Powered by Blogger.
नक्कली इमेलबाट ठगिँदै नेपाली व्यापारी



काठमाडौँ, २३ भदौ ।
 चीनबाट नियमित रूपमा सामान आयात गर्दै आएका एक नेपाली व्यवसायीले करिब दुई महिनाअघि १३ लाख रुपैयाँ पठाउनुपर्ने थियो । तर, चिनियाँ साझेदारले एक्कासि नियमित बैंक खाता नभई अर्कोमा पैसा पठाउन भन्दै इमेल पठाए ।
रोमानियामा आफ्नो हिसाबकिताब मिलाउनुपर्ने भन्दै रोमानियाकै बैंकमा पैसा पठाउन आग्रह भएपछि ती व्यवसायीले सोहीअनुसार १३ लाख रुपैयाँ पठाइदिए । त्यसको केही दिनपछि ती व्यवसायी अचम्ममा परे, जब आफ्ना चिनियाँ साझेदारले सोही सामानको भुक्तानीका लागि आग्रह गरे । नेपाली व्यवसायीले पैसा पठाइसकेका थिए, तर चिनियाँ पक्षले पाएको थिएन ।

रोमानियामा आफूले पैसा पठाउन इमेल नलेखेको चिनियाँ व्यापारीले बताएपछि थाहा भयो, अरू कसैले ह्याक गरेर त्यसरी अर्को बैंक खातामा पैसा पठाउन लगाएका थिए । उस्तै इमेलबाट त्यस्तै आग्रह आएकाले नेपाली व्यवसायी झुक्किएका थिए । ‘इमेल ठेगानामा अलिकति तलमाथि गरेर नयाँ इमेल आइडी बनाएर यसरी ठगी भएको रहेछ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने । ती प्रहरी अधिकारीका अनुसार इमेल ह्ययाक गरी दुई पक्षबीचको कारोबारको जानकारी लिएपछि अन्तर्राष्ट्रिय ठगहरूले यसरी उस्तै किसिमको इमेल आइडी बनाई अर्को खातामा पैसा पठाउन लगाएर ठगी गरेका थिए ।

इमेल ह्याक गरी नेपाली व्यवसायी ठगिएको यो पहिलो घटना होइन । यती एयरलाइन्ससमेत ह्याकरबाट ठगिएको छ । बिमानको पार्टस् खरिदका लागि भनेर हंगेरीको कम्पनीमा पठाएको पैसा ह्याकरहरूले हात पारेका थिए । उनीहरूलाई इमेलमार्फत झुक्याएर त्यसरी ठगी गरिएको थियो । कम्पनीले अनुसन्धानका लागि प्रहरीमा आग्रह गरे पनि लिखित उजुरी भने दिएनन् । करिब आठ महिनाअघि एक निर्माण व्यवसायीको यसैगरी ६० लाख रुपैयाँ गुमेको छ । व्यवसायीले भारतीय कम्पनीलाई पैसा पठाउनुपर्ने थियो । तर, उनलाई दुबईमा पैसा पठाउन भन्दै इमेल आयो । सोहीअनुसार उनले दुबईको बैंक खातामा पैसा पठाइदिए । पछि भारतीय पार्टनरले पैसा मागेपछि मात्र उनले आफू नक्कली इमेल आइडीबाट ठगिएको चाल पाएका थिए । ती कन्ट्रक्सन व्यवसायीले पनि छानबिनका लागि प्रहरीमा उजुरी दिएका छन् ।

 ती दुवै घटनामा प्रहरीले अनुसन्धानका लागि अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोग खोजेको छ । तर, ठगी गर्नेहरू पत्ता लागेका छैनन् । दुई वर्षअघि अझै रोचक तरिकाले नेपाली कफी व्यवसायीको पैसा नाइजेरियनहरूले ठगी गरेका थिए । ललितपुरस्थित कफी कोअरपरेटिभ सोसाइटीले जर्मनीमा अर्गानिक कफी निर्यात गर्दै आएको थियो । त्यसबापत जर्मनीबाट ३० लाख रुपैयाँ झुक्तानी पनि आएको थियो । पछि सोसाइटीको नाममा इमेल आयो र सो रकम भुलवश भुक्तानी भएको, केही दिनपछि पुनः भुक्तानी गरिदिने भन्दै पैसा फिर्ता गरिदिन आग्रह गरियो । तर, जर्मनी कम्पनीको खातामा नभई लन्डनको अर्को बैंक खातामा पैसा फर्काउन आग्रह गरिएको थियो ।

कफी कोअपरेटिभका मेनेजरले ३० लाख रुपैयाँ फिर्ता गरिदिए । वर्षौँदेखि कारोबार गर्दै आएको जर्मनीको कम्पनी व्यवसायमा सधैँ इमानदार भएकाले कुनै शंका नगरी पैसा फिर्ता गरिएको कम्पनीले जनाएको छ । खासमा जर्मन कम्पनीले पैसा फिर्ता मागेको थिएन । ‘पछि कम्पनीसँग बुझ्दा कम्पनीले पैसा फिर्ता गर्न इमेल नै नपठाएको बतायो,’ कफी कोअपरेटिभ सोसाइटीका एक अधिकारीले भने, ‘इमेल हेर्दा जर्मन कम्पनीसँग ठ्याक्कै मिल्दोजुल्दो एकाउन्ट बनाइएको रहेछ, त्यही कारण ३० लाख रुपैयाँ गुम्यो ।’ प्रहरीले गरेको अनुसन्धानमा नाइजेरियाबाट इमेल ह्याक गरी त्यसरी मिल्दोजुल्दो इमेल खोलेर ठगी गरिएको थियो । यस्ता घटनाबाट बारम्बार नेपाली व्यवसायीहरू पीडित हुन थालेका छन् ।

इमेल ह्याक गरी कारोबार निगरानी राखी उस्तै इमेल बनाएर ठगी गर्ने नयाँ साइबर क्राइम बढ्न थालेको महानगरीय अपराध महाशाखास्थित साइबर क्राइम सेलका इन्स्पेक्टर पशुपति राय बताउँछन् । ‘विदेशमै बसेर विदेशीले नेपालीलाई ठग्न थालेका छन्,’ उनी भन्छन्, ‘इन्टरनेटमार्फत हुने कारोबारमा व्यवसायीहरू सजग हुनु जरुरी छ । पछिल्लो समय अन्तर्राष्ट्रिय गिरोहले नेपाली व्यवसायीको समेत इमेल ह्याक गरेर ठगी गर्ने प्रवृत्ति देखापरेको छ । अन्तरदेशीय कारोबारमा इमेल मात्र नभई फोनबाट पनि कुराकानी गर्नु आवश्यक रहेको प्रहरी अधिकारीहरू बताउँछन् । चिट्ठाका नाममा पनि विदेशीहरूले इन्टरनेटमार्फत नेपालीलाई ठगी गर्दै आएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.