Powered by Blogger.
२०७५ असारसम्ममा सम्पन्न हुने भयो माथिल्लो तामाकोसी आयोजना

दोलखा, ५ कात्तिक । भूकम्प र नाकाबन्दीले निर्माण रोकिँदा अनिश्चित बनेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना २०७५ असारसम्ममा पूरा हुने भएको छ ।

डेढ वर्षअघिको भूकम्पले झण्डै एक वर्ष रोकिएको आयोजनाको काम पूर्व निर्धारित तालिकाभन्दा दुई वर्ष ढिला गरी पूरा हुन लागेको हो ।

भूकम्प र नाकाबन्दीले ढिलाइ भएपछि आयोजना आउँदो ०७५ को असारसम्म काम सकिने गरी नयाँ योजना तयार गरिएको हो । भूकम्पले पहुँचमार्गमा सडकमा ठूलो क्षति पु¥याएपछि बाँधस्थलको काम प्रभावित भएको थियो ।

दोलखा बजारबाट लामाबगरसम्मको ६८ किलोमिटर पहुँचमार्ग मध्ये भोर्ले र काब्रे भीरमा सबैभन्दा बढी सडक क्षति भएको थियो । सबै सडक सुधार भए पनि काब्रे भीरमा ३ महिनादेखि ३ सय ६० मिटर सुरुङमार्ग निर्माणको काम जारी छ ।

आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार बिहीबार बिहानसम्म २२५ मिटर सुरुङमार्गको काम पूरा भएको छ । “यही गतिमा काम गर्दा अबको एक महिनामा सुरुङ मार्गको काम पूरा हुन्छ,” उनले भने । सुरुङ मार्गको काम पूरा भएपछि लामाबगरसम्मको आवतजावत सुचारु हुनेछ ।

पहुँचमार्ग सुचारु भएपछि हेडरेस सुरुङको काम भैंसे खण्डबाट र हेड बक्सको कामसमेत सुचारु हुनेछ । हेड बक्समा बाँध, इन्टेक, पानी थिग्राउने पोखरीलगायतको संरचना पर्छ । हेड रेस सुरुङको ३ किलोमिटरमा डेढ वर्षयता पानी जमेको छ । जमेको पानी फाल्न पनि ३ महिना बढी लाग्ने आयोजनाको अनुमान छ ।

आयोजनाको गाँगरडाँडाबाट पनि हेडरेस सुरुङ निर्माणको तयारी भएको छ । ठाडो सुरुङको शीरबिन्दुसम्म पुग्ने ३ किलोमिटर पहुँचमार्ग पनि क्षतविक्षत भएकाले वैकल्पिक मार्ग बनाएर त्यहाँसम्म गाडी पुग्ने व्यवस्था भएको छ ।

आयोजनाको सिभिल निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेसनले सुरुङ निर्माणका लागि रक बोल्डको काम सुरु गरेको उनले बताए । “अब एकरदुई दिनमै ठाडो सुरुङतिर र हेडरेसतिरको सुरुङ एक साथ सुरु हुन्छ,” डा. न्यौपानेले भने, “त्यहाँबाट ठाडो सुरुङसम्म १० मिटर सुरुङ खन्नुपर्छ ।”

दुईवटा ठाडो सुरुङमध्ये ३ सय ६० मिटरको तल्लो २ वर्ष अघि नै पूरा भएको छ । माथिल्लो ३ सय १० मिटरमध्ये १ तलबाट १ सय ४० मिटर पूरा भएको छ ।

बाँकी माथिबाट खन्नुपर्ने अवस्था भएको उनले बताए । आयोजनाको विद्युत गृहको काम र प्रसारण लाइनको काम भूकम्प र नाकाबन्दीले ८ महिना रोकिए पनि त्यसपछि निरन्तर जारी छ ।

आयोजना सम्पन्न भएपछि वर्षातमा हुँदै आएको लोडसेडिङ हट्नेछ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाको सिभिल निर्माणको काम ०६७ भदौदेखि सुरु भएको हो ।
प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आगामी २०७३ साउनदेखि पहिलो इकाईबाट बिजुली उत्पादन गर्ने नयाँ मिति तय गरेको थियो । 

निर्माण अवधिको ब्याजबाहेक आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैयाँ (४४ करोड १० लाख अमेरिकी डलर) छ । यो लागत १ डलर बराबर ८० रुपैयाँलाई आधार मानेर तय गरिएको हो ।

हाल डलरको भाउ बढेर १०७ रुपैयाँसम्म पुगेको र १ वर्षजति समय काम ठप्प भएकाले र बजार मूल्यको कारण थप ८ अर्बभन्दा बढी लागत बढ्ने सम्भावना छ ।

माथिल्लो तामाकोसीको अर्को आयोजना रोल्वालिङको पानी तामाकोसीमा मिसाएर सुख्खायामममा बिजुली उत्पादन गर्न रोल्वालिङ डाइभर्सन आयोजनाको विस्तृत इन्जिनिरिङको काम भइरहेको छ ।

यसका लागि जर्मनको ल्याह्यमेयर इन्टरनेसनलले विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर०  गरिरहेको छ । तामाकोसीको परामर्शदातमा ल्याह्यमेयर नै हो । उसैले तामाकोसीको विस्तृत इन्जिनियरिङ तयार गरेको हो । आयोजनामा करिब साढे २ अर्ब रुपैयाँ लाग्ने (२ करोड ६० लाख डलर) लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

६ किलोमिटर लामो सुरुङ खनेर रोल्वालिङको पानी तामाकोसीमा मिसाई सुख्खायाममा थप १७ करोड ६० लाख युनिट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । योसमेत गरी माथिल्लो तामाकोसीबाट वार्षिक २ अर्ब ४५ करोड ६० लाख युनिट बिजुली उत्पादन हुनेछ ।
स्रोत: कारोबार दैनिक

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.