Powered by Blogger.
तीन माओवादीका तीन तयारी



काठमाडौँ, १ असोज ।
जनयुद्ध सुरु भएको पाँच वर्ष पुग्दा तत्कालीन माओवादीले नयाँ कार्यनीति तय गरेको थियो,‘सविधानसभाबाट संविधान ।’ गोलमेच सम्मेलन, गणतन्त्र माओवादीका थप कार्यनीति थिए ।

तत्कालीन माओवादीले ०५७ मा तय गरेको कार्यनीति १५ वर्षपछि ३ असोजमा गणतन्त्र र संविधानसभाबाट संविधान जारी गर्ने विषय संस्थागत हुँदै छ । तर, अहिले विभाजित बनेका तीन माओवादीले संविधानसभाबाट संविधान जारी गर्ने दिन तीन गतिविधि गर्दै छन् ।

०५७ मा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट संविधानसभाको कार्यनीति बनाएको तत्कालीन माओवादी अहिले तीन पार्टीमा विभाजित छ । प्रचण्ड, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वमा तीन माओवादी पार्टी छन् । मातृका यादव र मणि थापाका नेतृत्वमा पनि माओवादी पार्टी छन् ।
एकीकृत माओवादीले संविधान जारी भएको साँझ देशैभर दीपावली गर्ने निर्णय गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले भने प्रतिगामी’ भन्दै देशभर नयाँ संविधान च्यात्ने र जलाउने तयारी गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भने संविधानले संसद्वादी र माओवादीको सहकार्य अन्त्य गरेको घोषणा गर्दै ३ असोजमा नेपाल बन्द आह्वान गरेको छ ।

शासकीय स्वरूपलगायत महत्त्वपूर्ण विषयमा फरक मत राखेर संविधान निर्माणमा अग्रसरता देखाएको एमाओवादीले संविधान जारी भएको साँझ दीपावली गर्ने निर्णय गरेको छ । ‘यो हाम्रो रगत र पसिनाले लेखिएको संविधान हो । यो संविधान जारी हुँदा हामी देशभर खुसियाली मनाउँछौँ, दीपावली गर्छौँ, पार्टी प्रवक्ता दीनानाथ शर्माले भने, ‘संविधानमा हाम्रो थुपै्र फरक मत छन्, असहमतिका बाबजुद पनि यो जनयुद्ध र माओवादीको उपलब्धि हो ।’

एमाओवादीले संविधान जारी गर्दा खुसियाली मनाउने निर्णय गरे पनि ठोस कार्यक्रम भने बनाएको छैन । प्रवक्ता शर्माले बिहीबार ठोस कार्यक्रम बन्ने बताए । ‘अब मुलुक माओवादीको एजेन्डामा अघि बढिसक्यो,’ उनले भने, ‘हामी सोहीअनुसारको कार्यक्रम बनाएर खुसियाली मनाउँछौँ ।’

वैद्य नेतृत्वको नेकपा–माओवादीले भने ३ असोजमा विरोध प्रदर्शनसहित संविधानलाई प्रतीकात्मक रूपमा च्यात्ने र जलाउने निर्णय गरेको छ । उसले संविधान प्रतिगामी भएको भन्दै संविधानको औचित्य नरहेको जनाएको छ ।

सो पार्टीका पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले संविधान जनयुद्धको भावनाविपरीत र प्रतिगामी खालको भएकाले विरोध गर्न लागिएको बताए । ‘हामी संविधान जलाउँछौँ, च्यात्छौँ । देशैभर विरोध प्रदर्शन गर्छौँ,’ उनले भने, ‘हामीले यो संविधान प्रतिगामी बन्दै छ भन्दै आएका थियौँ, प्रतिगामी खालकै बन्यो । बलपूर्वक संविधान घोषणा गरिँदै छ ।’

कँडेलले संविधान दीर्घकालीन प्रभाव पार्ने विषय भएकाले हतार गर्न जरुरी नभएको बताए । ‘नेताहरू किन यसरी बहकिए ? नेताहरू ठेकेदार बन्न खोजे । यसले देशको राष्ट्रियतामा संकट ल्याउँदै छ, कँडेलले भने । उनले संविधानविरुद्ध दीर्घकालीन कार्यक्रम तय गरेर जाने पनि बताए । वैद्य नेतृत्वको माओवादीले अधिकारसम्पन्न राष्ट्रिय राजनीतिकसभा आयोजना गरेर राजनीतिक समस्याको समाधान गर्नुपर्ने बताउँदै आएको छ ।

विप्लव नेतृत्वको नेकपा माओवादीले नयाँ संविधानले शान्तिप्रक्रिया भंग गर्न लागेको बताउँदै ३ असोजमा नेपाल बन्द आह्वान गरेको छ । उसले २ असोजमा विरोध प्रदर्शनको कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।
नेकपा माओवादी पोलिटब्युरो सदस्य सन्तोष बुढामगरले संविधानले शान्तिसम्झौता, संसद्वादी र माओवादीबीचको सहकार्यलाई निस्तेज पारेकाले विरोध गर्नुपरेको बताए ।

‘यो संविधानले बृहत् शान्तिसम्झौतालगायत सबै सहमति एवं सम्झौता र ०६३ यता तय गरिएको शान्तिप्रक्रिया, माओवादी एवं संसद्वादी शक्तिबीचको सहकार्यलाई तोडेको छ,’ बुढामगरले भने, ‘यसविरुद्ध हामीले ३ गते नेपाल बन्द आह्वान गरेका छौँ, २ असोजमा प्रदर्शन गर्छौँ ।

बुढामगरले जनयुद्धको उद्देश्यअनुसारको संविधान नआएको बताए । स्रोतका अनुसार चन्द नेतृत्वको माओवादी संविधान जारी भएपछि समानान्तर सरकारको घोषणाको तयारीमा छ । उसले सोही दिनदेखि भूमिगत आन्दोलन थाल्ने तयारीसमेत गरेको स्रोतको भनाइ रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.