Powered by Blogger.
विद्या भण्डारी विद्यार्थी आन्दोलनदेखि शितलनिवास सम्म

काठमाडौँ, ९ कात्तिक ।
नेकपा (एमाले) स्थायी कमिटीको उनन्तिसौं बैठकले उपाध्यक्ष विद्या भण्डारीलाई बुधबार हुने राष्ट्रपति निर्वाचनका लागि उमेद्वार बनाउने निर्णय गरेको छ । उपाध्यक्ष भण्डारी पार्टी उपाध्यक्ष एवम् व्यवस्थापिका–संसदका सदस्य माननीय विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष  केपी शर्मा ओलीको प्रस्ताव तथा बरिष्ठ नेताहरू  झलनाथ खनाल र माधवकुमार नेपालको समर्थनमा स्थायी कमिटीले सर्वसम्मतिले यो निर्णय गरेको हो । राष्ट्रपति पदमा  भण्डारीको विजयलाई सुनिश्चित गर्न पार्टीले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल एवम् स्वतन्त्र सांसदहरूलाई सहयोग र समर्थनका लागि अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यी हुन् भण्डारी ?
 
वि.सं २०१८ साल असार ५ गते भोजपुरको गुराँसेमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्री विद्यादेवी भण्डारी नेपाली राजनीतिमा स्थापित व्यक्तित्व हुन् । २०३५÷३६ सालदेखि प्रगतिशील विद्यार्थी आन्दोलनमा क्रियाशील उनले २०३७ सालदेखि तत्कालीन नेकपा (माले)मा सङ्गठित हुँदै लोकतन्त्र र सामाजिक न्याय प्राप्तिको आन्दोलनमा सशक्त भूमिका खेल्दै आएकी छिन् ।

२०३९ सालमा जननेता मदन भण्डारीसँग वैवाहिक सम्बन्धमा आबद्ध विद्यादेवी भण्डारी २०५० माघमा सम्पन्न भएको उपनिर्वाचनमा काठमाडौं– १ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतकासाथ विजयी बनेकी थिइन् । २०५१ सालमा सम्पन्न मध्यावधि निर्वाचन तथा २०५६ सालमा सम्पन्न तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं– २ बाट निर्वाचित हुँदै उनले विधि निर्माणमा क्रियाशील भूमिका खेलेकी थिइन् । उनी पुनःस्थापित प्रतिनिधिसभामा राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाई महिला सहभागिता सुनिश्चित हुनुपर्छ भन्ने सङ्कल्प प्रस्तावका प्रस्तावक थिइन् ।

रक्षा मन्त्रालय जस्तो चुनौतीपूर्ण जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने पहिलो महिला मन्त्रीका रूपमा स्थापित उनीसँग वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकोसमेत अनुभव छ । २०५४ सालदेखि अखिल नेपाल महिला सङ्घको अध्यक्षका रूपमा नेपाली महिला आन्दोलनको अगुवाइ गर्दै आएकी उनीसँग टे«ड युनियन आन्दोलनको समेत अनुभव छ । २०५४ सालमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्यका रूपमा पार्टीको नेतृत्वदायी भूमिकामा स्थापित भएकी उनी आठौं र नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको उपाध्यक्ष जस्तो महत्वपूर्ण ओहदामा निर्वाचित भइन् ।  नेपालको संविधान निर्माणमा पार्टीका तर्फबाट उनले महत्वपूर्ण योगदान गरेकी छिन् ।

नेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनकी एकजना सशक्त योद्धा, अग्रणी महिला नेतृ र सभासद् एवम् सांसदका रूपमा नेपालको संविधान एवम् विधि निर्माणमा महत्वपूर्ण भूमिका खेलेकी भण्डारी गणतन्त्र नेपालको राष्ट्राध्यक्ष जस्तो गरिमामय पदका लागि एकदमै उपयुक्त उम्मेदवार भएको एमाले दावी छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.