Powered by Blogger.
‘माथिल्लो तामाकोसी निर्माणमा अवरोध गर्ने प्रधानमन्त्रीकाे योजना सफल हुन दिँदैनौँ’

काठमाडौं, १४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माणमा अवरोध सृजना गर्न खोजेको आरोप दोलखाका सांसदहरुले लगाएका छन् ।

प्रधानमन्त्री दाहालले आयोजनाको निरीक्षणका क्रममा पूर्वलडाकु, द्वन्द्वपीडित, सहिद तथा बेपत्ता परिवार र विपन्न परिवारलाई ११ अर्ब ८० करोड रुपैयाँको निःशुल्क सेयर दिने बहानामा आयोजनामा अवरोध गर्न खोजेको सांसदहरुले दाबी गरेका छन् ।

जिल्लाका सांसदहरु पशुपति चौलागाईँ, आनन्द पोखरेल र पार्वत गुरुङले संयुक्त विज्ञप्ति निकालेर प्रमले आयोजना निर्माण रोक्न द्वन्द्वपीडित परिवारलाई उचालेको जिकिर गरेका हुन् ।

आयेजनामा विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकम र बिमा कम्पनीको २÷२  प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत, कर्मचारी संचयकोषको १७.२ प्रतिशत, लगानी गर्ने कार्यालयका कर्मचारीहरूको २ प्रतिशत, दोलखाली जनताको १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत सेयर दिने उल्लेख भइसकेको छ ।
उल्लिखित सेयर दिन सम्भव नभएको अवस्थामा प्रधानमन्त्रीले सेयर दिने भनेर आयोजनामा भाँजो हाल्न खोजेको आरोप ती सांसदहरुले लगाएका हुन् ।

पूर्व लडाकु तथा द्वन्द्वपीडितहरुलाई उचालेर ८० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रचण्डले बिथोल्न खोजको सांसद पुशपति चौलागाईँले बताए ।

‘प्रतिमेगावाट १० करोड रुपैयाँ भन्दा कम लागतको नेपालकै सस्तो आयोजनामा अवरोध गर्ने काममा प्रधानमन्त्री लाग्नुभएको छु, उनले भने, ुकार्यकर्ताहरूलाई पैसा बाँडने हो भने अन्य कुनै आयोजना बनाए हुन्छ ।  नेपाली लगानीमा सम्पन्न हुन लागेको राष्ट्रिय गौरवको २० प्रतिशत काम बाँकी रहेको नमुना आयोजना नबिथोल्नुस् ।ु

आफूप्रति नकारात्मक बन्दै गएका लडाकुहरुलाई आयोजनाको सेयर दिने भनेर फकाउने योजनामा प्रधामन्त्री लागेको उनको भनाई छ ।

‘सेयर दिन नमिल्ने जान्दा जान्दै पनि दिन्छु भनेर पछि एमालेको अवरोधका कारण दिन नसकेको बहानामा पन्छिनका लागि यस्तो चाल चालिएको हो’ चौलागाईँ भने, ‘यो कुनै हालतमा पुरा हुन दिँदैनौं । सम्पन्न हुन लागेको आयोजना अवरोध गर्नेतर्फ नलाग्नु नै बेस हुन्छ ।’   

प्रधानमन्त्री दाहालले ऐन कानुन, सेयर वितरण प्रक्रिया, त्यसको मापदण्ड, सरकारी ऋण लगानीको प्रक्रिया र अन्य वित्तीय लगानीकर्तासँग भएको करार समहति सम्झौतालाई समेत ख्याल नगरी बोलेको प्रति सांसदहरुले आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

माथिल्लो तामाकोशी आयोजना अन्य आयोजनाका लागि पनि नमुना भएकाले कुनै बाहनामा अवरोध नगरी आयोजना अघि बढाउन समेत उनीहरुले माग गरेका छन् ।

सांसद पार्वत गुरुङले जीवन मरणको दोसाँधमा रहेको आयोजनालाई यहाँसम्म ल्याइ पुर्याएको बताउँदै प्रधानमन्त्रीले स्वदेशी लगानीमा सम्पन्न गर्न नदिने षडयन्त्रका साथ यस्तो चाल चलेको आरोप लगाए ।

प्रधानमन्त्रीले कसैको लहैलहैमा आयोजनामा अवरोध सृजना गर्न खोजेमा दोलखाबासी जनताले त्यसको प्रतिवाद गर्ने चेतावन दिए । यदि तामाकोसीमा हात हालेमा सरकार नै सङ्कटमा पर्ने दाबी पनि उनले गरे ।

दोलखाली जनतालाई दिने भनिएको १० प्रतिशत सेयरको अनुपात हेर्दा प्रतिव्यक्ति ३५ कित्ता मात्र हुने देखिन्छ । तामाकोसीमा स्थानीयले प्रतिपरिवार एक लाख रुपैयाँ लगानी गर्न पाउनुपर्ने माग गरिरहेका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.