Powered by Blogger.
दोलखामा गैससको मनोमानी

दोलखा, १९ भदौ । 
 दोलखामा भूकम्पपीडितका लागि काम गर्न आउने आइएनजिओहरूले स्थानीय साझेदारी अनिवार्य गर्नुपर्ने व्यवस्था भएपनि कतिपयले अहिलेसम्म त्यसको बेवास्ता गरेका छन् ।

जिल्लामा दुई दर्जनजति आइएनजिओ राहत वितरण, अस्थायी व्यवस्थापन, स्वास्थ्य, सरसफाइ, शिक्षालगायतका क्षेत्रमा काम गर्न आएपनि उनीहरूका स्थानीय साझेदारहरू आधा दर्जन पनि छैनन् । काममा दोहोरोपन नआओस् भन्नका लागि जिल्ला दैवी प्रकोप समितिले अनौपचारिक रूपमा एक आइएनजिओले एक स्थानीय साझेदार बनाउन गरेको आग्रह उनीहरूले टेरेका छैनन् ।

गैसस महासङ्घ, दोलखाले सुरुदेखि नै एकअर्काको काम दोहोरोपन हुन नदिन एक आइएनजिओले एक स्थानीय साझेदार बनाउन अनुरोध गर्दै आएको छ । गैसस महासङ्घ दोलखाका कार्यबाहक अध्यक्ष राजु थापाले कतिपय आइएनजिओले आफैँले बाहिरका एनजिओ ल्याएर काम गरेको बताए । स्थानीयस्तरमा कतिपय आइएनजिओले एउटै एनजिओलाई मात्र जिम्मेवारी दिएकामा महासङ्घको आपत्ति रहेको उनले बताए ।

सबैभन्दा बढी साझेदारी पाउने भाग्यमानी स्थानीय गैससहरूमा ग्रामीण विकास टुकी सङ्घ, इकाड्स दोलखा र हुराडेक नेपाल परेका छन् । यी संस्थाले तीनदेखि सातवटासम्म आइएनजिओले साझेदारी गरेका छन् । पहुँच भयो भन्दैमा आइएनजिओले अन्य सक्रिय गैससलाई बेवास्ता गरेर एउटैलाई धेरैले साझेदारी गर्दा प्रभावकारी नहुने थापाको भनाइ छ ।

एउटैलाई साझेदारी गर्ने आइएनजिओहरूमा प्लान नेपाल, सेभ द चिल्ड्रेन, लुथरन वर्ड फेडेरेसन, हेल्पएज, एक्टेड, युनिसेफ रहेका छन् । राजनीतिक दलका नेताहरूले समेत आइएनजिओहरूले स्थानीय अन्य गैससको समेत क्षमता विकास गर्ने गरी साझेदारी गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस दोलखाका सभापति ताराबहादुर कोइरालाले एउटैलाई धेरैले साझेदारी बनाउनु तर अरूलाई बेवास्ता गर्नुमा पनि शङ्का गर्नुपर्ने अवस्था रहेको बताए ।

जिल्लाभन्दा बाहिरका एनजिओलाई प्लान इन्टरनेसनलले प्रोत्साहन गरेको छ । प्लानसँग साझेदारी गर्नेमा स्थानीयभन्दा जिल्ला बाहिरका एनजिओ बढी भएको थापाले बताए । प्लान नेपालका जिल्ला संयोजक चन्द्र कायस्थले भने तत्कालीन रूपमा राहत वितरण गर्न प्लानसँग अन्य जिल्लामा साझेदारी गरेका संस्थालाई कार्यक्रम दिएको बताए ।

आइएनजिओहरूले स्थानीय एनजिओसँग साझेदारी गर्दा स्थानीयस्तरमा काम गर्न सजिलो हुनुका साथै स्थानीय एनजिओको समेत क्षमता विकासमा टेवा पुग्ने कार्यबाहक अध्यक्ष थापाले बताए । अन्तर्राष्ट्रिय रेडक्रस फेडेरेसन र मर्सी क्रप्सले नेपाल रेडक्रस सोसाइटी दोलखासँग साझेदारी गरेका छन् ।

समरिटेन्स पर्स र एक्टेडले अहिलेसम्म कुनै पनि स्थानीय साझेदारी गरेको छैन । अमेरिकाका लागि राजदूत रहेका डा अर्जुन कार्कीको एनजिओ ग्रामीण पुनःनिर्माण संस्थाले पनि स्थानीय कुनै साझेदार राखेका छैनन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.