Powered by Blogger.
माथिल्लो तामाकोशीको सेयर बाँडफाँड, कुन समुहका स्थानीयले कति पाए ?


काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीयलाई बिक्री गरेको १ करोड ५ लाख ९० हजार कित्ता सेयर (आइपीओ) बाँडफाँड गरेको छ । आयोजनाले अति प्रभावित, प्रभावित र कम प्रभावित स्थानीयलाई क्रमशः ‘क’, ‘ख’ र ‘ग’ वर्गमा वर्गीकरण गरी सेयर बाँडफाँड गरिएको हो । 

अति प्रभावित ‘क’ वर्गमा रितपूर्वक आवेदन दिएका कुल ५ हजार ५० जनामध्ये ३० देखि १०० कित्ता माग गर्ने सबैलाई माग अनुसार सेयर दिइएको छ । ११० कित्तादेखि ३०० कित्ता माग गर्नेहरु सबैलाई भने १०२ कित्ता सेयर परेको छ । ‘क’ वर्गलाई कुल ५ लाख १० हजार ९५० कित्ता सेयर बाँडफाँट भएको छ । आयोजना प्रभावित ‘ख’ वर्गमा रितपूर्वक आवेदन दिएका ८१ हजार २३७ जनामध्ये ३० देखि ४० कित्ता माग गर्नेलाई माग अनुसार र ५० देखि ३०० कित्ता माग गर्ने सबैलाई ४८ कित्ताका दरले कुल ३७ लाख ७७ हजार ५८६ कित्ता सेयर बाँडफाँट भएको छ । 

यस्तै, ‘ग’ वर्गमा रितपूर्वक आवेदन दिएका दोलखा जिल्लाका अन्य बासिन्दामध्ये ३० कित्ता मात्र माग गर्नेलाई माग अनुसार, ४० कित्ता माग गर्नेलाई ३२ कित्ता र ५० देखि ३०० कित्ता माग गर्नेलाई ३४ कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ । ‘ग’ वर्गमा कुल ६२ लाख ९९ हजार ८६६ कित्ता सेयर बाँडफाँट भएको हो । यसरी बाँडफाँटपछि बाँकी रहेको १५ सय ९८ कित्ता सेयर फेरि ‘क’ वर्गमा ३०० कित्ताका लागि आवेदन दिने ४ हजार १८६ जनामध्ये गोलाप्रथामा पर्नेलाई थप १ कित्ता दिइएको छ । 


माथिल्लो तामाकोशीले साउन १६ गतेदेखि भदौ २१ गतेसम्म १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । उक्त आइपीओ खुलेको ८ दिनमै ओभरसब्स्क्राइब भएको थियो ।

यो आइपीओमा कुल २ लाख ७६ हजार २१५ जना स्थानीय लगानीकर्ताले ३ करोड ७७ लाख ११ हजार ९६० कित्ता सेयरका लागि आवेदन दिएका थिए । आयोजनाले सेयर नपरेर बाँकी रहेको रकम आगामी साताबाट आवेदकको बैंक खातामा पठाउने जनाएको छ । आयोजनाले बिहीबारदेखि सार्वसाधारणका लागि सेयर बिक्री खुला गर्ने जनाएको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.