Powered by Blogger.
लगातारको बन्दले धरासायी बन्दै निजी क्षेत्र



रुपन्देही, ११ असोज ।

प्रमुख राजनीतिक दलहरुबीच संविधानमा ७ प्रदेशको सहमति भएलगत्तै सुरु भएको बन्द, हड्ताल र बिरोध प्रदर्शनका कारण मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिने निजी क्षेत्र धरासायी बन्दै गएको छ । विगतमा ठूल्ठूला आन्दोलन, जनआन्दोलन हुँदा पनि यसरी मारमा नपरेको निजी क्षेत्र मधेशी मोर्चा, थरुहट संघर्ष समिति लगायतको आन्दोलनका कारण यसरी चपेटामा परेको हो ।

भूकम्पले गर्दा खस्किएको देशको अर्थतन्त्र पछिल्लो समय तराई क्षेत्रमा भैरहेको बन्द र हड्तालका कारण झन खस्किँदै गएकोQ छ । संविधान निर्माण भएपछि विकासले फड्को मार्ने, रोजगारीका अवसरहरु प्राप्त हुने र दैनिक रुपमा विदेशिने हजारौ युवाहरु स्वदेशमा नै बस्न पाउने अपेक्षा गरेका आम नेपाली नागरिकहरु यतिबेला चिन्तित छन् । त्यसमा पनि भारतको अघोषित नाकाबन्दीले गर्दा दैनिक अत्यावश्यक बस्तुहरुको आपूर्ति अभाव हुँदै गएको छ ।

लगातार बन्दका कारण औद्योगिक उत्पादनहरु ठप्प छन्, भने लाखौं कामदारहरु कामविहीन भएका छन् । मुलुकको आर्थिक हिसाबमा मजबुत मानिने औद्योगिक र व्यावसायिक क्षेत्रले दैनिक अर्बभन्दा बढीको घाटा ब्यहोर्न बाध्य छन् । लामो बन्दका कारण मेसिनहरुमा खिया लागेको, बैंकको ब्याज तिर्न नसक्दा उद्योगीहरु सडकमा आउने अवश्था सिर्जना भैसकेको लुम्बिनी करिडोरमा अवस्थित जगदम्बा सिमेन्ट उद्योगका जिएम विदुर ढुंगाना बताउँछन् । ४ सय २५ जना मजदुरले काम गर्ने यो उद्योगले दैनिक १० लाख भन्दा बढीको घाटा बेहोर्नु परेको ढुंगाना बताउँछन् ।

उद्योगधन्दा बन्द नगर्न आग्रह

साना ठूला गरी करिब २ दर्ज भन्दा बढी उद्योग धन्दा रहेको लुम्बिनी करिडोरमा लामो समयसम्म बन्द हड्ताल जारी रहँदा उद्योगमा राखिएको कच्चा पदार्थ पनि नष्ट भएर जान थालेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष रामकुमार शर्माले जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि कहीकसैले उद्योगधन्दा बन्द गर्न नहुने बताउँछन् । उनी भन्छन्,‘राज्य पक्षबाट शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति भए पनि आन्दोलनरत मोर्चाका कार्यकर्ताले उद्योगधन्दामा काम गर्ने कर्मचारी, मजदुरहरुलाई काम नगर्न धम्की दिएका कारण समस्या निम्तिएको हो ।’

हामीलाई प्रशासनले सुरक्षाको प्रत्याभूति दिएको छ, तर आन्दोलनरत दलहरुले निरन्तर धम्की दिएका कारण झन अप्ठ्यारो परिस्थिति सिर्जना नहोस् भनी उद्योग व्यवसाय खोल्न सकेका छैनौं । करिडोर क्षेत्रका उद्योगले दैनिक एक करोड भन्दाबढीको नोक्सान बेहोर्नु परेको शर्माको भनाई छ ।

शर्माका अनुसार– रुपन्देहीमा मजदुर–कर्मचारीको तलब, बिजुली, पर्यटन, व्यापार, उद्योग, होटल सबै क्षेत्रको हिसाब गर्ने हो भने मात्रै दैनिक ५० करोड बढीको घाटा भइरहेको छ । बन्दले गर्दा भैरहवा तथा लुम्बिनी क्षेत्रका होटलहरु समेत सुनसान छन् ।

गरिखाने वर्ग मर्कामा

विगतदेखि एकपछि अर्को राजनीतिक दल र गैरराजनीतिक समूहले बन्द आह्वान गर्दा उद्योगी–व्यापारी, मजदुर र सर्वसाधारण समस्यामा परेका थिए नै । तर पछिल्लो समय राजनीतिक स्वार्थका लागि आन्दोलन हुँदा गरिखाने वर्गले अत्यन्तै कष्टकर रुपमा दैनिकी चलाई रहेका छन् । निजी क्षेत्र सबै ठप्प छन् । काम गरेरै विहान–बेलुकाको छाक टार्ने मजदुर वर्गहरु यतिबेला भोकभोकै मर्ने अवस्थामा पुगेका छन् ।

विग्रँदो अर्थतन्त्र कसरी सुधार्ने ?

दुई दशक अगाडि विश्वमा नेपाल भन्दा कम विकसित देशहरु थिए । कतिपय देशहरु विकासका हिसाबले नेपालको हाराहारी अवस्थामा थिए । तर आज ती देशहरुले नेपालको भन्दा चौगुना फड्को मारी मात्रै सकेनन् की विश्वका चर्चित विकसित देशहरुसँग प्रतिस्पर्धा गरिरहेका छन् । तर लामो राजनीतिक द्वन्द्वका कारण हाम्रो देश भने सधैभरी पुच्छरमा पर्दै आएको छ ।

अर्थशास्त्री प्रा.सुदर्शन प्रसाद नेपालका अनुसार अर्थतन्त्र बलियो पार्ने उपायहरु यी हुनसक्छन्:

१    विद्युत उत्पादनलाई प्राथमिकता दिनुका साथै बन्द सधैका लागि बन्द गर्ने,
२    निजी क्षेत्रलाई राजनीतिक चपेटाबाट मुक्त राख्ने तथा दिगो विकासमा लागि राजनीतिक समझदारी गर्ने
३    देश विकासमा सबै एक ढिक्का भई लाग्नुका साथै विलासी जीवनलाई कम गर्ने
४    निजी क्षेत्रलाई प्रोत्साहन गर्नुका साथै आत्म विश्वासी बनाउने
५    पारदर्शितालाई ध्यान दिने
६    विकासका चरणबद्ध योजना बनाई विदेशी लगानीलाई भित्र्याउने
७    कृषि क्रान्तिलाई जोड दिई लगानी बढाउनुका साथै चिनसँगको सीमानाका चाँडो संचालन गर्नु

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.