Powered by Blogger.
भिडियो खिचेर कामदार ठग्दै म्यानपावर व्यवसायी



काठमाडौँ, ८ मंसिर । 
 

सरकारले २९ जेठको निर्णयअनुसार २१ साउनदेखि लागु भएको ‘फ्रि भिसा, ‘फ्रि टिकट’को निर्णयसँगै केही समय देखिने गरी रोकिएको ठगी पुन सुरु भएको छ । तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको पहलमा लागु भएको यो निर्णयका कारण म्यानपावर व्यवसायीलाई गरिब सोझा कामदार ठग्न निकै सजिलो भएको छ ।

सरकारले तत्कालीन अवस्थामा लागु गरेको निर्णयअनुसार फ्रि भिसा, फ्रि टिकटमा कामदारसँग सेवाशुल्क स्वरुप १० हजार रुपैयाँ मात्र लिने पाउने व्यवस्था छ । कम्पनीले सेवाशुल्क नदिएको खण्डमा भिसा प्रोसेस शुल्कसहित लगभग १८ हजार रुपैयाँ लाग्ने गर्छ । लामो समयदेखि कामदारसँग अकुत पैसा उठाउँदै आएका व्यवसायीले १० हजार रुपैयाँ मात्र उठाएपछि कामदारसँग पैसा दिन बहाना खोजिरहेका व्यवसायीले भिडियो खिचेर ठग्ने गरेको पीडित कामदारको भनाइ छ ।

म्यानपावर व्यवसायीले कामदारको माग ल्याउन फ्रि भिसा, फ्रि टिकट भने पनि म्यानपावर व्यवसायीले कामदारको माग ल्याउन कमिसन तिर्नु पर्ने भएकाले बढी शुल्क लिन बाध्य पारेको एक म्यानपावर व्यवसायीले नाम नबताउने शर्तमा बताए । यसअघि सरकारले खाडी देशमा जान २० हजार र मलेसियामा जान ८० हजार सिलिङ तोकेको थियो । फ्रि भिसा, टिकटको माग आए पनि व्यवसायीले सिलिङबराबरको पैसा असुली रहेको व्यवसायीकै भनाइ छ । 

फ्रि भिसा, फ्रि टिकटको मागमा पनि रकम असुल्ने बानी परेका व्यवसायीलाई १० हजार मात्र उठाउनु पर्ने अवस्था राज्यमन्त्री गुरुङले लागु गरेको निर्णयले बाध्य पारेको थियो । सरकारले सिलिङ तोके पनि मलेसियाका लागि दुई लाख २५ हजार र खाडी देशका लागि एक लाख २५ हजार रुपैयाँसमेत व्यवसायीले असुल्दै आएका थिए । 

वैदेशिक रोजगार व्यवसायी संघका एक अधिकारीले भने, ‘कामदारको माग कम आउने गरेको छ, जसका व्यवसायीले कमिसन तिर्नुपर्ने बाध्यता छ । त्यसकारण व्यवसायीले बढी शुल्क असुल्न बाध्य भएका हुन ।’ ती अधिकारीसँग भिडियो खिचेर व्यवसायले पैसा असुल्ने विषयमा जानकारी लिन खोज्दा आफूले त्यस्तो काम नगरेको र बजारमा त्यस्तो हल्ला सुनेको बताए । एक पीडितले नाम नबताउने शर्तमा भने, ‘स्वदेशमा रोजगारी छैन, सरकारले १० हजार रुपैयाँ मात्र लाग्ने भने पनि बढी पैसा म्यानपावरले लिने गरेका छन् ।’

उनले थपे,‘ म मलेसिया जान लाग्दा एउटा कोठामा लागेर ७० हजार लिए, पैसा लिएको रसिदलाई १० हजारको मात्र दिए । मैले पैसा बुझाएको दुई दिनपछि म्यानपावरको एजेन्टलाई मसँग त बढी पैसा लिनु भएछ नि भनेर सोधेको थिएँ ।’ जवाफ यस्तो आएको भन्दै उनले सुनाए, ‘तपाईंले जे गरे पनि हुन्छ, पैसा तिरेको १० हजारको रसिद तपाईंसँग रसिद छ, हामीले १० हजार मात्र लिएको हो भनेर तपाईंको भिडियो समेत चिखेका छौँ । अरुलाई भन्नुभयो भने पनि कमजोरी तपाईंकै छ । हामीसँग तपाईंसँग कुरा गरेको भिडियो नै छ ।’ 

यता, वैदेशिक रोजगार विभागका प्रवक्ता जनकराज रेग्मीले भने, ‘पछिल्लो समय विभागमा ठगीका उजुरी निकै नै आउने गरेका छन्, त्यसमा भिडियो कैद गरेर ठगेको पनि उजुरी आएको छ । कारबाही गर्न, प्रमाण छैन ।’ रेग्मीले थपे, ‘बिना प्रमाण कुन म्यानपावरलाई कारबाही गर्नु ।’ पछिल्लो समयमा इन्धन अभावका कारण विभागले अनुगमन गर्न नसकेका कारण ठगी बढेको उनले स्वीकारे । भने, ‘इन्धन सहज हुनासाथ हामी अनुगमनमा निस्कने छौँ ।’
 
अघोषित नाकाबन्दीका कारण बढी शुल्क बाध्यकारी

भारतले अघोषित नाकाबन्दीका कारण रोजगारीका लागि विदेश जाने कामदारको भिड म्यानपावरमा लाग्न थालेको छ । नाकाबन्दीका कारण देशमा सिर्जित समस्या र कामदारको गुजारा टार्न समस्या भएपछि अन्तिम विकल्प वैदेशिक रोजगारी हुने गरेको छ । म्यानपावर व्यवसायमा पछिल्लो समयमा आउने गरेको कम माग र कामदारको बढी भिडका कारण म्यानपावर व्यवसायीले कामदार ठग्ने मौका पाइरहेका छन् । कामदारको माग बढेका कारण बढी कमिसन नै तिरेर भए पनि म्यानपावर व्यवसायीले माग ल्याउनु परेको एक व्यवसायी बताउँछन् ।

ती व्यवसायीले भने, ‘फ्रि भिसा, फ्रि टिकट बहाना मात्र हो, कमिसन तिरेर माग ल्याउनेले ल्याइरहेका छन्, कामदार ठगिने क्रम पनि जारी नै छ । विभागले कहाँ अनुगमन गरेको छ थाहा छैन ।’ यता कामदार १० हजार मात्र तिरेर विदेश जान्छु भनेर स्वदेशमा बेकामी भएर बस्नु भन्दा बढी शुल्क तिरेर विदेश जानु राम्रो हुने बताउछन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.