Powered by Blogger.
विद्या भण्डारी राष्ट्रपतिमा प्रस्तावित, कांग्रेस र एमाओवादीको पनि दाबी

काठमाडौँ, २७ असोज । 

प्रधानमन्त्रीको निर्वाचनपछि राष्ट्रपति चयनको प्रक्रियातर्फ मुख्य दलहरुको ध्यान केन्द्रित भएको छ । कांग्रेस, एमाले र एमाओवादीबीचको सहमति तोडिएकोले अब राष्ट्रपति पदमा कांग्रेसले दाबी गर्न नपाउने विश्लेषण गर्दै एमाले र एमाओवादी नयाँ ढंगले सत्ता साझेदारीको रणनीतिमा जुटेका छन् ।

संविधान जारी भएपछि संसद् अधिवेशन बसेको एक महिनाभित्र राष्ट्रपति,उपराष्ट्रपति निर्वाचन गर्नुपर्ने प्रावधान छ । कांग्रेसले पनि राष्ट्रपतिको दाबी छोडेको छैन। कांग्रेसका दोस्रो तहका नेताहरुले प्रधानमन्त्री चयनमा केही कमजोरी भए पनि पनि राष्ट्रपति आफनो दललाई दिएर सहमतिको राजनीतिलाई निरन्तरता दिनुपर्ने र तीन दलको एकतालाई टुट्न दिन नहुने भन्दै लबिङ गरिरहेका छन् । यसबारेमा कांग्रेसका केही नेताहरुले प्रचण्डसँग भेटेर एक चरण छलफल गरिसकेका छन् ।

संसद्को प्रमुख दल कांग्रेसलाई राष्ट्रपति पद दिएर तीन दलीय एकतालाई पुनः बलियो बनाउने पर्ने पहल एमाले र एमाओवादीका एकथरी नेताबाट पहल भइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएपछि प्रमुख तीन दलको ध्यान राष्ट्रपति पदमा केन्द्रित भएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उपाध्यक्ष बिद्या भण्डारीलाई राष्ट्रपति उम्मेवारका रुपमा प्रस्ताव गरेका छन । दाहालसँग आफनै कार्यालय सिंहदरवारमा मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेका हुन । भण्डारी स्वर्गी मदन भण्डारीकी धर्मपत्नी हुन् र हाल उनी पार्टीको उपाध्यक्ष छिन् ।

एमालेले राष्ट्रपति आफूले राख्ने,सभामुख एमाओवादीलाई दिने,उपराष्ट्रपति एमाओवादीलाई दिनेबारेमा छलफल थालेको छ । तर एमाओवादीका अध्यक्ष प्रचण्ड राष्ट्रपति पद पनि एमालेलाई सुम्पने विषयमा अझै सकारात्मक छैनन् । बुधबार दुई पार्टीका वरिष्ठ नेताहरु बसेर सत्ता साझेदार दलहरु वीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र मन्त्रालयको बाँटफाँटलाई एकै साथ टुंग्याउने समझदारी भएको छ । ‘प्रधानमन्त्री एमालेको नेता भएपछि स्वभाविक रुपमा राष्ट्रपतिमा एमाओवादीको दावी हुन्छ । प्रधानमन्त्री निर्वाचनपछि तीन दलकै ध्यान अव राष्ट्रपतिमा केन्द्रित हुन थालेको छ’ कृषि मन्त्री समेत रहेका एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले भने ।

काँग्रेस,एमाले र एमाओवादी वीच १६ बुँदे सहमति हुँदा काँग्रेस सभापति सुशील कोइराला नेतृत्वमा संविधानसभाबाट संविधान जारी गर्ने,संविधान घोषणा भए लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने, नयाँ राष्ट्रपति काँग्रेसलाई दिने र सभामुख एमाओवादीले दिने भद्र सहमति भएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.