ ।

सदरमुकाम चरिकोटस्थित पाटी खोलानजिकै निर्माण गरिएको प्लाइउड घर निर्माणका लागि जापानको कियो विश्वविद्यालयका आर्किटेक्ट, स्ट्रक्चर ईन्जिनियरसहित १२ जना बढी विद्यार्थी र ६ जना नेपाली सिकर्मी सहभागी थिए ।

जापानमा सन् २०११ मा गएको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीले ठूलो धनजनको क्षति भएपछि कियो विश्वविद्यालयले सन् २०१२ मा स्थानीय सामाग्री प्रयोग गरेर कम लागतमै प्लाइउड घर बनाउन सकिने प्रविधि विकास गरेको थियो ।

त्यसलगत्तै विश्वविद्यालयले २०१३ मा म्यानमार र २०१४ मा फिलिपिन्समा नमूना प्लाइउड घर बनाएको थियो । भान्छासहित चार वटा कोठा र बैठक कक्ष भएाको दोलखामा निमिएत नमूना घर एक परिवारका लागि उपयुक्त हुनेछ ।

४० बर्ग मिटरमा बनेको नमूना घरको निर्माण एक महिना र लागत १३ लाख रुपैयाँ छ । कम तौल र लचकदार स्ररचना भएको प्लाइउड घर  गुणस्तरीय हुने बताइएको छ ।

नमूना घर जापानी प्रोफेसर कोबियासीको नेतृत्वमा बनेको प्लाइउड हाउसको प्रोजेक्ट मेनेजर अट्श्रु अवे र नेपालको तर्फबाट पत्रकार लक्ष्मण खड्काले नेतृत्व गरेका थिए ।

नवनिर्मीत घरको आइतबार दोलखाका निमित्त प्रमुख जिल्ला अधिकारी औलखवहादुर आले र जापानको कियो विश्वद्यिालयका प्राध्यापक हिरोतो कोबियासीले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।  स्रोत अन्नपूर्ण पोष्ट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.