Powered by Blogger.
आफैं झोला बोकेर आए डेनिस राजकुमार

लमजुङ, १ असोज । 
डेनमार्कका राजकुमार फ्रेडरिक एन्ड्रे हेन्‌रिक भूकम्पपीडितलाई भेट्न लमजुङ आएका छन् । चारदिने भ्रमणका क्रममा उनी बिहीबार बेसीशहर आइपुगेका हुन् ।

राजकुमार कालो जुत्ता, समान्य सर्टपाइन्टमा गल्बन्दी भिरेर बेसीशहरको होटल गेटवे हिमाल रिसोर्टमा गाडीबाट ओर्लिदा पर्खाइमा बसेकाले समेत चिनेनन् । उनी नेपाल रेडक्रस सोसाइटीको ल्याण्डक्रुजर जीपबाट साँझ साढे ६ बजे ओर्लिएका थिए । विशुद्ध नीजि भ्रमण भएकाले उनको आग्रहमा कसैले पनि बिहीबार उनलाई स्वागत गरेनन् । उनले भूकम्पपीडितको अवस्था हेरेपछि शनिबार साँझ जिल्लाका प्रशासक एवं सुरक्षा निकायका टोलीलाई भेटघाटका लागि बोलाएका छन् ।

कोपनहेगनबाट काठमाडौं आर्लिए लगत्तै उनी सिधै लमजुङ आएका हुन् । भूकम्पपछिको अवस्था अवलोकन गर्न लमजुङ आएका डेनिस राजकुमारलले जिल्लाको दुर्गम गाउँ पाचोक, ढोडेनी र फेलेनी गाविसका केही गाउँमा पुगेर भूकम्प पछिको अवस्था बुझ्ने र भूकम्पपीडितसँग भेट्ने कार्यक्रम रहेको डिनिस रेडक्रसको नेपालस्थित कार्यालयका कार्यक्रम व्यवस्थापक प्रकाश अर्यालले बताए ।
 उनका अनुसार राजकुमारसहित डेनिस रेडक्रसको महामन्त्री एन्ड्रस ल्यण्डकार्ल, एसिया क्षेत्रका निर्देशक, डेनिस दुतावास, परराष्ट्र मन्त्रालयका प्रतिनिधि लगायत १५ जनाको टोली रहेका छन् । उनीहरु सबैले भूकम्पपीडित स्थानीयलाई भेट्ने कार्यक्रम छ । टोली आएपछि जिल्ला र भूकम्पको अवस्थाबारे डेनिस रेडक्रसको आवास प्रतिनिधि जेन एरिकले उनीहरुलाई जानकारी गराएका थिए ।

बैशाख १२ को भूकम्प पछिको अवस्था अवलोकन गर्न पश्चिमा मुलुकबाट नेपाल आउने डेनिस राजकुमार नै पहिलो उच्च ओहदाका व्यक्ति भएको परराष्ट्र स्रोतले जनाएको छ । डेनिस रेडक्रसको निमन्त्रणामा उनको यो अनौपचारिक भ्रमण हो । उनको यो भ्रमण विशुद्ध नीजि रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले बताए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङका सभापति नारायणप्रसाद घिमिरेका अनुसार राजकुमार फ्रेडरिकको टोलीले लमजुङमा तीन रात बिताउने छ । राजकुमारको टिमलाई सदरमुकाम बेसीशहरस्थित होटल गेटवे हिमालय रिसोर्ट ‘रिजर्भ’ गरिएको छ । डेनिस राजकुमारको टिम शुक्रबार बिहानै पाचोक गाउँ जानेछ ।

पाचोकमा डेनिस रेडक्रसको सहयोगमा भूकम्प पीडितका लागि सञ्चालन गरिएको परियोजनाको अवलोकन गर्ने कार्यक्रम रहेको सभापति घिमिरेले बताए । भूकम्पपीडितसँग अन्तरक्रिया गरि एकरात पाचोकमै बस्ने र त्यसपछि ढोडेनी र फलेनी जाने कार्यक्रम रहेको छ । शनिबार राजकुमारको टोली बेसीशहर आएर बस्नेछ । आइतबार बिहानै काठमाडौं गएर डेनमार्क जाने कार्यक्रम रहेको छ ।

डेनिस रेडक्रसको सहयोगमा रेडक्रस जिल्ला शाखा लमजुङले जिल्लाको पूर्वी भेगका ६ गाविसहरु पाचोक, ढोडेनी, फलेनी, हिलेटक्सार, नौथर र बन्सारका भूकम्प पीडितलाई सहयोग गरेको छ । ती गाविसका १ हजार ८ सय ३० भूकम्पपीडितलाई जस्तापाता, घर निर्माणका सामाग्री, भाँडाकुँडा, खाद्यान्न, ओड्नेओछ्याउने कपडा लगायतको सामग्री वितरण गरिएको रेडक्रस लमजुङले जनाएको छ ।

प्रति परिवारलाई ४५ हजार बराबरको रकमको सहयोग गरि ४ करोड खर्च गरिएको सभापति घिमिरेले बताए । उक्त परियोजना सञ्चालनका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिमा राजनीतिक दलहरुबीच विवाद समेत भएको थियो ।

डेनिस राजकुमारको जिल्ला भ्रमणलाई ध्यानमा राखेर स्थानीय प्रशासनले शान्ति सुरक्षालाई मजबुत बनाएको छ । राजकुमारको सुरक्षा र स्कर्टिङका लागि सुरक्षा योजना बनाइएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।

भूकम्पले क्षतिविक्षत भएको अवस्थामा डेनिस राजकुमारको लमजुङ भ्रमणले विदेशी पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य भएको सन्देश जाने यहाँका पर्यटन व्यवसायीहरुले अपेक्षा गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
तस्विरः इ कान्तिपुर डटकम

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.