Powered by Blogger.
कांग्रेस दोलखाको नेतृत्व लिन तीन युवा अग्रसर


दोलखा, १० असोज । 

नेपाली कांग्रेसमा अधिवेशन नजिकिदै जाँदा नेतृत्वमा पुग्न युवाहरु नै तम्सिएका छन् । जिल्ला सभापति, पदाधिकारीदेखि महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गर्नेमा तरुण युवाको संख्या नै बढ्दो रहेको छ ।

नेपाली कांग्रेस केन्द्रले दुई पटक महाधिवेशन सारेर कहिले गर्ने भन्ने अयोलता देखिएता पनि जिल्ला अधिवेशनबाट नेतृत्व लिन तरुण युवा जमात देखि पुराना नेतासम्म सक्रिय देखिएका छन् । अधिवेशन र नयाँ नेतृत्वको बहस सदरमुकाम चरिकोट मात्रै नभई गाउँगाउँ सम्म समेत सुरु भएको छ । चरिकोटका चिया पसल, सातदोबाटो चोक गौंडा, चौतारो कांग्रेस कार्यकर्ताको जमघटले भरिन थालेको छ ।

महाधिवेशन मिति केन्द्रले आन्योलता भए पनि जिल्ला अधिवेशन तोकिएकै मितिमा हुनेमा कार्यकर्तामा सबैमा आशोतता नै रहेका छन् ।’संविधान र महाधिवेशनसगैँ गर्दा नेतृत्वलाई अफ्टेरो परेको होला,’ ट्रेड युनियन कांग्रेसका पुर्व जिल्ला अध्यक्ष भवेन्द्र कार्कीले भने,’तर जिल्ला अधिवेशनको मिति केही दिन मात्र हेरफेर भएर भदौ भित्रै जिल्ला अधिवेशन हुन्छ भन्नेमा ढुक्क छौँ’ । जिल्ला सभापतिका लागि हाल सम्म तीन जना नेताले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरु चुनावी प्रचार र भोट माग्नका लागि गाउँ र राजधानी धाउन थालेका छन् ।

राजधानीमा रहेका कार्यकर्ता सगँको भेटघाटमा सक्रिय उम्मेदवारहरु शीर्षनेताहरुको निवास समेत धाइरहेका छन् । चार पटकसम्म नेतृत्व सम्हालिसकेका वर्तमान जिल्लाका सभापति ताराबहादुर कोइरालाले यस पटकको अधिवेशनमा आफू नउठी नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेपछि युवाबीच नेतृत्वको होडबाजी सुरु भएको हो । सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नेमा तरुण दलका पूर्व केन्द्रीय सचिव ईश्वर मानन्धर, कांग्रेसको भातृ संस्था नेपाल तमाङ संघका महासचिव बर्मा लामादेखि पुर्व जिविस सभापति रुद्रबहादुर खड्का सम्म छन् ।

रुद्रबहादुर खड्का पूर्व जिविस सभापति समेत रहेका ५५ वर्षीय खड्का २०३६ सालदेखि राजनितिमा प्रवेश गरेका थिए । २०४३ मा पञ्चायतको निर्वाचनलाई उपयोग गर्ने पार्टी निती अन्तर्गत क्षेत्रीय सदस्यमा निर्वा्चित खड्का २०४६ सालमा जनआन्दोलनको परिचालन संयन्त्रमा बसेर काम गरेका थिए । २०४७ मा पार्टीको जिल्ला सहसचिव हुँदै काम गरेका खड्का हाल महाधिवेशन प्रतिनिधि छन् । २०४९ को स्थानीय चुनावमा जिल्ला सभापति निर्वा्चित भएका उनी २०५४ मा कार्यकाल सकिए लगातै १० बर्ष अमेरिकामा गएका थिए ।

