Powered by Blogger.
४८ वर्षपछि प्रधानमन्त्री ओलीले किने जन्मघर


धरान, २७ असोज ।

बुबा मोहनप्रसाद ओलीले २०२४ सालमा बेचेकोे तेह्रथुमको इवा गाविसस्थित जन्मघर प्रधानमन्त्री केपी ओलीले आफ्नो नाममा फिर्ता गरेका छन् ।

पुर्ख्यौली घरजग्गा आफ्नो नाममा फिर्ता गर्ने परिवारको इच्छाअनुसार ओलीले जन्मघरसहित ३० रोपनी जग्गा किनेका हुन् । मोहनप्रसादले स्थानीय नन्दलाल तिवारीलाई २०२४ सालमा साढे ११ हजार रुपैयाँमा उक्त घरजग्गा बेचेर झापा बसाइँ सरेका थिए ।

एमाले अध्यक्ष र संसदीय दलको नेता भएपछि एक वर्षअघि ओलीले जन्मघर किनेर आफ्नो नाममा पास गरेका हुन् । उक्त घरजग्गा स्थानीय नन्दलाल, भवानीप्रसाद उप्रेती, श्रीप्रसाद विमली, त्रिलोचन तिवारी, तुलसी संग्रौला र खगेन्द्र तामाङ हुँदै फेरि केपी ओलीकै नाममा नामसारी भएको छ ।

ओली प्रधानमन्त्री निर्वाचित भएपछि पत्रपत्रिका र सामाजिक सञ्जालमा उनको जन्मघरले चर्चा पाएको छ । पहाडी जिल्ला तेह्रथुमको सामान्य परिवारमा जन्मिएका ओली मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएपछि शुभचिन्तक र पार्टीका कार्यकर्ताले उक्त घरको फोटो अपलोड गरी बधाई दिने गरेका छन् ।

ओलीले एक वर्षअगाडि भाइ जयप्रसादलाई तेह्रथुम पठाएर जन्मघर स्थानीय खगेन्द्र तामाङसँग किनेर आफ्नो नाममा पारेको बुबा मोहनप्रसादले बताए । ‘२०२४ सालमा विशेष परिस्थितिका कारण मैले ११ हजार पाँच सयमा घरजग्गा बिक्री गरेर झरेको थिएँ’, मोहनप्रसादले भने, ‘पछि तेह्रथुमको घरजग्गाको सारै माया लागेकाले पारिवारिक सल्लाह गरेर घरजग्गा फिर्ता गरेका हौं ।’

ओलीको पुख्र्र्यौली घरजग्गा फिर्ता गराउन इवा गाविसका पूर्वगाविस उपाध्यक्ष तुलसी संग्रौलाले तामाङसँग पहल गरेका थिए । संग्रौलाले उक्त घर २०६५ सालमा तामाङलाई ६ लाखमा बिक्री गरेका थिए। तामाङले उक्त जग्गामा ३२ मुरी धान र १५ मुरी मकै फल्ने गरेको बताए ।

ओलीले पटकपटक जन्मघर र खेत किनेर आफ्नै नाममा पास गर्ने इच्छा व्यक्त गरेपछि आफूले उक्त घरजग्गा बिक्री गरेको तामाङले बताए । उक्त घरजग्गा बिक्री गरी त्यसबाट आएको रकमले आफूले पनि झापामा जग्गा किनेको तामाङले सुनाए ।

तामाङ हाल प्रधानमन्त्री ओलीको सोही घरमा बस्दै आएका छन् । प्रधानमन्त्री ओलीले आफूसँग घरखेत किने पनि उक्त जग्गा कमाउन आपूmलाई नै दिएको पनि उनले बताए । तामाङले उक्त घरमा बसेर खेतबारी कमाएर खाँदै आए पनि त्यसबापत ओलीलाई केही दिनु पर्दैन । ‘पहिला नै उहाँले केही पनि दिनु पर्दैन । राम्ररी गरी खानु भन्नुभएको थियो तामाङले भने, ‘उहाँ प्रधानमन्त्री भएको खबरले हामी पनि हर्षित भएका छौं ।’

अहिले ओली प्रधानमन्त्री निर्वाचित भएपछि घर हेर्न आउने र फोटो खिच्नेहरूको घुइँचो लाग्ने गरेको तामाङले बताए । उनले इवा गाविसबाट सदरमुकाम म्याङ्लुङसम्म जाने बाटो कच्ची र बिग्रिएकाले प्रधानमन्त्री ओलीसँग उक्त मोटरबाटो कालोपत्रे गरी जिल्लाबासीलाई आवतजावतमा सहज बनाइदिन माग गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.