Powered by Blogger.
पेट्रोलियम चीनबाट ल्याउँ : निगम



काठमाडौँ, २७ असोज ।

नेपाल आयल निगमले चीनबाट पेट्रोलियम पदार्थ ल्याउन कूटनीतिक पहल गर्न तालुकदार वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई लिखित अनुरोध गरेको छ । निगमले चीनबाट दैनिक ६ लाख लिटर डिजेल, ३ लाख लिटर पेट्रोल, लाख लिटर मट्टीतेल र ४ सय टन ग्यास आपूर्ति गर्ने वातावरण मिलाइदिन वाणिज्य मन्त्रालयलाई शुक्रबारै मन्त्रालयलाई पत्राचार गरेको खुलेको हो ।

निगमस्रोतका अनुसार काठमाडौंमा सामान्य दिन दैनिक ४ लाख ५० हजार लिटर डिजेल र ३ लाख ५० हजार लिटर पेट्रोल आवश्यक पर्छ । मासिक १८ हजार टन ग्यासले नेपालीको माग सम्बोधन गर्दै आएको छ । निगम मासिक १२ हजार टन ग्यास ल्याउने गरी अघि बढेको हो ।

सरकारबाट उल्लेखित परिमाणमा पेट्रोलियम पदार्थ चीनबाट नेपाल भित्र्याउन कूटनीतिक पहल भए निगमले दैनिक माग पूरा गरी स्टकसमेत राख्न सक्ने र तत्काल समस्या समाधान हुने निगम उच्चस्रोतको भनाइ छ ।

भारतको सीमा नाकाबन्दीले पेट्रोलियम आयात ठप्प भएपछि निगमले विकल्पका रुपमा चीन रोज्दै पत्र पठाएको हो । ‘सरकारी स्तरमा पहल नगरी चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सकिन्न,’ निगम उच्चस्रोतले भन्यो, ‘पहिले सरकारले चीन सरकारसँग कूटनीतिक माध्यमबाट कुरा गर्नु जरुरी छ, त्यसपछि चीनबाट तत्काल आपूर्ति गछौँ ।

निगमले मन्त्रालयलाई लेखेको पत्रमा आयात गर्ने पेट्रोलियम पदार्थको परिमाण पनि उल्लेख गरेको छ । ‘सरकारको पहलबिना चीनबाट पेट्रोलियम ल्याउने सम्भावना हुँदैन,’ स्रोतले भन्यो, ‘निगमले निकालेको सूचनामा टेन्डर प्रस्ताव हाल्ने अधिकांशले चीनबाटै ल्याउने आशय देखाएका छन्, यसका लागि पनि सरकारी पहल आवश्यक छ ।’

वाणिज्य मन्त्रालयले उक्त पत्र दुई दिनअघि तत्काल कूटनीतिक पहल गर्न आग्रह गर्दै परराष्ट्र मन्त्रालय पठाएको छ । केही दिनअघि मन्त्रिपरिषद बैठकले पेट्रोलियम आपूर्तिको वैकल्पिक व्यवस्था गर्न निगमलाई अह्राएको थियो । सोहीअनुसार निगमले चीनबाट ल्याउने विषयमा अध्ययन गरी कूटनीतिक पहल गर्न अनुरोध गरेको स्रोतको भनाइ छ ।

निगमले भने कूटनीतिक पहलका लागि वाणिज्यलाई पत्र काटेको चार दिन भइसक्दा पनि मन्त्रालयबाट कुनै प्रतिक्रया नआएको जनाएको छ । सरकारी तवरमा सम्झौता भएपछि मात्रै चीनसँग ‘बिजनेस टु बिजनेस’ (बिटुबी) सम्झौता हुने र त्यसपछि मात्रै पेट्रोलियम ल्याउन सकिने निगमको भनाइ छ ।

भारतले बिनाकारण पटक–पटक नेपाललाई इन्धन आपूर्ति रोक्न थालेपछि निगमले भारतको विकल्प चीन रोजेको हो । यसका लागि परराष्ट्र मन्त्रालयले पहल थाल्नुपर्ने वाणिज्य मन्त्रालयको धारणा छ ।

निगमले गत बिहीबार आह्वान गरेको ग्लोबल टेन्डर प्रक्रिया छनोट क्रममै रहेको जनाएको छ । प्राप्त २० आशयपत्रमध्ये मंगलबारसम्म चार वटामा छलफल भइसकेको निगमको भनाइ छ । आगामी दुई दिनभित्र सबै छनोट प्रक्रिया सकेर बोर्ड बैठकमा लैजाने तयारी निगम व्यवस्थापनको छ ।

निजीले पाए साढे सात लाख लिटर इन्धन


दुई सातादेखि इन्धन नपाएका निजी सवारीसाधनलाई नेपाल आयल निगमले मंगलबार ७ लाख ५० हजार लिटर इन्धन बिक्रीवितरण गरेको जानकारी दिएको छ ।

निगमले इन्धन बाँड्ने सूचना जारी गरेपछि सोमबारदेखि नै लाम बसेका निजी सवारीसाधनलाई काठमाडौं उपत्यकाका १ सय २५ स्थानबाट इन्धन बेचेको हो । निगमले ६ लाख लिटर पेट्रोल र एक लाख ५० हजार लिटर डिजल बेचेको जनाएको छ ।

लाम लागेका सबै सवारीसाधनलाई इन्धन दिन नसकेको निगम प्रवक्ता दीपक बरालले बताए । पम्पलाई मागअनुसार इन्धन दिन नसक्दा लाम बसेका सबैलाई भाग नपुगेको निगमको भनाइ छ ।

निगमले निजी मोटरसाइकललाई ५ लिटर र चारपांग्रे कार, जिप–भ्यानलाई १५ लिटरका दरले इन्धन दिएको छ । बुधबारदेखि सार्वजनिक यातायातका साधन र सरकारीले मात्रै इन्धन पाउने निगमको भनाइ रहेको आजको नागरिक दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.