२०६४ सालमा स्वदेश फर्किएपछि खड्का हाल निरन्तर पार्टीमा क्रियाशिल छन । अघिल्लो अधिवेशनमा उनी वर्तमान सभापति ताराबहादुर कोइरालासगँ सभापतिमा पराजित बनेका थिए । ईश्वर मानन्धर, २०३९ सालमा गौरीशंकर क्याम्पस पढ्दा नेविसंघबाट राजनीति सुरु गरेका ४६ वर्षीय मानन्धर हाल कांग्रेस केन्द्रीय समितिमा तरुण विभागको सदस्य साथै तीन कार्यकालदेखि महासमिति सदस्य छन् । तरुण दलको जिल्ला अध्यक्ष भइसकेका उनी केन्द्रीय सदस्य हुँदै केन्द्रीय सचिव बनेका थिए ।

पार्टीको जिल्ला समितिमा बसेर पटक पटक काम गरेका मानन्धरले तरुण दलको जिल्ला अध्यक्ष हुँदा संगठन सुदृढीकरणको काम गरेका थिए । नेपाल तमाङ ४८ वर्षीय लामाले २०३७ सालमा त्रिभुवन उच्च मावि मेलुङको नेविसंघ इकाई अध्यक्ष हुँदै राजनीति सुरु गरेका थिए । नेविसंघका पूर्व जिल्ला अध्यक्ष रहेका लामाको कार्यकालमा दोलखाका सबै विद्यालयमा नेविसंघको संगठन विस्तार भएको थियो ।

हाल पार्टी महासमिति सदस्य, कांग्रेस केन्द्रीय समितिको विज्ञान तथा प्रविधि विभाग सदस्य, पार्टीको जनजाति संघका केन्द्रीय सदस्य र जिल्ला कार्य समितिको संगठन विभाग प्रमुख रहेका लामा यस अघि पटक पटक जिल्ला समितिमा बसेर काम गर्दै आएका थिए ।

तीनै जना संस्थापन पक्षधर रहेका लामा, मानन्धर र खड्काबीच कडा प्रतिश्पर्धा हुने आंकलन गरिएको छ । यस्तै नेविसंघका पूर्व केन्द्रीय कोषाध्यक्ष कुन्दनराज काफ्ले र हालका जिल्ला सचिव केशवराज चौलागाईको समेत पार्टी सभापति उठ्ने चर्चा कार्यकर्ता बृत्तमा रहेपनि उनीहरुले घोषणा गरेका छैनन् ।

जिल्लाका पुराना नेताहरु भने पूर्व पार्टी सभापति उद्धवराज काफ्लेलाई सर्वसम्मत सभापति बनाउने तयारीमा छन् । यस्तै जिल्ला सचिव पदमा नेविसंघका पुर्व जिल्ला अध्यक्ष सन्तोष रिमाल र ट्रेड युनियन कांग्रेसका पूर्व जिल्ला अध्यक्ष भवेन्द्र कार्कीले उम्मेदवारीको घोषणा गरेका छन् ।

महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नेहरु समेत अधिकांश युवा छन् । नेविसंघका केन्द्रीय नेता कुन्दनराज काफ्ले, सन्तोष पाण्डे, रोदना घिमिरे, विनिता काफ्ले, लगायत जिल्ला स्तरमा नेविसंघ र तरुण दलमा काम गरेका युवाहरु महाधिवेशन प्रतिनिधि उठ्दैछन् । क्षेत्र नं १ का सभापति राजु उप्रेतीले महाधिवेशन प्रतिनिधि र जिल्ला साथै क्षेत्रीय समितिहरुमा युवा आकांक्षीहरुको लर्को देखिएको बताए ।

यस अघि हालका सभापति कोइरालाले राजधानीमा भएको पार्टीको भेलामा आफ्नो पुस्ताले संगठन हाक्न नसक्ने बताउदै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने संकेत दिएको भेलामा सहभागी एक कार्यकर्ताले बताए । तरुण दलका जिल्ला अध्यक्ष जयराम श्रेष्ठ, नेविसंघका पुर्व जिल्ला अध्यक्ष राकेश श्रेष्ठ, र अर्का युवा सन्तोष पाठकले क्षेत्र नं २ को क्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । यस्तै सोही पदमा घोषणा गर्नेमा लोकराज पाठक र बासु दाहाल समेत छन् । क्षेत्रीय सभापति पदमा समेत युवाहरुकै आकांक्षा बढी छ ।

–संजिव दाहाल

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.