Powered by Blogger.
कुथलीबुखरी जलविद्युत्तबाट विद्युत् उत्पादन शुरू

 दोलखा, ११ असोज ।
 कुथलीबुखरी साना जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन शुरू गरेको छ । आयोजनाले सुष्पाक्षमावती–४ स्थित कुथलीखोला र सुष्पाक्षमावती–३ तथा सुन्द्रावती–२ को सीमामा रहेको पुखरीखोलामा छुट्टाछुट्टै ड्याम बनाई १५ दिनको परीक्षण उत्पादन अवधि पार गरी व्यापारिक उत्पादन शुरू गरेको हो । उत्पादित ९ सय ९८ किलोवाट विद्युत् नेपाल विद्युत् प्राधिकरणको मकैबारी सबस्टेशनमा जोडिएको छ ।

कुथलीबाट १ हजार ३ सय र पुखरीबाट १ हजार ७ सय मिटरको छुट्टाछुट्ट पेनस्टकमार्फत टाँडीस्थित सर्ज ट्याङ्कमा पानी खसाली २ सय १८ मिटर वाटर हेडबाट सुष्पाक्षमावती–३ पातलेस्थित सतही विद्युत् गृहमार्फत गत सोमवारबाट व्यापारिक उत्पादन शुरू गरिएको कम्पनीका अध्यक्ष सन्तोष मैनालीले बताए । आयोजनाको हेडबक्स, कुलो, पेनस्टक पाइप र पावरहाउसका मेशिनको प्राविधिक परीक्षणपछि उत्पादन थालिएको हो । ‘परीक्षण सफल भएर व्यापारिक उत्पादन शुरू ग¥यौं,’ उनले भने । आयोजनामा एनएमबी बैङ्कको ६५ र कम्पनीको ३५ प्रतिशत लगानी रहेको उनले बताए ।

डेढ वर्षअघि सिभिल निर्माणको काम शुरू गरेको आयोजनाले प्राधिकरणसँग गरेको विद्युत् खरीद सम्झौताअनुसार विद्युत् उत्पादन गर्ने निर्धारित मितिभन्दा २ महीना ढिला विद्युत् उत्पादन गरेको होे । पीपीएअनुसार ०७२ असार मसान्तसम्म प्राधिकरणलाई आयोजनाले विद्युत् उपलब्ध गराउने उल्लेख छ । भूकम्पका कारण आयोजनाबाट विद्युत् उत्पादनमा ढिलाइ भएको मैनालीको भनाइ छ ।

कुथलीखोलाको पानी हिउँदमा कम हुने हुँदा थप कुलो निर्माण गरी सुन्द्रावती खोलाको पानीसमेत फर्काएर मिसाउने योजना रहेको उनले बताए । आयोजनाको कुल लागत १७ करोड रुपैयाँ अनुमान गरिए पनि करीब १९ करोड रुपैयाँ खर्च भएको उनको भनाइ छ । आयोजनाबाट वार्षिक ३ करोड ६५ लाख रुपैयाँबराबरको विद्युत् उत्पादन हुने अनुमान छ ।

आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत शेयर लगानीको अवसरसमेत दिएको छ । यसअघि खिम्तीखोला, सिप्रिङखोला र चर्नावती खोला गरी ७३ दशमलव ५२ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा समेत जडान भइसकेको छ ।
स्रोत: अभियान दैनिक,रवीन्द्र गौतम

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.