Powered by Blogger.
सहकारी मर्जरमा जानु पर्छ : अधिकारी

काठमाडौँ, १९ भदौ ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी सहकारीको गुणात्मक विकासका लागि मर्जरमा जानुपर्ने बताए । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले आफ्नो पाचौं स्थापना दिवसको अवसरमा सचिव अधिकारीले सो कुरा बताएका हुन ।

कार्यक्रममा बोल्दै सचिव अधिकारीले सहकारीको गुणात्मक विकास र सुधारका लागि मेकानिजम र फोर्स नीति अवलम्बन गर्न लागिएको बताए । ‘सहकारी एकीकरण नीति ड्राफ्ट गर्दछौं’ उनले भने । नीति बनेपछि सहकारी मर्जमा जान सजिलो हुने  उनको भनाई थियो ।

हालसम्म ३३  हजार सहकारी दर्ता भएपनि मर्ज  नीति प्रभावकारी नहँुदा समस्या भएको उनको भनाई थियो  । सहकारीको विकासका लागि अब बन्ने सहकारी ऐनमा दण्ड र कैदमा जोड दिइएको सचिव अधिकारीले बताए । सहकारी ऐन २०४८ मा दण्डात्मक व्यवस्था नभएकाले केही सहकारीमा विकृति बढेको उनको दावी छ ।

समस्याग्रस्त सहकारीको व्यवस्थापन र समस्या समाधान गर्ने संयन्त्र बनाउन लागिएको सचिव अधिकारीले जानकारी दिए । कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदानबारे अध्ययन हुन नसकेको भन्दै सचिव अधिकारीले आउँदो आर्थिक वर्षदेखि अध्ययन गरिने बताए । सहकारी नीति २०६९ कार्यान्वयनमा ल्याउनका लागि एक्सन प्लान बनाउने काम अन्तिम चरणमा पुगेको सचिव अधिकारीले बताए । २५ जिल्लामा गरिबी परिवारबारे अध्ययन भएको र आउँदो वर्ष थप ५० जिल्लामा गरिब परिवारे अध्ययन गरिने सचिव अधिकारीले बताए ।
गरिबी निवारणसम्बन्धी सबै काम मन्त्रालयमार्फत गर्न सके प्रभावकारी ढंगले सञ्चालन गर्न सकिने उनको भनाई छ । सहकारीको सूचना व्यवस्थापनका लागि सफ्टवेयर निर्माण भइसकेको बताए ।

राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज कडेलले कर्जा सूचना केन्द्र निर्माणका लागि सरोकारवाला निकायको छुट्टै  संयन्त्र बनाउन आग्रह गरे । ‘कर्जा सूचना केन्द्रको काम निजी कम्पनीलाई दिने चलखेल भइरहेको छ, यदी त्यसो भए हामीलाई स्वीकार्य हुने छैन्’उनले भने–‘यदी त्यसो भएमा अभियानको साथ, सहयोग र समर्थन सरकारलाई रहने छैन् ।’

सहकारी विभागका रजिष्ट्रार काशिनाथ मरासिनीले सहकारी सुरक्षित, मर्यादित बनाउन आवश्यक भएको बताए । ‘सहकारीको साख गिर्न दिनुहुन्न, सहकारीको सिद्वान्त राम्रो भएपनि केही सहकारी सहकारी सिद्वान्त विपरित चलेका छन्’ उनले भने ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का अध्यक्ष ऋषिराज घिमिरेले सहकारीको गुणत्मक विकासका लागि सहकारी एकीकरणमा दवावमुलक कार्यक्रम नै सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे ।
नेपाल आर्थिक पत्रकार समाज(सेजन)का अध्यक्ष गोकर्ण अवस्थीले सहकारीका विकृति, विसंगती अन्त्य गर्न कलम चलाउन आवश्यक भएको बताए ।

सहकारी गाउँ केन्द्रित हुन सकेमात्र अर्थतन्त्रमा सहकारी सबल खम्बा बन्न सक्ने उनको भनाई थियो ।
नेपाल सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईले सहकारी अभियान पारदर्शी र सञ्चारमैत्री हुन नसक्दासम्म अर्थतन्त्रको सबल खम्बा बन्न नसकेको बताए ।

सो अबसरमा सिजेएनले रिपब्लिका राष्ट्रिय दैनिकका पत्रकार सागर घिमिरेलाई सिजेएन पत्रकारिता पुरस्कार २०७२ बाट सम्मान गरेको छ । घिमिरेलाई नगद पाँच हजार सहित कदरपत्रले सम्मान गरिएको हो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.