Powered by Blogger.
तेस्रो मुलुकबाट लुम्बिनी आउने पर्यटकमा वृद्धि



लुम्बिनी, २२ भदौ ।

बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुुम्बिनीमा आउने विदेशी पर्यटकको सङ्ख्यामा पछिल्ला वर्षमा क्रमशः वृद्धि हुँदै गएको छ । सन् २०१४ को अगस्तसम्ममा ७४ हजार ९५२ पर्यटक आएकामा यस वर्ष बढेर ७५ हजार २७२ पुगेको छ ।

लुम्बिनी विकास कोषले दिएको तथ्याङ्कअनुसार तेस्रो मुलुकबाट यस वर्षको अगस्त महिनासम्ममा बुद्ध जन्मस्थल लुम्बिनी आउनेमध्ये सबैभन्दा बढी श्रीलङ्काबाट ३० हजार ४७६ हजार पर्यटक आएका छन् । सबैभन्दा कम पर्यटक लिविया, पोल्याण्ड, साउदी अरेबिया र युएईबाट एक(एकजना लुम्बिनी भम्रणका लागि आएका छन् ।

कतिपय मुलुकबाट गत वर्षभन्दा यस वर्षको अगस्तसम्ममा पर्यटकको आवागमनमा केही वृद्धि भएको छ भने कुनै मुलुकबाट भने ह्वात्तै घटेको छ ।

श्रीलङ्काली पर्यटक गत वर्षको अगस्तसम्ममा २२ हजार ५७८ आएकामा यस वर्ष बढेर ३० हजार ४७६ हजार लुम्बिनीमा आएको कोषले जनाएको छ । यता लुम्बिनीमा आउने चिनियाँ पर्यटकको सङ्ख्यामा भने कमी आएको छ । सन् २०१४ को अगस्तसम्ममा ११ हजार ६९२ चिनियाँ पर्यटक लुम्बिनी आएकामा सन् २०१५ को अगस्तसम्ममा नौ हजार २८१ पर्यटक आएका छन् । यो सङ्ख्या दुई हजार ४११ ले कमी हो ।

त्यसैगरी, थाइल्यान्डबाट आउने पर्यटकको सङ्ख्यामा पनि कमी आएको छ । सन् २०१४ को अगस्तसम्ममा १४ हजार १०९ पर्यटक आएकामा सन् २०१५ मा ११ हजार ७६५ मात्र पर्यटक लुम्बिनी आएका छन् ।

जर्मनी, म्यानमार, भियतनामलगायतका देशबाट आउने पर्यटकको सङ्ख्या भने बढेको छ । सन् २०१४ मा जर्मनीबाट ७६६, म्यानमारबाट नौ हजार ८८, भियतनामबाट ३४० पर्यटक आएकामा सन् २०१५ को अगस्तसम्ममा जर्मनीबाट एक हजार १३९, म्यानमारबाट १२ हजार ३८४ र भियतनामबाट एक हजार २४९ पर्यटकले लुम्बिनीको भ्रमण गरेका लुम्बिनी विकास कोषको सूचना शाखाले जानकारी दिएको छ ।

लुम्बिनीमा अगस्तसम्म केही मात्रामा पर्यटक आए पनि सेप्टेम्बरमा भने खासै पर्यटकको आवागमन हुन नसकेको कोषका सूचना अधिकृत हरिध्वज राईले जानकारी दिनुभयो । उहाँले अगस्तको मध्यदेखि तराईका जिल्लामा बन्द तथा हडतालका कार्यक्रम भएकाले अहिले लुम्बिनीमा आउने पर्यटकको सङ्ख्यामा कमी आउने उल्लेख गर्नुभयो । बन्दमा सुरक्षाको प्रत्याभूति पाउन नसकेको भन्दै कतिपय पर्यटक लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरस्थित अध्यागमन कार्यालयबाटै फर्किएका छन् ।

वैशाखमा आएको भूकम्पको असर सकिन नपाउँदै सुरु भएको बन्द र हडतालका कारण लुम्बिनीमा पर्यटकको आवागमनमा कमी मात्रै आएको छैन यसले लुम्बिनीको गौरव र साखमा समेत सङ्कट पैदा गरेको कोषका अधिकारीहरुले उल्लेख गरेका छन् । कोषले यस वर्ष गत वर्षको भन्दा ४० प्रतिशतले बढी पर्यटक लुम्बिनी ल्याउने तयारी गरेको छ । तर बन्द र हडतालले पहिलाको वर्षभन्दा पनि पर्यटक घट्ने हुन् कि भन्ने चिन्ताले अधिकारीहरुलाई पिरोलेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.