Powered by Blogger.
पाटा सम्मेलनमा नेपालको पर्यटन प्रवद्र्धन

बैंगलोर, २२ भदौ । 
प्यासिफिक एसिया ट्राभल एजेन्ट्स (पाटा)को बैंगलोरमा आयोजना गरिएको ३८औँ अन्तर्राष्ट्रिय सम्मेलन तथा (पाटा मार्ट) पर्यटन व्यापार मेलामा नेपालको पर्यटकीय गन्तव्य र आकर्षणका बारेमा विश्व बजारमा प्रचारप्रसार गरिएको छ ।

भदौ २० गतेदेखि प्रारम्भ भएको तीनदिने सो सम्मेलनमा एसिया, युरोपलगायत अन्य मुलुकका करिब दुई सय ५० ट्राभल र टुर व्यवसायी सहभागी रहेका छन् । सम्मेलनमा राखिएको नेपालको आकर्षक कक्ष (पेविलियन) ले सगरमाथा, लुम्बिनीलगायत पर्वतीय, साहसिक पर्यटनको महत्व र देशको जैविक विविधतालाई झल्काएको छ ।

विदेशीले बडो अभिरुचिपूर्वक नेपाली कक्षको अवलोकन गरेका छन् र नेपालमा बढी सङ्ख्यामा पर्यटक पठाउने आश्वासन दिएका छन् । भारतको कर्नाटक राज्यका पर्यटन तथा उद्योगमन्त्री आरभी देशपाण्डेले पनि नेपाली कक्षको अवलोकन गरी उच्च प्रशंसा गरे । विदेशी टुर अपरेटर र नेपाली व्यवसायीबीच पर्यटकीय उत्पादन र सेवाको किनबेचका लागि अन्तत्र्रिmया भएको पनि भएको थियो ।

पर्यटन विकासका लागि नयाँ रणनीति र योजना बनाउने बारेमा छलफल र सम्पदाको प्रचारप्रसार गरिएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताए । उनले यस पर्यटन मेलामा नेपालको सशक्त रुपमा प्रस्तुति रहेको र भूकम्पपछि नेपालमा पर्यटन क्षेत्रमा परेको नकारात्मक असरलाई कम गर्न सम्मेलन उपयोगी रहेको विश्वास व्यक्त गरे ।

नाट्टाका पूर्व अध्यक्ष रवि पौडेलले भूकम्पपछिको नेपालको अवस्थाका बारेमा विदेशीले चासो राखेकामा अब अवस्था सामान्य भएको जानकारी गराएको बताए । उनले पर्यटन व्यवसायलाई पहिलेकै अवस्थामा ल्याउनका लागि सरकार, व्यवसायी, एयरलाइन्सबीच समन्वय गरी प्याकेजका कार्यक्रम ल्याउनुपर्ने धारणा राखे ।

रामा टुर नेपालका राज शाहीले यस मेलाबाट पर्यटकको सङ्ख्या अक्टुबर महिनासम्ममा बढ्ने विश्वास व्यक्त गरे । चीन, भारत, क्यानाडा, अमेरिका, जापानलगायत देशका पर्यटन व्यवसायीले नेपालको पर्यटकीय सम्पदा र वर्तमान नेपालको अवस्थाबारेमा जिज्ञासा राखेका थिए ।

नेपालबाट पाटा, नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, यति ट्राभल्सलगायत ट्राभल र टुर क्षेत्रका सङ्घसंस्थाको सो सम्मेलनमा सहभागिता रहेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.