Powered by Blogger.
अस्थायी टहरामा बस्दा भूकम्प पीडितलाई बिजुलीको समस्या

दोलखा,३० कात्तिक । 

दोलखाका भुकम्प प्रभावितहरुले पिडीतहरुले अस्थायी टहरामा बस्दा जोखिम मोल्दै अव्यवस्थित तरिकाले बत्ति बाल्नु परेको गुनासो गरेका छन् ।

विनाशकारी भुकम्प पश्चात अस्थायी टहरामा बस्दा अव्यवस्थित तरिकाले बत्ति बाल्दा निकै जोखीम उठाउनु परेको उनीहरुको गुनासो छ । अव्यवस्थित तरिकाले टाँगीएका तारबाट करेन्ट लाग्नुका साथै चट्याङ समेत लाग्ने त्रासमा आफुहरु बस्न बाध्य भएको उनीहरुले दुखेसो गरेका छन् ।

दोलखामा भरपर्दो विद्युत सेवाका लागी आवश्यक छलफल गर्न कालिन्चोक सामुदायीक एफएमले सदरमुकाम चरिकोटमा कार्यक्रम नागरिक बहसको आयोजना गरेको थियो । कार्यक्रममा सहभागी सुनखानी गाविसकी देबकी पाण्डेले गाउँमा अव्यवस्थित तरिकाले तार टाँगेर बत्ति बाल्नु पर्ने बाध्यता रहेको बताए ।

यसैगरी कार्यक्रमका अर्का सहभागी पवटि गाविसका केशव ओलीले गाउँ घरमा काठको पोल जिर्ण भएर ढल्ने अवस्थामा पुगेको बताए । यसलाई व्यवस्थित नबनाइए ठुलै क्षति बेहोर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरण वितरण शाखा चरिकोटका प्रमुख शेर बहादुर सुनारले दोलखामा जिर्ण अवस्थामा रहेका करिब ४ हजार पोल परिर्वतन गर्नुपर्ने बताए । कार्यक्रममा उहाँले असोज १७ गतेबाट नयाँ मिटर बक्स वितरण गर्न नसकेको र पुरानो मिटर बक्सलाई भने निवेदनको आधारमा निशुल्क साट्ने काम भइरहेको बताए ।

यसैगरी नागरिक समाज दोलखाका संयोजक एवम् पत्रकार चिरन्जीवी मास्केले दिपावलीमा उपभोक्ताले अन्धकारमा बस्नु पर्ने वातावरण नबनाउन आग्रह गरे । उनले हरेक क्षेत्रमा समस्या उब्जनु भन्दा अघि नै समाधानको उपाय खोज्नु पर्ने समेत बताए । भुकम्पका कारण दोलखाका अधिकाशंस घर भत्केपछि अहिले प्रभावितहरु अनेकौ समस्या झेल्दै अस्थायी टहरामा बस्दै आएका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.